६ वैशाख २०८१ बिहीबार
अन्य

सवारीलाई विलासी साधन मान्नु भएन

व्यवस्थापनमा स्नातक गरेका शम्भुप्रसाद दाहाल नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष हुन् । दाहालले टाटा मोटर्र्सको आधिकारिक बिक्रेता  सिप्रदी ट्रेडिङ प्रालिमा दुई दशक काम गरेका छन् । अकाउन्ट मेनेजरबाट सिप्रदीमा प्रवेश गरेका दाहाल उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेर सन् २०१६ मा बाहिरिएका थिए । अहिले सिप्रदीमा निर्देशकसमेत रहेका दाहालसँग अटोमोबाइल्स क्षेत्रको लामो अनुभव छ । नेपालमा अटोमोबाइल्सको बजार, सवारी साधनमा सर्वसाधारणको पहुँच, सार्वजनिक सवारी साधनको अवस्था, विदेशमा भन्दा नेपालमा सवारी साधन किन महँगो छ त ? लगायतका विषयमा परिवारका लागि दाहालसँग गरिएको कुराकानी :

नेपालमा अटो बजार कस्तो छ ?
अटो बजार अलिकति खुम्चिएको छ । किन ?
किन खुम्चिएको छ भन्न हामीलाई पनि कठिन छ । बजारमा ग्राहक खोज्दा हैरान छौं । पहिला बैंकमा तरलताको समस्या भन्थ्यौं । अहिले त्यो समस्या पनि हटेको छ । तर, सवारी साधनको बिक्रीमा बजारमा मन्दी देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष कम कारोबार देखिएको छ । विभिन्न प्रकारका हल्लाले पनि असर परेको हुनसक्छ । केही समय तरलता अभाव भो । त्यसपछि मौद्रिक नीतिले कडाइ गर्दैछ भन्ने हल्ला आयो ।

बजारमा अटो क्षेत्रको नेगेटिभिटी बारेमा हल्ला धेरै फैलियो । त्यसको असर अटो बजारमा पर्‍यो । यो पुुँजीवादी अर्थतन्त्रमा यस्तो हुन्छ । सिद्धान्तले मात्र भन्दा पनि मान्छेको धारणाले अर्थतन्त्र चलायमान हुन्छ । धारणा राम्रो बन्यो भने सबै क्षेत्रमा राम्रो बन्दै जान्छ मान्छेले पनि लगानी गर्दै जान्छ । अर्थतन्त्र बढाउन दिमागको सोचको दायरा बढाउनु पर्छ । त्यो नबढीकिन काम नै हुँदैन । त्यसकै असर अटो बजारमा पनि परेको हो ।

विगतका वर्षमा वृद्धि भैरहेको अटो बजार गत वर्ष किन खुम्चियो । यसले के असर गर्छ ?
अर्थतन्त्रको आफ्नै साइकल हुन्छ । कुनै समय सहज हुन्छ र कुनै समय अप्ठ्यारो । सवारी साधन हरेक व्यक्तिका लागि अति आवश्यक छ । यद्यपि सामान्य घटबढले अर्थतन्त्रमा दीर्घकालीन असर गर्दैन । मान्छेको आम्दानी र क्रयशक्ति वृद्धि हुँदा सवारीको खपत पनि बढ्ने हो । सँगसँगै, अटो क्षेत्रको बारेमा नेगेटिभिटी फैलिँदा घट्छ र सकारात्मक कुराले प्रश्रय पाउँदा बढ्छ । यस्तो चक्र चलिरहन्छ । विगतका वर्षमा वार्षिक १५ प्रतिशतले सवारी साधनको कारोबार बढ्दै आएको थियो । अहिले करिब २० प्रतिशतले घटेको छ । यद्यपि दुई पांग्रेदेखि चार पांग्रे सवारी सबैको बजारलाई हेर्दा वार्षिक करिब ८० अर्ब रुपैयाँको कारोबार हुन्छ ।

छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सवारी साधन निकै महँगो छ । किन ? व्यवसायीको कार्टेलिङ पनि छ भन्ने आरोप पनि छ नि ?
अरु आरोप सबै निराधार हुन् । कस्टम ड्युटीको कारणले नै सवारी साधनको मूल्य महँगो भएको हो । अहिले निकै प्रतिस्पर्धी बजार छ । विगतमा थोरै गाडी थिए । जति मार्जिन राखे पनि उपभोक्ताले थाहा पाउँदैन थे । छनोटको अवसर पनि निकै कम थियो । अहिले बजारमा दर्जनौं कम्पनीका गाडी छन् । अब धेरै मूल्य राख्यो भने अर्को कम्पनीले आफ्नो गाडी बेच्छ । एउटाले थोरै छुट दियो भने अर्कोले ज्यादा दिन्छ । सामान्य होइन गाडीको बजारमा उच्च प्रतिस्पर्धा छ । धेरै मार्जिन राख्यो भने गाडी बिक्दैन ।

कुनै पनि कम्पनीले आफ्नो बजार विस्तार नहोस् भन्ने चाहँदैन । हामी म्यानुफ्याक्चर होइन । डिलर हो । गाडी उत्पादकले बजारको विश्लेषण गरेर नै मूल्य तय गर्छन् । कम्पनीका प्रतिनिधिले बजारका हरेक चिज हेरिरहेको हुन्छ । टाटा, महिन्द्रा, मारुतीलगायतका प्रायः सबै कम्पनीका मान्छे यहाँ छन् । उनीहरुले के कारणले बजार विस्तार हुन्छ भनेर विश्लेषण गर्ने भएकाले खुला बजारमा धेरै मूल्य लिने सम्भावना नै छैन । सवारी साधन महँगो हुनु भन्सार करको कारण हो अरू कुनै प्रकारको कार्टेलिङ छैन । धेरै भन्सार शुल्क लिएकाले महँगो परेको हो ।

सरकारले सवारी आयातमा किन धेरै भन्सार शुल्क लिएको होला  । सवारी त अनिवार्य आवश्यकताको साधन होइन र ?
निस्चय पनि सवारीलाई विलासीको रुपमा मात्र हेर्नु हुँदैन । यसले काम गर्ने क्षमता पनि बढाउँछ । हरेक व्यक्तिलाई समयको महत्व हुन्छ । सवारीले सुरक्षित यात्रासहित समय व्यवस्थापनमा पनि सघाउ पुर्‍याउँछ । हुन त फेरि सरकारलाई पनि आफ्नो बाध्यता छ । सरकारले राजस्व संकलन गर्ने ठूलो क्षेत्र अटो बजार हो । सन्तुलन मिलाउनका लागि भन्सार शुल्क बढाएको होला । यो घटाउँदा धेरै आयात होला र ह्वात्तै विदेशी मुद्रा जाँदा अर्थतन्त्रको सन्तुलन गुम्ला भन्ने चिन्ता पनि सरकारलाई होला । तर, हाम्रो आग्रह सबै जनताले गाडी चढ्ने वातावरण बनाउनु पर्छ । जनताले सुविधा लिऊन् भन्ने सरकारले सोच राख्नुपर्छ । सन्तुलन मिलाएर जानुपर्छ भन्ने हाम्रो चाहना हो । सिसीअनुसार कर लगाएको छ । पुरै नराम्र्रो भन्न त मिल्दैन । तर, सबै नेपालीले गाडी चढ्न सकून् । यति कमाए गाडी चढ्न सक्छौ भनेर लक्ष्य निर्धारण गर्दिए राम्रो ।

निजी चार पांग्रे सवारीमा सर्वसाधारणको पहुँच कहिले पुग्ला ?
सरकार समृद्धिको कुरा गरिरहेको छ । हामी पनि हरेक नेपालीसँग एउटा गाडीहोस् भन्ने चाहन्छौँ । त्यो सम्भव हुने दिन पनि आउँछ । आगामी १०/१५ वर्षमा धेरैको पहुँचमा पुग्छ । विगतमा चार पांग्रे निजी सवारीमा चढ्न सक्छौं जस्तो लागेको थिएन । अहिले प्रयोग गरिरहेका छौं । हामी गाउँबाट आएका मान्छे हौं । अहिले हेर्ने हो भने निजी सवारी चढ्नेमध्ये ८० प्रतिशत मान्छे दुर्गम गाउँबाटै आएका छन् । किनकि उनीहरुको आर्थिक हैसियत फेरिएपछि गाडी प्रयोग गरेका छन् । यो समृद्धि हो । पहुँच हो । गाडी चढ्न सक्छु भन्ने आत्मविश्वास गरेर आम्दानी बढायो भने सम्भव छ ।

नेपाली कस्टुमर कस्ता गाडीमा आकर्षित छन् ?
पुँजी हेरेर निर्णय लिने नेपालीको बानी छ । आफूसँग नभए बैंकले पनि लगानी गर्छ । आफ्नो पकेट हेरेर गाडी खरिद गर्छन् । यही गाडी भन्ने लिमिट छैन । कम आम्दानी हुनेले कम मूल्यको र धेरै आम्दानी हुनेले महँगो गाडी किन्ने गरेको देखिन्छ ।

राष्ट्र बैंकको मौद्रिक नीतिले अटो बजारमा कस्तो प्रभाव पारेको छ ?
भ्यालु रेसियोमा राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकले सीमा तोकेको छ । छिमेकी मुलुक भारतमा हेर्ने हो भने सवारी मूल्यको ८०/९० प्रतिशतसम्म फाइनान्स सुविधा हुन्छ । हामी कहाँ ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । यता महँगो भन्सार शुल्क र सीमा तोक्दा यसले असर पुगेको छ । सीमा किन लगाएको हो ? त्यसलाई हटाए यहाँका जनताले सवारी साधन प्रयोग गर्न पाउँथे । थोरै डाउन पेमेन्ट गरेर पनि फाइनान्स गरेर सवारी किन्ने वातावरण बनाउनु पर्छ भन्ने हाम्रो आग्रह छ । यसले बजार ह्वात्तै बढाउँछ ।

कहिलेसम्म विदेशबाट सवारी आयात गरिरहने ? नेपालमा सवारी साधनको एसेम्लिङ र म्यानुफ्याक्चरिङ उद्योगको सम्भावना के छ ?
मोटरसाइकलको एसेम्लिङ उद्योग हामी कहाँ पनि सुरु भएका छन् । यसमा निजी क्षेत्रभन्दा पनि सरकारको भूमिका महत्वपूर्ण हुन्छ । सरकारसँग आँट हुनुपर्छ । हामीले चीन र भारतको मार्केट हेर्नुपर्छ । त्योभन्दा ज्यादा सहजीकरण गर्नुपर्छ । सरकारमा ठूलो आँट देख्दैनौं । त्यहाँ बिजुली, पानी, जग्गालगायतका धेरै सुविधा निःशुल्क छन् । त्योभन्दा धेरै सुविधा दिन सक्नुपर्छ । विदेशमा देश नै पैसा कमाउन लागेको छ ।

एकअर्कालाई सहजीकरण गरेको छ । यहाँ त्यस्तो वातावरण छैन । स्वदेशको बजारलाई हेरेर मात्र सम्भव छैन । निर्यातको लक्ष्य लिएर मात्र उत्पादन गर्नुपर्छ । निर्यात गर्ने भनेको चीनको तिब्बत र भारतको उत्तर क्षेत्र हो । किनकि त्यहाँ उनीहरुको ढुवानी खर्च महँगो हुन्छ । हाम्रो बजार सानो छ म्यानुफ्याक्चरिङ उद्योग सुरु गर्न निर्यातको लक्ष्य लिनुपर्छ ।

हरेक वर्ष नाडा अटो सो गर्दै आउनुभएको छ । यसबाट उपभोक्ताले के फाइदा पाउँछन् ?
यो वर्ष पनि भदौ १० देखि १५ गतेसम्म नाडा अटो सो आयोजना गरेका छौं । यो उपभोक्ता र बिक्रेता दुवैका लागि अवसर हो । थापाथलीमा अटोमोबाइल्सको करिडोर बनेको छ । त्यहाँ पाँच/सातवटा कम्पनीका गाडी छन् । तर, अटो सोमा आउनुभयो भने २२ वटा ब्रान्डका कार एकै ठाउँमा हेर्न पाउनु हुन्छ । १९ वटा ब्रान्डका मोटरसाइकल रहन्छन् । एकै ठाउँबाट सबै हेर्न पाइयो । आफ्नो बजेट अनुसार तुलना गर्न पनि सजिलो हुन्छ । सँगसँगै इन्स्योरेन्स, बैंक पनि त्यहीँ हुन्छन् । एउटाले छुट दिएन भने अर्कोले दिन्छ । तुलना गरेर खरिद गर्न सहयोग पुग्छ ।

नयाँ स्किम केही ल्याउँदै छन् कि ?
गाडी किन्ने योजना छ भने तयारी गरेर बस्दा हुन्छ । सबै कम्पनीले छुटसहितका विभिन्न स्किम ल्याउँदै छन् । दशैं अगाडि भएकाले धेरै आकर्षक अफर छन् ।

अटो क्षेत्रमा प्रतिस्पर्धा कस्तो छ ?
अटो बजारमा निकै प्रतिस्पर्धा छ । सवारीका प्रयोगकर्तालाई पर्याप्त छनोटको अवसर छ । गाडीका फिचरको कारण मात्र होइन कष्टुमरले सोरुममा आउँदा गाडी बिक्रेताको व्यवहार मन परेर भने अर्को गाडीको सोरुममा जान्छ । किनकि ऊसँग छनोटका पर्याप्त अवसर छन् ।

नेपाली बजारमा के कति भेराइटीका गाडीहरु बिक्री हुन्छन् ?
नाडा अटो सोमा मात्र २२ वटा ब्रान्डका गाडी सोकेस गर्दैछौं । यसले तपाईं आफैं अनुमान लगाउन सक्नुहुन्छ । मध्यमदेखि उच्च आम्दानी भएकाले आफ्नो क्रय क्षमताका आधारमा रोजी—रोजी दर्जनौं प्रकारका गाडी आफ्नो आवश्यकता र फिचरअनुसार खरिद गरेर प्रयोग गर्न सक्छन् ।

नयाँ सवारी साधन खरिदकर्तालाई के सुझाव छ ?
यहाँ पहिलोपटक गाडी खरिद गर्दै हुनुहुन्छ कि दोस्रो, तेस्रोपटक खरिद गर्दै हुनुहुन्छ त्यसमा भर पर्छ । मोटरसाइकलबाट भर्खर गाडीमा जान लाग्नु भएको छ भने आफ्नो क्षमता अनुसार खरिद गर्नुपर्छ । मोटरसाइकलबाट इन्ट्री लेबलको गाडी चढ्ने हो भने दर्जन भन्दा बढी कम्पनीका गाडी छन् । गाडी लिनु पहिला फिचर्सहरुको अध्ययन गरेर खरिद गर्नुपर्छ । प्रोडक्ट हेरेर मूल्य तुलना गरेर, विगतमा प्रयोगकर्ताको धारणा बुझेर, गाडी खरिदपछिको सेवा, बैंक सुविधा यावत विषयलाई हेरेर सोचेर खरिद गर्दा राम्रो हुन्छ ।

नेपालको सार्वजनिक यातायात क्षेत्र अव्यवस्थित छ । मुख्य समस्या के हो ?
व्यवस्थित छैन नै त भन्न नमिल्ला । यसमा मेरो फरक धारणा छ । एउटा क्षेत्र यो मात्र हो जहाँ नेपालीले मात्र व्यवसाय गरेको छ । सहरदेखि गाउँ—गाउँमा साना गाडीदेखि बस, ट्रक, टिपरलगायतका सवारी साधन पुगेका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । सार्वजनिक सवारीले निजी लगानीमा सेवा दिइरहेका छन् । विशुद्ध रुपमा सरकारको लगानीविना व्यवसायीले खर्बौं रुपैयाँ लगानी गरेर सेवा दिएका छन् । ९० प्रतिशत काम व्यवसायीले गरेका छन् । सरकारको भूमिका १० प्रतिशत मात्र छ ।

सार्वजनिक यातायात राम्रो भन्नुभयो । सार्वजनिक यातायात चढेर हिँड्नुभएको छ ?
म खाली खुट्टा हुँदै यो ठाउँमा आएको हुँ । जिन्दगीमा खुब मिहिनेत गरेको छु । र, अहिले पनि हप्तामा एक दिन सार्वजनिक यातायात चढ्छु । जन्मजात कारमा चढेर आएको होइन । क्रमशः सुधार हुँदै गएको छ यसमा सबै लाग्नुपर्छ ।

अटो बजारलाई अझ व्यवस्थित गर्न र सबैको पहुँच पुर्‍याउन सरकारले नीतिगत रुपमा के सुधार गर्नुपर्छ ?
सरकारले आफ्ना नागरिक गाडी चढ्ने हैसियतमा पुगून् भनेर एकअर्कामा राम्रो गर्नुपर्‍यो । सरकारले व्यसायीको आँखाबाट हेर्नुपर्‍यो र व्यवसायीले पनि सरकारका बाध्यता बुझिदिनुपर्‍यो । सबैको हित सोच्न सक्नुपर्छ । ‘बहुजन हिताय’को सिद्धान्तलाई आत्मसाथ गरेर नीति बनायो भने सबैलाई सहज हुन्छ । उपभोक्ता, व्यवसायीको हितलाई ध्यान दिनुपर्छ ।

नाडाले के काम गरिरहेको छ । नयाँ योजना केही छ कि ?
यो व्यवसाय होइन । अटो क्षेत्रका समस्याका बारेमा हामीले सहजीकरण गर्ने हो । सरकार र व्यवसायीबीच सेतुको काम गरेका छौं । बजारको आवश्यकताअनुसार छलफल गरेर उपभोक्ता, व्यवसायी र सरकार कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी बजारलाई व्यवस्थित बनाउन समन्वयको रुपमा काम गर्दै आएका छौं ।

 

 

 

प्रकाशित: १९ भाद्र २०७६ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App