७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्। 

प्रवक्ता शर्माका अनुसार अभियानमा हरेक क्षेत्रमा एक नेताका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिने छन्। १५ दिन सञ्चालन हुने अभियान असोज ७ गते सकिनेछ। यसअघि कांग्रेस ७७ जिल्लामा एक महिने जागरण अभियान सञ्चालन गरेको थियो। 

दोस्रो चरणको कार्यक्रम पनि स्वरुप छरितो हुने बताइएको छ। आसन ग्रहणको निश्चित संख्या (१ मिनेटभित्र आसन ग्रहण सकिने गरी), ठूला (केजीमा तौलिने) माला एवं व्याज रहित, वक्ता सिमित संख्या, बढी अन्तरक्रियात्मक (अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन्। सभा केवल एउटा तय गरिएको छ अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय हुनेछन्।

कार्यक्रमको शुभारम्भ १०६ बिरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर देशव्यापी रूपमा गरिनेछ। एकै दिन ३४ हजार ९८० विरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइनेछ। 

बोल्ने कम सुन्ने बढी

त्यस्तै दोस्रो चरणको अभियानमा केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको छ। असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन हुनेछन्। त्यस बाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ। यद्यपि स्थानीय आवश्यकता अनुरूप कतिपय कार्यक्रम तय गर्न तलका समितिहरूले सक्नेछन्। 

विशेष सामाजिक संवाद हुने 

दुई तिहाईको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष समेत पुग्नु अघि नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएकाले यस्तो परिस्थितिमा जागरण अभियानको क्रममा कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुने प्रवक्ता शर्माले बताए।स्थानीय तहमा गाउँ–नगर वडा स्तरीय सामाजिक संवाद कार्यक्रमहरू आयोजना हुनेछन्। 

सामाजिक विसंगति विरूद्ध जागरण 

‘हिपतम’ अभियानको दोस्रो चरण क्रममा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र कुनै पनि ढंगका सामाजिक विसंगतिका परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएका छन्, छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययन समेत गर्नु हुनेछ। अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिवेटी बेचबिखन, छाउपडि लगायत अन्य विसंगतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहनेछ। 

युवा केन्द्रीत विशेष संवाद 

‘हिपतम’ जागरण अभियान क्रममा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा युवा केन्द्रीत विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन्। नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघ लगायत भातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाहरूको देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचारहरू कार्यक्रममा संकलन गरिनेछ। ३३० प्रदेश सभा क्षेत्रमा औसत ३०० युवाका बीचमा वीपीको विचार र संस्कारलाई कार्यक्रम क्रममा सम्प्रेषण गर्दा समग्रमा १ लाख युवासँग संवाद र सम्प्रेषण पन्ध्र दिनको अवधिमा हुनेछ। युवा केन्द्रीत विशेष संवाद जागरण अभियान क्रममा आवश्यकता अनुसार प्रदेश सभा क्षेत्र, गाउँ–नगर या वडा स्तरीय समेत हुनेछन्। 

वडा स्तरीय अन्तरक्रिया

अभियानको दोस्रो चरणको कार्यक्रमहरू मध्ये वडा स्तरीय अन्तरक्रिया पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका साथीहरूको भावना बुझ्न महत्वपूर्ण रहनेछ। पार्टीको यो आन्तरिक कार्यक्रम विषय प्रवेश लगत्तै ‘फ्लोर ओपन’ गरी सहभागिहरूको राय संकलन गरिनेछ। वडा संगठनको स्थिति समीक्षा, वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समिक्षा तथा समग्रमा कांग्रेस सुदृढीकरणका लागि आवश्यक कार्य बारे वडा स्तरीय विशेष छलफल हुनेछन्। 

अग्रज, शहीद परिवार र द्वन्द पिडितको आंगनमा 

अभियानको दोस्रो चरणका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरू शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उनीहरूको घर आंगनमा पुग्नेछन्। द्वन्द्वकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पीडा र आजको स्थिति बुझ्नपनि उनीहरू पुग्नेछन्।

स्थानीय तहको दुई वर्षे समीक्षा

स्थानीय तहको पछिल्लो चरणको निर्वाचन सम्पन्न भएको असोजको प्रथम साता दुई वर्ष पुग्दैछ। ‘हिपतम’ जागरण अभियानको दोस्रो चरण क्रममा स्थानीय सरकारहरूको दुई वर्षे समिक्षा पनि गरिनेछ। यसक्रममा कांग्रेसका तर्फबाट उम्मेदवार भई विजयी भएका भएका जनप्रतिनिधि एवं उम्मेदवारहरू तथा पार्टीको स्थानीय समितिबीच विशेष आन्तरिक बैठक आयोजना गरिनेछ। 

जागरण अभियान अन्तर्गत कांग्रेसले असोज ३ संविधान दिवस पनि प्रदेशमै मनाउने भएको छ। संविधान दिवसमा अन्तरक्रिया तथा विचार गोष्ठी, तराई–मधेशमा रहेको असन्तुष्टि र जनजाति, महिला, दलित, थारू आदिका म्ुद्दाहरुको हल संविधानको संशोधनद्वारा नै सम्भव रहेको पार्टीको धारणाका साथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सम्वर्द्धनका पक्षमा सबैमा अपिल गरिने, गाउँ–नगर वडा समितिको समन्वयमा साँझ सबै गाउँ–नगरका निश्चित चौक बजारमा दिप प्रज्ज्वलन गर्ने गरिनेछ। 

अन्तिम दिन बढ्दो महंगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत),  महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयकहरु, कम्युनिस्ट सरकारको सम्पूर्ण कुशासनविरुद्ध जिल्ला स्तरीय प्रदर्शन गरिनेछ। प्रदर्शनमा स्थानीय स्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

प्रकाशित: १९ भाद्र २०७६ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App