७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वसभासद कार्की पक्राउः जेल चलान

काठमाडौंँ- अदालतले घुसकाण्डमा दोषी ठहर्‍याएको पूर्वसभासद डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन्।     

अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो।     

अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ। घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले एक लाख रुपैयाँ जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो।     

विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले दुई लाख पाँच हजार रुपैयाँ र कार्कीले एक लाख रुपैयाँ लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार/चार महीना कैद र बिगोबमोजिम एक÷एक लाख रुपैैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।     

प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसदको सभासद भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महीना कैद सजायसमेत थप गरी छ महीना कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो।रासस

प्रकाशित: १९ भाद्र २०७६ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App