७ वैशाख २०८१ शुक्रबार
समाज

चार वर्षदेखि प्रयोगविहिन सार्वजनिक शौचालय

निर्माण सम्पन्न भएदेखि प्रयोगविहिन डेकेन्द्र चौकको सार्वजनिक शौचालय। तस्विर:गोविन्द केसी/नागरिक

दैलेख – दैलेख सदरमुकाममा ४ वर्षअघि निर्माण भएको सार्वजनिक शौचालय अँझै प्रयोगमा आएको छैन्। नारायण नगरपालिका दैलेखले सर्वसाधारणको लागि अत्यावश्यक करिव ५० लाखभन्दा बढी खर्चमा निर्माण गरिएको ४ वटा सार्वजनिक शौचालय प्रयोगमा नआएको हो।
    
सर्वसाधारणहरुको पहुँचभन्दा टाढा बनाइएकोले प्रयोगमा नआएको हो। अहिले शौचालयहरु  खण्डहरमा परिणत भएका छन्। ३ वटा पायक नपर्ने स्थानमा बनाएको र १ वटा विद्यालयभित्र बनाएका कारण सदरमुकाम आउने नागरिकहरुले प्रयोग गर्न पाएका छैनन्। आफ्ना मान्छेलाई काम दिन र कमिशनकै आडमा जथाभावी शौचालय बनाएको स्थानीय रामबहादुर बुढाले बताए। कहाँ बनाउने भनेर सोधखोज नगरिकनै मनमानी रुपमा बनाएका कारण अहिले समस्या भएको बुढाको भनाई छ।  दैलेख सदरमुकाममा नगरपालिकाले नगरलाई सफा र सार्वजनिक शौचालय बनाउनका लागि मोटो रकम खर्चिए पनि पायक नपर्ने स्थानमा निर्माण भएकाले प्रयोगमा आउन नसकेको हो।

सदरमुकामको डेकेन्द्र चोकदेखि पश्चिम २ सय मिटर भित्र, गणेश चोकदेखि ५० मिटर दक्षिण, त्रिभुवन माविको परिसर भित्र र भगवतीटोलस्थित बसपार्कमा गरि ४ सार्वजनिक शौचालय निर्माण भएका छन्। भगवती टोलस्थित बसपार्क अहिले बन्द छ। गणेशचौकमा बनाएको शौचालय उद्योग बाणिज्य संघको भवनभित्र रहेको छ।

तर, निर्माण सम्पन्नसगै लगाइएको ताला अहिलेसम्म खुल्न सकेको छैन। शौचालय निर्माणपछि नगरपालिकाले शौचालय संचालनका लागि ठोस कार्ययोजना समेत नबनाएको स्थानीयको आरोप छ। नगरबासीले सदरमुकाममा शौचालय बनाएको पत्तो समेत पाएका छैनन्। शौचालय बनाएपनि प्रयोग गर्नतर्फ नगरपालिकाले अहिलेसम्म ध्यानै दिन नसकेको स्थानीयहरुको आरोप छ। ‘निर्माण भएदेखि अहिलेसम्म जाने बाटो र शौचालयमा ताला छ।’ स्थानीय रुपक केसीले भने, सफा गर्ने र निश्चित पैसा उठाउनका लागि मान्छे राख्ने नगरपालिकाले सोच समेत अहिलेसम्म बनाएको छैन।’

सदरमुकाम आउने नागरिकहरु खाजा खाने बाहानामा होटल तथा आफन्तकै घरमा पुगेर शौच गर्न बाध्य छन्। बिहान र साँझको समयमा सार्वजनिक स्थानहरु दिसापिसाव गर्नुपर्ने अवस्था हुने गरेको भैरवी गाउँपालिकाका स्थानीय तुलाराम अधिकारीले बताए। ‘सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गर्दछ।’ भैरवी गापाका तुलाराम अधिकारीले भने, होटलमा खाजा आएर शौचालय जानुपर्ने बाध्यता समेत हुने गर्दछ।’

नगरपालिकाले अनावश्यक ठाउँमा लाखौं रकम खर्च गरेको भएपनि नागरिकहरुलाई अत्यावयक ठाउँमा खर्चन नसकेको नगरबासीको गुनासो छ। नगर प्रमुखले शौचालय सुधार गरेर प्रयोगमा ल्याउने भनेपनि अहिलेसम्म प्रयोग हुन सकेको छैन्। ४ वटा शौचालय निर्माणका लागि ५० लाख बढी खर्च भैसकेको नारायण नगरपालिकाका ईन्जिनियर तथा योजना शाखा प्रमुख हिक्मत रोकायले बताए। ठाउँ अभाव लगायतका कारणले बजारभन्दा अलि साइटमा बाध्यताले बनाउनुपरेको ईन्जिनियर रोकायको छ।

शौचालय प्रयोगविहिन भएको आफु आउनुपूर्व कर्मचारीले अपायक ठाउँमा र लापरवाही रुपमा बनाएको नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले बताए। पुराना शौचालयमर्मत गरेर प्रयोग गर्ने र घुम्ती शौचालय मुख्य ठाँउमा राख्ने नगरप्रमुखको योजना एक वर्ष पहिलेदेखि सुनाए पनि कार्यान्वयन हुन सकेको छैन्।

प्रकाशित: १९ भाद्र २०७६ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App