८ वैशाख २०८१ शनिबार
अर्थ

मध्यपहाडीका पाँच पक्की पुल अलपत्र

सर्वउद्धार/सगरमाथा जेभीले आठ वर्षदेखि अलपत्र पारेको बहादुरे खोला पुल। तस्बिर सौजन्यः पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय धुलिखेल।

बनेपा – मुलुकका अन्य क्षेत्रमा जस्तै ठेकेदारको लापरवाहीका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत सिन्धुली र खोटाङमा पनि पाँच पक्की पुल अलपत्र परेका छन्।

राजमार्ग आयोजना कार्यालय धुलिखेलका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिकामा पर्ने खाङसाङ खोला र सोखु खोलामा पक्की पुल आठ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन।

खुर्कोटदेखि चेनेज ४४ को खाङसाङ खोला र चेनेज ५५ को सोखु खोलामा पुल बनाउने ठेक्का पाएको पप्पु/नेपाल प्रगति जेभीले कार्यादेश पाएको आठ वर्ष बितेको छ। काम अघि बढाएको छैन।

‘हामीले धेरै ताकेता ग¥यौं, न काम सुरु गरेको छ, न म्याद थपका लागि कम्पनी सम्पर्कमा आएको छ,’ योजनाका इन्जिनियर एवं सूचना अधिकारी ईश्वर कार्कीले भने, ‘ठेकेदारको जमानत जफतका लागि पटक–पटक बैंकलाई पत्राचार गरेका छौं। तर, पनि ठेकेदारले अटेर गरिरहेको छ।’

२०६८ असार २९ गते पप्पु/नेपाल प्रगति जेभीले खाङसाङ खोलामा ५० मिटर लम्बाइ र सोखु खोलामा एक सय मिटर लम्बाइको डबल लेन पुल बनाउन मूल्य अभिवृद्धि करबाहेक नौ करोड २३ लाख ८७ हजार रुपैयाँमा ठेक्का पाएको थियो।

सोही राजमार्गको सिन्धुली र उदयपुरको सीमा बग्ने बहादुरे खोलामा पक्की पुल बनाउन आठ वर्षअघि योजनासँग सम्झौता गरेको सर्वउद्धार÷सगरमाथा जेभीले पनि हालसम्म पुल बनाएको छैन।

डबल लेन चौडाइ र ६१ मिटर लामो उक्त पुल बनाउन २०६८ असारमै कार्यादेश पाएको जेभीलाई २०६९ पुसमै योजनाले प्रगति नभएको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। धेरैपटक ताकेता गर्दा पनि काम नगरेपछि सो जेभीलाई २०७४ चैतमै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।

‘खुर्कोटदेखि चेनेज ६६ मा पर्ने बहादुरे खोलामा पक्की पुलका लागि मूल्य अभिवृद्धि करबाहेक तीन करोड १० लाख ७५ हजार रुपैयाँमा यो जेभीलाई ठेक्का दिइएको थियो। यसले पनि काम सम्पन्न गरेको छैन,’ कार्कीले भने।

सोही राजमार्गको खोटाङस्थित पंखु खोलामा डबल लेन चौडाइ र १५ मिटर लम्बाइको पक्की पुल बनाउन ठेक्का पाएको सिरुवा कन्सट्रक्सन प्रालिले पनि चार वर्ष बित्दा पुल सम्पन्न गरेको छैन। २०७२ असोजमै दुई वर्षमा निर्माण सम्पन्न गर्ने सर्तमा करबाहेक दुई करोड एक लाख ६७ हजार रुपैयाँमा ठेक्का पाएको  कम्पनीले एकपटक म्याद थप गरिसकेको छ।

यस्तै, राजमार्गअन्तर्गत हिलेपानीबाट चेनेज ११ स्थित दौन्तेखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता गरेको सूर्य/केएमजी जेभीले पनि निर्माण सम्पन्न गरेको छैन। डबल लेन चौडाइ र १५ मिटर लम्बाइको पक्की पुलका लागि २०७४ जेठमा करबाहेक दुई करोड ५४ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको जेभीले २०७५ भदौमा सक्ने गरी म्याद थप गरेको थियो।

प्रकाशित: १९ भाद्र २०७६ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App