७ वैशाख २०८१ शुक्रबार
अर्थ

रात्रीकालीन उडान सञ्चालन गरिने

भरतपुर विमानस्थल विस्तार र सुधारका लागि आयोजित अन्तरक्रियाका सहभागी। तस्बिर : नागरिक

चितवन – भरतपुर विमानस्थल विस्तार र स्तरोन्नति गरी रात्रीकालीन उडान सञ्चालन गर्ने तयारी अगाडि बढाइने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र संस्कृति, पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार र सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। भरतपुर विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा बुधबार भरतपुरमा गरिएको सरोकारवालाबीचको अन्तरक्रियामा नेताद्वयले उक्त प्रतिबद्धता जनाएका हुन्।

६२ बिघा क्षेत्रफल रहेको विमानस्थलको ३० मिटर चौडाइ र एक हजार दुई सय मिटर लम्बाइ भएको धावनमार्ग छ। अहिले ४२ सिटसम्म क्षमता भएका हवाईजहाजले यात्रुलाई सेवा दिँदै आएका छन्। योभन्दा बढी क्षमताको ठूला जहाजबाट सेवा दिन र रात्रीकालीन हवाई सेवा सुरु गर्न विमानस्थलको स्तरोन्नति गर्न आवश्यक छ। स्तरोन्नतिका लागि विमानस्थलको क्षेत्रफल विस्तार गर्नु आवश्यक भएकाले नेपाली सेनाका सेनापति, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्रालयबीच एक साताभित्र बैठक आयोजना गरी समन्वय गरिने प्रतिबद्धता नेकपाका अध्यक्ष दाहालले व्यक्त गरे।

चितवन आकर्षक गन्तब्य भए पनि भरतपुरमा रहेको विमानस्थल दिनप्रतिदिन जोखिमयुक्त हुँदै गएकाले यसको विस्तार र सुधार गर्नु आवश्यक रहेको उनले बताए। रणनीतिक महत्वका पूर्वाधार निर्माणमा जोड दिँदै उनले भरतपुर विमानस्थल पनि विशेष महत्वको रहेको उनले प्रष्ट पारे। ‘भरतपुर र वैकल्पिक विमानस्थलबारे तयारी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आजको आवश्यकता भरतपुर विमानस्थल विस्तार र यसलाई सुरक्षित बनाउनु नै हो।’ चितवनको पर्यटनका लागि समेत यो अपरिहार्य रहेको उनको भनाइ छ। ‘जनताले छिटोभन्दा छिटो विकासले गति लियोस् भन्ने भएकाले अस्थिरता, अन्यौल देशले थाम्न सक्दैन,’ उनी भन्छन्, ‘अब एक्सनमा जाने बेला हो, समाजवाद उन्मुख राज्यको प्रत्याभूति जनतालाई दिने जिम्मेवारी काँधमा छ।’ बैठक स्वयं नै एक्सन भएकाले प्रतिबद्धता पूरा गर्ने उनको भनाइ छ।

अवरोध सिर्जना गर्ने, जनतालाई भ्रम छर्ने काम भइरहेकाले त्यसलाई एक्सनले चिर्ने उनले बताए। विमानस्थलको आडैमा रहेको नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्र रहेको करिब ७२ बिघा जग्गामा विमानस्थल विस्तार गर्न सकिने सम्भावना कार्यक्रममा औंल्याइएको थियो। संस्कृति, पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल सुधार र विस्तारका लागि मन्त्रालयअन्तर्गत एक साताभित्र टिम बनाएर अध्ययन सुरु गरिने प्रतिबद्धता जनाएका छन्। जसले विमानस्थल सुरक्षितसँगै स्तरोन्नति गर्नेबारे अध्ययन गर्ने छ।

मुख्य प्राथमिकतामा परेको विमानस्थलमा भरतपुर भएकाले स्तरोन्नति, विस्तार र रात्रीकालीन सेवा सञ्चालन गर्न सबैको समन्वय र सहकार्य रहेको उनले बताए। ‘भरतपुर विमानस्थल सुरक्षाका हिसाबले जोखिममा छ, सधैं जोखिमपूर्ण ढंगले उड्ने र अवतरण गर्न सकिदैन,’ उनले भने, ‘कि त भरतपुर विमानस्थल बन्द हुनुप-यो कि त सुरक्षाका लागि स्तरोन्नति हुनुप¥यो।’ विमानस्थल अपरिहार्य भएकाले हाललाई स्तरोन्नति गर्न प्राथमिकता दिएको उनको भनाइ छ। स्तरोन्नति र विस्तारका लागि प्राविधिक हिसाबले उपयुक्त हुने, नहुने, कसरी गर्न सकिने भन्नेबारे टिमबाट अध्ययन हुने मन्त्री भट्टराईले बताए। 

विसं २०१५ मा स्थापना भएको विमानस्थलले २०१८ देखि हवाई सेवा दिँदै आएको छ। २०३८ जेठदेखि २०४२ मंसिरसम्म बन्द रहेको विमानस्थलले त्यसयता यात्रुलाई सेवा दिइरहेको छ। पोर्टर, ट्विनटरजस्ता साना विमानबाट सेवा सुरु गरेको विमानस्थलमा अहिले जेट स्ट्रिम, बिचक्राफ्ट, एटिआर–४२ विमानले उडान भर्दै आएका छन्। अहिले बुद्ध एअरले दैनिक ६ र यतीले पाँचवटा उडान गर्ने गरेका छन्। दुवै एअरका एक/एक उडान पोखरा र अरु काठमाडौंका लागि गरिन्छ। नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा भने दिने २४ वटासम्म उडान भएको विमानस्थलका प्रमुख पर्वतकसमार गौतमले बताए।

विमानस्थल वरपर मापदण्डविपरित विमानस्थललाई नै असुरक्षित बनाउने गरी बनेका अग्ला घर र संरचनाका कारण विमानस्थलको १२ सय मिटरको धावनमार्गमध्ये करिब नौ सय मिटरमात्र प्रयोगमा रहेको उनी बताउँछन्। २०७१ मा गरिएको अध्ययनमा विमानस्थल वरिपरि दुई सय ५३ घर मापदण्डविपरित बनेको पाइएकामा अहिले त्यो संख्या तीन सयको हाराहारीमा पुगेको उनी बताउँछन्। यसले विमानस्थलमा उडान र अवतरणका बेला जोखिम बढाएको छ। त्यसैले सुरक्षित विमानस्थल बनाउन प्राथमिकता दिनुपर्ने उनले बताए। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल विमानस्थललाई सुरक्षित बनाउन विमानस्थल विस्तार र सुधान गर्ने तयारी गरिएको बताउँछिन्।

भरतपुर विमानस्थल देशकै जोखिमयुक्त विमानस्थलमा पर्ने भएकाले यसको विस्तार वा विकल्पको खोजीका लागि बैठक र समन्वय गर्ने कार्य महानगरले गरेको उनले बताइन्। अन्तरक्रियामा सहभागी हुन बुधबार नै काठमाडौंबाट आएका मन्त्री भट्टराईले भरतपुर विमानस्थलमा सँगै आएका नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पहिले स्वागत गर्न लगाएका छन्। मन्त्रीको स्वागतमा आएका कार्यालय प्रमुख तथा नेता, कार्यकर्ताले भट्टराईले भने लगत्तै पहिले सिटौलालाई खादा र फूल, माला लगाएका थिए।

प्रकाशित: १९ भाद्र २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App