coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री जोनसनद्वारा निर्वाचन माग

संसद्मा सम्बोधन गर्दै बेलायी प्रधानमन्त्री बोरिस जोनसन। तस्बिर: एजेन्सी

लन्डन – युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)बारे संसद्मा भएको निर्वाचनमा पराजित भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १५ का दिन आमनिर्वाचन गर्न माग गरेका छन्। ‘नो–डिल ब्रेक्जिट’ भनिने सहमतिबिनै युरोपेली संघबाट बेलायतको बहिर्गमनलाई रोक्न चाहेका सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावलाई संसद्मा पराजित गरिदिएपछि उनले बुधबार समयअगावै आमनिर्वाचन माग गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

टोरी भनेर चिनिने सत्तारुढ कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदले प्रमुख विपक्षी लेबर पार्टीसँग मिलेर मंगलबार देशको संसद्मा मतदान गरेपछि सरकार पराजित भएको थियो। जितसँगै विपक्षी गठबन्धनलाई युरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि तीन महिना समय थपका लागि कानुन बनाउनका लागि बाटो खुला भएको छ।

संसद्मा भएको मतदानले ब्रेक्जिटलाई अनिर्णयको भूमरीमा छोडिदिएको छ। संसद्को पछिल्लो कदमले सम्भवतः अशान्त ‘नो–डिल एक्जिट’ देखि हालसम्मकै सबै प्रयासलाई त्यागसमेत गर्न सक्नेछ। यी दुवै परिणाम बेला बेलायती मतदाताका लागि अस्वीकार्य हुनेछ।

विपक्षीलगायत आफ्नै दलका विद्रोहीको कदमलाई जोनसनले युरोपेली संघसँग आत्मसमर्पण गर्न प्रायास गरेको आरोप लगाएका छन्। उनले अक्टोबर ३१ भन्दा पछि ब्रेक्जिटलाई नधकेल्ने चेतावनी दिँदै विपक्षी लेबर पार्टीका नेता जेरेमी कर्बिनलाई अक्टोबर १५ मा आमनिर्वाचन गर्नका लागि स्वीकार गर्न चुनौतीसमेत दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

समयअगावै निर्वाचनको माग गरे पनि बेलायती प्रधानमन्त्री जोनसनको प्रस्ताव पारित हुन संसद्मा कायम रहेकामध्ये दुई तिहाई सांसदको समर्थन आवश्यक रहन्छ। अहिलेसम्मको चरणमा विपक्षी लेबर र अन्य दल निर्वाचनको पक्षमा नदेखिएका कारण समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्री जोनसनको प्रस्ताव पारित हुनु फलामको च्यूरा चपाएझैं हुने राजनीतिक विश्लेषकहरुले बताएका छन्।

प्रधानमन्त्री जोनसन र सांसदबीच बुधाबार दिनभर जसो जुहारी चलि नै रह्यो।  बुधबार संसद्मा ‘नो–डिल’ रोक्न प्रयास र जोनसनको निर्वाचन गराउने पक्षबीच मतदानको कार्यसूची रहेको थियो। त्यसैगरी बुधबारको संसद्मा प्रधानमन्त्रीलाई हुने साप्ताहिक प्रश्नको कार्यसूची रहेको थियो।

तीन वर्षदेखि जारी ब्रेक्जिट संकट उत्कर्षमा पुगिरहेकै बेला बेलायत निर्वाचनतर्फ अघि बढिरहेको छ किनभने यो संकटबाट बाहिर आउनका लागि निर्वाचनमात्रै अति उत्तम विकल्प भएको बुझाई अधिकांश बेलायती राजनीतिज्ञको रहेको छ।

‘नो–डिल ब्रेक्जिट’ रोक्ने विधेयकलाई पारित नगरेसम्म विपक्षी दलले प्रधानमन्त्री  जोनसनको निर्वाचनसम्बन्धी विचारलाई परास्त गर्नसक्ने एउटा दृश्य पनि देखिएको छ। त्यसपछि उनीहरु निर्वाचनका लागि सहमत हुनसक्ने परिदृश्य पनि देखिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

प्रधानमन्त्री जोनसनको निर्वाचनसम्बन्धी प्रस्तावमाथि बुधबार यो समाचार तयार पार्दासम्म मतदान भएको थिएन। स्थानीय समयअनुसार साँझ ६ बजे मतदान गर्ने कार्यतालिका सरकारले तयार पारेको थियो। बेलायत युरोपेली संघबाट बाहिरिने प्रक्रिया अर्थात् ब्रेक्जिटबारे लामो समयदेखि त्यहाँ जारी राजनीतिक बहसले पछिल्लो समय निकै चर्को रूप लिएको छ।

युरोपेली संघसँग सहमति गरेर बेलायत उक्त गठबन्धनबाट बाहिरिने कि कुनै सहमतिबिना सीधै बाहिरिने भन्ने विषयमा वर्तमान बेलायती प्रधानमन्त्री जोनसनकी पूर्ववर्ती प्रधानमन्त्री टरिजा मेले युरोपेली संघसँग ब्रेक्जिटका लागि हासिल गरेको सहमति उनको पार्टी र देशको संसद्बाट समेत पटकपटक अस्वीकृत भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।

जोनसनले आगामी अक्टोबर ३१ तारिखमा जुनसुकै अवस्थामा पनि बेलायत युरोपेली संघबाट बाहिरिने अर्थात् नो–डिल ब्रेक्जिटमा समेत जाने भन्दै संसद्मा निर्णयार्थ प्रस्ताव लगेका थिए, जुन प्रस्तावमा पराजित भएसँगै उनले आमनिर्वाचनको माग गरेका छन्।

प्रकाशित: १९ भाद्र २०७६ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App