७ वैशाख २०८१ शुक्रबार
समाज

मेडिकलको प्रवेश परीक्षा तोकिएकै मितिमा

काठमाडौं - त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का विद्यार्थीले साझा प्रवेश परीक्षाको माग राख्दै गरेको तलाबन्दी बुधबार तोडिएको छ। संस्थानका डिन डा. जगदीश अग्रवालले प्रवेश परीक्षाका लागि आवेदन दिएका २० हजार विद्यार्थीको भविष्यलाई ख्याल राख्दै नेपाल सरकारको निर्देशनअनुसार परीक्षा नियन्त्रण माहाशाखामा विद्यार्थीले लगाएका ताला प्रहरीको रोहबरमा खोलिएको जनाए। डिन अग्रवालले संघर्षरत विद्यार्थीका मागका बारे छलफलबाट समाधान गर्दै जाने बताए।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेको नेतृत्वमा भदौ १५ गतेदेखि चिकित्सा शिक्षासम्बन्धी आठ बुँदे मागसहित महाराजगञ्ज क्याम्पसको डिन र परीक्षा महाशाखामा तालाबन्दी गरिएको थियो। विद्यार्थीहरुले मेडिकलको साझा प्रवेश परीक्षा सञ्चालन गरिनुपर्ने, नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएको गण्डकी मेडिकल कलेजलगायत त्रिविका हरेक निजी मेडिकल कलेजले सम्बन्धित विद्यार्थीलाई एक महिनाभित्र शुल्क फिर्ताको निर्णय तत्काल कार्यान्वयन गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई यसै शैक्षिक सत्रबाट लागू गर्नुपर्ने, प्रवेश परीक्षाको नतिजाको योग्यताको आधारमा मेरिट लागू गरी भर्ना गरिनुपर्ने र ओपन हाउस काउन्सिलिङबाट मेरिट लागू नभएकाले अनलाइन काउन्सिलिङमार्फत भर्ना गरिनु पर्नेलगायतका आठ बुँदे माग राखी अनिश्चितकालीन तालाबन्दी गरेका थिए।

तालाबन्दी खोल्न डिन अग्रवाललाई विश्वविद्यालयको कुलपति, सहकुलपति र उपकुलपतिलगायतबाट निर्देशन आएअनुसार बुधबार परीक्षा शाखाको तालाबन्दी खोलिएको बताए। ‘शनिबारदेखि सुरु हुने प्रवेश परीक्षाको तयारीका लागि कम्तीमा तीनचार दिन लाग्छ,’ डिन अग्रवालले नागरिकसँग भने, ‘२० हजार विद्यार्थीले प्रवेश परीक्षा फारम भरेका छन्। उनीहरुको भविष्य विचल्लीमा नपरोस् भनेरै कुलपतिबाट आएको निर्देशनअनुसार ताला खोलिएको हो। साझा प्रवेश परीक्षा गर्न चिकित्सा शिक्षा नियमावली नै बन्नुपर्छ तर हालसम्म सो बनेको छैन।

चैत्र ४ गते कुलपतिद्वारा डाकिएको पहिलो बैठकले नै नीतिगत निर्णयबाहेक अन्य कामकाज पुरानै व्यवस्था अनुसार गर्ने निर्णय भएकाले परीक्षा सञ्चालनको विकल्प छैन।’ डिन अग्रवालले हालको अवस्थामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र मनोनित हुने सदस्यहरु नै नियुक्ति नभएकाले विद्यार्थीले उठाएका माग कार्यान्वयन गर्न चुनौती रहेको जनाए।

महाराजगन्ज चिकित्सा क्याम्पसका नेपाल विद्यार्थी संघका अध्यक्ष शुलभ आचार्यले प्रेस विज्ञप्ती जारी गर्दै डिन कार्यालयले तोकिएकै समयमा परीक्षा सञ्चालन गर्नगराउन पहल गर्नुपर्ने उल्लेख गरेको छ। नेविसंघका क्याम्पस एकाइ अध्यक्ष आचार्यले अन्य माग छलफलबाट समाधान हुने गरी परीक्षा समयमै सञ्चालन गरी विद्यार्थीको भविष्यलाई सुरक्षित बनाउन सबै सरोकारवालाहरु संवेदनशील हुनुपर्ने अग्रह गरे। उनले शनिबार हुने प्रवेश परीक्षा शान्तिपूर्ण वातावारणमा सञ्चालन गराउन सरकारले पूर्णव्यवस्था गर्नुपर्ने आग्रह पनि गरे।

महाराजगन्ज चिकित्सा क्याम्पसमा प्रवेश परीक्षाको मिति तोकिएलगत्तै बारम्बार विभिन्न संघसंगठनहरुले आन्दोलन गर्दै आएकाले विद्यार्थी तथा शिक्षक कर्मचारी नै दिक्क बनेका छन्। क्याम्पसका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले शनिबारदेखि सुरु हुने प्रवेश परीक्षाको प्रश्नपत्र तयारी, उत्तरपुस्तिका व्यस्थापन र २० परीक्षा केन्द्रको व्यवस्थापनका लागि समय कम भएकाले बुधबारदेखि नै परीक्षा व्यवस्थापनको काममा प्रशासन जुटेको बताए। ‘विद्यार्थीका माग पूरा हुन चिकित्सा शिक्षा नियमावली बन्नुपर्छ,’ उनले भने।

प्रकाशित: १९ भाद्र २०७६ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App