८ वैशाख २०८१ शनिबार
राजनीति

महानगरलाई झकझकाउन सडकमै पत्रकार सम्मेलन

वीरगन्ज- राष्ट्रिय जनता पार्टी (राजपा)को वीरगन्ज महानगरपालिका नगर कार्यसमितिले बुधवार वीरगन्जको आदर्शनगरमा सडकपेटीमैं पत्रकार सम्मेलन गरेको छ। वीरगन्ज महानगरपालिकाको विकास निर्माणको काम र समाजिक उत्तरदायित्वका कार्यक्रममा बिभिन्न खाले अनियमितता भएको लगायत आरोप लगाउदै राजपा नगर समितिले पत्रकार सम्मलेन गरेको हो।

महानगरपालिका र जननिर्वाचित नगरप्रमुखलाई झकझकाउनका लागि भनेर राजपा नगर समितिले पार्टीका महासचिव राजेशमान सिंह, निजामुद्दीन समानी र पार्टीका जिल्ला नेताहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरी चरणबद्ध खबरदारी गर्ने जनाएको छ। नगर अध्यक्ष लियाकत अलीको तर्फबाट जारी प्रेस बिज्ञप्तिमा अनियमितता, सरसफाइमा समस्या, ढल निकास नहुँदा नगरवासीले पिडा भोग्नु परेको, छाडा चौपाया समस्या र नगरप्रमुखले भ्रष्ट ठेकेदारलाई संरक्षण गरेको जस्ता आरोप लगाइएको छ।

वीरगन्जका नगरप्रमुख विजय सरावगीलाई गत भदौमा आफुहरुले ज्ञापनपत्र बुझाउदा केही दिन छाडा चौपाया नियन्त्रण भए पनि पुनः समस्या ज्युका त्यु भएको बिज्ञप्तिमा भनिएको छ। वीरगन्जमा रहेको ढल निकासको समस्या समाधान हुने आशा गरिएको एशियाली बिकास बैंकको सहयोगमा कार्यन्यवन भइरहेको ‘मझौला शहर एकीकृत शहरी बातावरणीय सुधार आयोजना’मा सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई अनुकुल हुने किसिमले पटकपटक महानगरपालिकाले म्याद थप गरेकोमा राजपाको आपत्ति छ। राजपाले यसलाई अनियमितता ठहर गरेको छ।

‘उक्त निर्माण काममा निर्वाचित जनप्रतिनिधि आएपछि कारवाही हुने जुन आशा र भरोसा थियो त्यो अबिश्वास र निराशामा परिणत भएको छ,’ महासचिव सिंहले भने, ‘बिज्ञहरुले बनाएको ढलको डिजाइन परिवर्तन गरी कन्सल्टेन्ट र ठेकेदारले अनियमितता गरेका छन्, वीरगन्जको भौगोलिक बनावट उत्तरदेखी दक्षिणतिर रहेकोमा अप्राकृतिक रुपले उल्टो दक्षिणबाट उत्तरतिर जाने गरी नाला डिजाइन फेरेर बनाइएपछि आदर्शनगर क्षेत्र यसअघि भन्दा निकै बढी मात्रामा डुबानमा पर्यो।’ कमसल काम गर्ने, गरेको काममा शर्त अनुसार मर्मत नगर्ने, दोब्बर समय लगाएर पनि काम सम्पन्न नगर्ने कालिका कन्सट्रक्सनलाई २६ नोभेम्बर २०१७, २४ मार्च २०१८, १५ डिसेम्बर २०१८ र ७ जुन २०१९ गरी चार पटक म्याद थप गरिएकोमा उनले खेद जनाए।

नजनताप्रति उतरदायि हुनु पर्ने नगरप्रमुख ठेकेदारप्रति झुकाव देखाएको भनी सिंहले खेद ब्यक्त गरे। उनले जनउत्तरदायी भएर काम गरे राजपाले नगरप्रमुखलाई खुल्ला मञ्चमैं सम्मान गर्ने भन्दै आफुहरुले बिरोधको लागि बिरोध नभएर जनसरोकारका सवालमा महानगरपालिका नेतृत्वको आँखा खोल्न चाहेको बताए। अर्का महासचिव समानीले आफुहरुले नगरप्रमुखलाई भेंटेर केही समस्या भए राजनीतिक दलहरुलाई बसाएर छलफल गर्न सुझाव दिए पनि त्यस्तो पहल उनले नगरको बताए। राजपाले विकासका लागि सदैव सहयोगात्मक भावना राखेको उनले जनाए। पत्रकार सम्मेलनमा पार्टीका बिभिन्न तहका नेताहरुको उपस्थिती थियो।

वीरगन्ज महानगरपालिकालाई झकझकाउन राजपाले गरेको पत्रकार सम्मेलन। तस्विरः रितेश त्रिपाठी

प्रकाशित: १८ भाद्र २०७६ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App