coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चौधरी फाउन्डेसन-लायन्स क्लब साझेदारी

काठमाडौं- चौधरी फाउन्डेसन र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेस (एनएसबी) मा सवा ५ करोड रुपैयाँ लगानी गर्ने घोषणा  गरेका छन्। नेपालका दुर्गम क्षेत्रमा 'सोसल विजनेस' सम्बन्धी परियोजना कार्यान्वयनमा उक्त रकम खर्च गरिने छ।

दुवै संस्था बुधबार राजधानीमो संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजनी गरी यसबारे जानकारी दिएका हुन्। चौधरी फाउन्डेसनका प्रमुख कार्यकारी निर्वाण चौधरी र लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले एनएसबीको दोस्रो चरण कार्यान्वनका लागि सवा ५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरिएको जानकारी दिए।

सन् २०१४ मा सुरु भएको एनएसबीले नेपालका दुर्गम भेगका बासिन्दाको सामाजिक एवं आर्थिक अवस्था सुधार गर्न यस्ता परियोजना कार्यान्वयनमा तीव्रता दिएको छ। पहिलो चरणमा १ सयवटा सोसल विजनेस अवधारणामा तालिम दिइएको छ। हालसम्म १२ परियोजनामा लगानी भइसकेको छ भने बाँकी लगानी गर्ने चरणमा रहेको जानकारी दिइयो।

एनएसबी चौधरी ग्रुपको मानवीय सहयोगसम्बन्धी निकाय चौधरी फाउन्डेसन र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले नेपालमा सोसल विजनेस प्रवर्र्द्धनका लागि स्थापना गरिएको संस्था हो। व्यवसायिक सोच भएका तर वित्तीय स्रोत अभावमा व्यापार सुरु गर्न नसकेकालाई एनएसबीले वित्तीय स्रोत उपलब्ध गराउने चौधरीले जानकारी दिए। 

एनएसबीले जुम्लामा कर्णाली मितेरी उद्योग र अर्गानिक फलफूल तथा खाद्य प्रशोधन उद्योग, दाङमा होजियरी तथा गार्मेन्ट प्रालि, सल्यानमा बागेश्वरी बहुउद्देश्यीय कृषि फार्म प्रालि, कैलालीमा महालक्ष्मी झोला उद्योग प्रालि तथा डडेलधुरामा अजयमेरु ताम्राकार भाँडाबर्तन प्रालि लगायत परियोाजनमा लगानी गरेको छ।

'एनएसबीमार्फत् अगाडि बढाइएका परियोजनाले हाम्रा दुर्गम भेगको सामाजिक एवं आर्थिक रुपान्तरणमा ठोस योगदान पुर्‍याउने विश्वास छ,' चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा चौधरी फाउन्डेसनका प्रमुख कार्यकारी चौधरीले भने, 'सोसल विजनेस नेपाली समाजको आर्थिक परिवर्तनको माध्यम बन्न सक्छ भन्ने सोचका साथ यसलाई प्रवर्द्धन गरिरहेका छौं। हाम्रो फाउन्डेसन सोसल विजनेसका माध्यमबाट दुर्गम तथा सामाजिक एवं आर्थिक रुपमा पिछडिएको वर्गमा लगानी गर्न प्रतिबद्ध छ।'  

पत्रकार सम्मेलनमा लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक खेतानले नेपालको सामाजिक एवं आर्थिक मुहारमा परिवर्तन ल्याउन एनएसबी सार्थक हुने बताए। 'जोसँग व्यावसायिक सोच र काम गर्ने जाँगर छ उसमाथि सोसल विजेनसले लगानी गर्ने छ,' उनले भने। 

लायन्स क्लबका ट्रस्टी एनएस शंकरनले नेपालमा कार्यान्वयन भइरहेका सोसल विजनेस परियोजनाप्रति फाउन्डेसन सन्तुष्ट रहेको र यसले नेपालको ग्रामीण क्षेत्रमा आर्थिक टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्राथमिक रूपमा समाज कल्याणका लागि अग्रसर सोसल विजनेसको उद्देश्य स्थानीय स्तरमा रहेका उद्यमीलाई विभिन्न चरणका तालिम, प्रशिक्षण तथा लगानीमार्फत सामाजिक व्यवसायको विकास गर्ने रहेको छ। त्यस्तै लगानीकर्ताले लगानी गरेवापत हुने नाफाको बाँडफाँट नगरी प्राप्त मुनाफालाई निरन्तर उक्त परियोजनामै लगानी गरिने दुवै संस्थाको भनाइ छ।

प्रकाशित: २ मंसिर २०७३ ०५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App