७ वैशाख २०८१ शुक्रबार
समाज

बर्खास्त मन्त्री अदालतमा हाजिर

काठमाडौं - कर्णाली प्रदेश बर्खास्त मन्त्री खड्क बहादुर खत्री अदालतमा हाजिर भएका छन्। बैंकिङ कसूरसम्बन्धी मुद्दामा बयान दिन हालै मन्त्री पदबाट बर्खास्तीमा परेका खत्री उच्च अदालत पाटनमा हाजिर भएका हुन्।

बैंकिङ कसूर अन्तरगतको मुद्दामा गत साउन २८ गते उच्च अदालतले खत्रीलाई ३ दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । तर, उनी बुधबारमात्र हाजिर भएका हुन् । खत्री  हाजिर भए लगत्तै अदालतले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको हो।

उच्च अदालतका अनुसार खत्री हाजिर भएपछि बयान सुरु भएको छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उनको बयान भइरहेको अदालतका सूचना अधिकारी मोहन सुवेदीले बताए।

कृषि विकास बैंक भोजपुरबाट एक करोड ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टीको पत्र खत्रीसहित ५ जनाले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा बुझाएको आरोपमा उनीहरुविरुद्ध बैंकिङ कसूरको मुद्दा दर्ता भएको हो।

कृषि विकास बैंकको मुख्य शाखा कार्यालयका कामु प्रबन्धक गोकुलप्रसाद पनेरुले दायर गरेको मुद्दामा खत्री प्रतिवादी बनाइएका थिए । बैंकिङ कसुर सम्बन्धी फौजदारी अभियोग लागेपछि मन्त्री खत्रीलाई मुख्यमन्त्री  महेन्द्रबहादुर शाहीले पदबाट हटाएका थिए । खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरिएको थियो।

प्रहरीका अनुसार बैंकिङ कसूरमा चारदेखि छ वर्षसम्म कैद र विगो बराबरको क्षतिपूर्ति तथा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ।

बैँकिङ कसुर के हो ?
कानुनी व्यवस्था विपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैँकिङ कसुर भनिन्छ। विद्यमान कानुनी व्यवस्थाअनुसार अनाधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनाधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अर्को व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्यांकन गरि ऋण लिने तथा दिने काम बैँकिङ कसुरभित्र पर्छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App