coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

राँझा- बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ। घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए।     

उनका अनुसार, लक्ष्य प्राप्तिका लागि अहिले सचेतनामूलक अभियान तथा प्रसूति सेवालाई प्रभावकारी व्यवस्थापन गरी स्वास्थ्य संस्थामै शतप्रतिशत सुत्केरी गराउन अभियान सञ्चालन गरिएको छ। गाउँपालिकामा अहिले ९० प्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ भने बाँकी १० प्रतिशतलाई शून्यमा झारेर शतप्रतिशत बनाइने प्रमुख प्रशासकीय अधिकृत धितालले बताए।     

गत वर्षको समीक्षामा खोप, परिवार नियोजन र निःशुल्क प्रयोगशालामा राम्रो प्रगति भएको बताउँदै उनले चालू आर्थिक वर्षमा परिवार नियोजन, खोप, आमा सुरक्षा कार्यक्रम र औलो रोग नियन्त्रणका लागि विशेष कार्यक्रम तय गरी पहिलो प्राथमिकता दिइने जानकारी दिए।     

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा रहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपछि स्वास्थ्य क्षेत्रमा सुधार आएको दाबी गरे। उनले अहिले निःशुल्क स्वास्थ्य प्रयोगशालामा बिरामीको चाप निकै बढेको र तत्काल रोगको पहिचान भई उपचार सेवा लिन सहज भएको बताए।रासस

प्रकाशित: १८ भाद्र २०७६ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App