coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँच हजार चार सय सेना फिर्ता लगिने

काबुल – तालिबान लडाकु समूहसँग एउटा सैद्धान्तिक सहमति गर्दै संयुक्त राज्य अमेरिकाले २० साताभित्र अफगानिस्तानमा तैनाथ पाँच हजार चार सय अमेरिकी सेना फिर्ता लाने भएको छ।तालिबान लडाकु समूहसँगको वार्तामा सहभागी एक अमेरिकी उच्च वार्ताकारले वासिङ्टनले २० साताभित्र सो संख्यामा अमेरिकी सेना फिर्ता लाने बताएका हुन्।

तालिबान र वासिङ्टनबीच वार्ताको नेतृत्व गरेका अमेरिकाका उच्च कूटनीतिज्ञ जाल्मे खलिलजादले अफगान नेताहरुलाई वाताको उपलब्धी जानकारी गराएपछि एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्। तर उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए।

तालिबान–अमेरिका सहमतिका रणनीतिकार खलिलजादले खाडी मुलुक कतारमा भएका नौ चरणका शान्ति वार्तापछि निष्कर्षमा पुगिएको टोलो न्युजसँगको अन्तर्वार्तामा बताए।

केही दिनभित्र भएको तेस्रो शक्तिशाली विस्फोटको घटनाले अमेरिका र तालिबानबीच सहमति भए पनि यसले अफगानिस्तानको युद्ध रोकिने र दैनिक रूपमा हुने हिंसा अन्त्य हुनेमा शंका उत्पन्न भएको छ।

खलिलजादको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोटन भएको छ। तालिबान समूहले सो आक्रमणमा आफ्नो संलग्नता भएको दाबी गरेको छ। एउटा ट्रयाक्टरमा राखिएको बम विस्फोट भएपछि कम्तीमा १६ जना मारिएको र अन्य एक सय १६ जना घाइते भएको अफगान अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। विदेशी सेनालाई लक्षित गरेर आक्रमण गरिएको तालिबानले जनाएको छ। विदेशीहरु बस्दै आएको एउटा भवनको परिसरमा बम विस्फोटन भएको थियो। तालिबानले सो भवनमा सशस्त्र लडाकु बसेकाले आक्रमण गरेको जनाएको छ।

तालिबानको आक्रमणमा परेको सो भवन सहरको अति नै धेरै सुरक्षा प्रदान गरिएको क्षेत्रमा पर्ने बताइएको छ। आक्रमणले तालिबानसँगको कैयौं चरणको अमेरिकी वार्ताबाट अफगानिस्तानको दैनिक हिंसा अन्त्य नहुने र सर्वसाधारणमाथि पर्ने असरलाई संकेत गरेको बिबिसीले उल्लेख गरेको छ।

‘अफगान तालिबान र संयुक्त राज्य अमेरिकाबीचको एउटा निकै महŒवपूर्ण र संवेदनशील सहमतिका विवरण सार्वजनिक भएको यो पहिलो पटक हो। यो सहमतिले अमेरिका संलग्न सबैभन्दा लामो युद्ध अन्त्य गराउन र अफगानिस्तानलाई शान्तितर्फ डो¥याउन खोजेको छ,’ बिबिसीले जनाएको छ।

अमेरिकी वार्ता प्रतिनिधिको नेतृत्वकर्ता खलिलजादले अमेरिकी सेना फिर्ता गर्नेबारे तालिबानसँग सम्झौता भएको भन्दै अन्तर्वार्ता दिएको र सो अन्तर्वार्ता प्रसारण भएलगत्तै राजधानी काबुलमै विस्फोट भएपछि सो क्षेत्रका जनता आक्रोशित बनेका छन्। स्थानीयहरु सडकमा उत्रिएपछि करिब चार सयजना विदेशी नागरिकलाई सुरक्षा दिँदै बाहिर निकालिएको थियो।

स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरुले राम्रो कारणका लागि विदेशीले सो क्षेत्र छोड्नु पर्ने माग गर्दै सहरको मुख्य सडक अवरुद्ध गरेको बिबिसीले उल्लेख गरेको थियो। ‘विदेशीका कारण हामीले पीडा भोगेको यो पहिलो पटक पक्कै हैन,’ सो क्षेत्रका स्थानीय अब्दुल जामिले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग भने, ‘अब पनि उनीहरु यहाँ बसिरहँन् भनेर हामी चाहँदैनौं।’

केही दिनभित्र भएको तेस्रो शक्तिशाली विस्फोटको घटनाले अमेरिका र तालिबानबीच सहमति भए पनि यसले अफगानिस्तानको युद्ध रोकिने र दैनिक रूपमा हुने हिंसा अन्त्य हुनेमा शंका उत्पन्न भएको छ। अफगानिस्तानमा सन् २००१ मा अमेरिकाले अतिक्रमण गरे यताकै सबैभन्दा ठूलो भूभागमाथि अहिले तालिबानको नियन्त्रण छ र उनीहरुले अफगान सरकार अमेरिकाको कठपुतली भएको भन्दै लामो समयदेखि वार्ता  गर्न अस्वीकार गर्दै आएका छन्। अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना तैनाथ छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App