८ वैशाख २०८१ शनिबार
खेल

ओसाका चौथो चरणबाटै बाहिर

न्युयोर्क – डिफेन्डिङ च्याम्पियन जापानिज युवा स्टार नाओमी ओसाका युएस ओपनको  चौथो चरण (प्रिक्वार्टरफाइनल) बाटै सोमबार बाहिरिएकी छन्। न्युयोर्कस्थित अर्थर एसे  कोर्टमा विश्व नम्बर एक ओसाका विश्व वरीयताको १३औं स्थानकी स्विस स्टार बेलिन्दा बेनसिसलाई सोझो सेटमै नतिजा सुम्पिँदै चौथो चरणबाटै बाहिरिएकी हुन्। बेनसिसले सेमिफाइनलको यात्राका लागि क्वार्टरफाइनमा डोना भेकिचसँग प्रतिस्पर्धा गर्नेछिन्।

त्यसअघि चौथो चरणमा सानदार प्रदर्शन गरेकी बेनसिसले पहिलो सेट ७–५ ले जित्दै डिफेन्डिङ च्याम्पियन ओसाकालाई सुरुआतमै दबाबमा पारिन्। दोस्रो सेटमा पनि ६–४ को जित निकाल्दै बेनसिस करियरमै दोस्रो पटक कुनै पनि ग्रान्ड स्लामको क्वार्टरफाइनलमा पुग्न सफल भइन्। यसअघि सन् २०१४ मा युएस ओपनमा पनि उनले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन्।

जितपछि २२ वर्षीया बेनसिसले हरेक किसिमको चुनौती नाओमीभन्दा ठूलो नहुने बताइन्। ओसाकाले भने बेनसिसले निकै राम्रो रणनीतिअनुरूप आफूभन्दा उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिइन्। यता, हारसँगै २१ वर्षीया ओसाकाले अर्को हप्ता जारी हुने नयाँ वरीयतामा शीर्ष स्थान गुमाउने भएकी छन्। सम्भवतः अस्ट्रेलियाकी एस्लेघ बार्टी विश्व नम्बर एक हुनेछिन्।

पुरुषतर्फ विश्व नम्बर दुई स्पेनिस स्टार राफाइल नाडालले भने मंगलबार युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। नाडालले ०१४ का विजेता मरिन सिलिचलाई ३–१ को सेटमा हराउँदै क्वार्टरफाइनलको यात्रा पक्का गरेका हुन्। ३३ वर्षे नाडालले चौथो चरणमा क्रोएसियाका २२औं वरीयता प्राप्त सिलिचलाई ६–३, ३–६, ६–१, ६–२ को सेटमा हराएका थिए। नाडालले आफ्ना प्रतिद्वन्द्वीले पनि उत्कृष्ट प्रदर्शन गरेको बताए।

‘दोस्रो हाफमा उनी निकै आक्रामक बन्दा धेरै कडा सट प्रहार गरेका थिए,’ नाडालले भने,‘दोस्रो सेटपछि मैले केही परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो। मैले दोस्रोमा सर्भिस कोर्टभित्र कडा गर्न थालें, त्यसपछि मात्र खेलमा परिवर्तन आयो।’

कुल १८ पटकका ग्रान्ड स्लाम च्याम्पियन नाडालले क्वार्टरफाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्जमेनविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। यता, डिफेन्डिङ च्याम्पियन सर्बियन स्टार नोभाक जोकोभिचले चोटका कारण चौथो चरणबाट बाहिरिएपछि नाडाल र स्विस स्टार रोजर फेडेरर यस पटक मुख्य दाबेदारमा देखिएका छन्।

यद्यपि, जोकोभिचलाई पराजित गरेका स्विस स्टान वावरिन्कालाई पनि उत्तिकै दाबेदार मान्न थालिएको छ। नाडालले स्वार्ट्जमेनलाई हराएमा फ्रान्सका गेल मोनफिल्स र इटालीका माटेओ बोरेट्टेनीबीचको विजेतालाई पाखा लगाउनुपर्नेछ। फेडेररले भने बुल्गेरियाका ग्रिगोर दिभित्रोभलाई हराएर स्विट्जरल्यान्डका स्टेन वावरेन्का र रूसका ड्यानियल मेदभेदेभबीचको विजेतालाई पनि हराउनुपर्नेछ।

प्रकाशित: १८ भाद्र २०७६ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App