८ वैशाख २०८१ शनिबार
राजनीति

परराष्ट्रमन्त्री ज्ञवालीले भेटे माल्दिभ्सका राष्ट्रपति, नेपालीका लागि रोजगारीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग भेटवार्ता गरेका छन्। 

चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार माल्दिभ्स गएका ज्ञवालीले मंगलबार राजधानी मालेमा राष्ट्रपति सोहिलसँग भेट गरेका हुन्। 

भेटमा पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नेपाल र माल्दिभ्सको पर्यटन प्रवर्द्धन, नेपाली नागरिकलाई माल्दिभ्समा रोजगारीका अवसर, जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्ने साझा प्रयास तथा दुवै देशका साझा सरोकारका मुद्दामा अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा सहयोग बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा माल्दिभ्सका राष्ट्रपतिले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई सम्झिँदै शुभकामना सन्देश हस्तान्तरण गरेका थिए। 

हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्परिक चुनौती विषयक सम्मेलन बुधबार समापन हुँदैछ। मन्त्री ज्ञवाली आजै अपराह्न स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: १८ भाद्र २०७६ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App