coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पिएलओको उत्पादन क्षमता दुई गुणा बढ्यो

काठमाडौं – पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पिएलओ)ले उत्पादन क्षमता दुई गुणा बढाएको छ। दैनिक ६ हजार लिटर लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओले क्षमता बढाएर दैनिक १८ हजार लिटर पु-याएको छ।

सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्टको बजार विस्तार हुँदै गएपछि उत्पादन क्षमता बढाएको पिएलओका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले बताए। करिब १५ करोड रुपैयाँ लगानी थपेर क्षमता विस्तार गरेको निर्देशक दुलालले बताए। ‘बजारमा माग बढ्दै गएपछि उत्पादन क्षमता बढाएका हौं,’ दुलालले भने।

२०५८ मा स्थापना भएको उद्योगले गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गरेकाले बजारमा माग बढ्दै गएको दुलालले बताए। ‘कुुल बजारको १२ प्रतिशत र नेपाली उत्पादनको ३८ प्रतिशत हिस्सा पिएलको उत्पादनले ओगटेको छ,’ दुलालले भने, ‘स्वदेशी ब्रान्ड प्रयोग गर्नेको संख्या बढिरहेको छ।’

पिएलओ ब्रान्डमा क्याल्सियम बेस क्रिज, कटिङ आयल, स्पेन्डल आयल, सर्टिङ आयल, गाडी टल्काउने वाक्स्, थर्मफ्युड आयल नयाँ उत्पादन सुरु गरेको छ। उक्त कम्पनीले पिएलओसहित स्टार, मेगा ब्रान्डमा लुब्रिकेन्ट उत्पादन गरिरहेको छ।

पिएलओले वार्षिक करिब एक सय करोड रुपैयाँको लुब्रिकेन्ट बिक्री गर्छ। ‘नेपाली हुनुमा गर्व गरौं, नेपाली उत्पादन प्रयोग गरौं’ भन्ने नाराका साथ आफ्नो उत्पादनको बजार विस्तार गरेको पिएलओले जनाएको छ। कम्पनीले विदेशसमेत निर्यात गर्ने तयारी गरेको छ।

पिएलओले गुणस्तर र व्यवस्थापनमा आइएसओ प्रमाण पत्र पाइसकेको छ। स्वदेशी उत्पादनमात्र नभएर विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्ने दुलालले बताए। ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गर्दै आएका छौं,’ दुलालले भने, ‘आइएसओ सर्टिफिकेट पनि पाइसकेका छौं।’

नेपालमा लुब्रिकेन्टको बजार करिब १६ अर्ब रुपैयाँको पुगेको उद्योगी बताउँछन्। लुब्रिकेन्टको कुल बजारमा स्वदेशी उद्योगले २८ प्रतिशत बजार हिस्सा ओगटेका छन् भने बाँकी ७२ प्रतिशत विदेशी कम्पनीले बिक्री गर्दै आएका छन्। त्यसमा अधिकांश भारतीय कम्पनी रहेका छन्। यहाँको बजारमा बिक्री हुने लुब्रिकेन्ट भारतीय भए पनि प्रतिस्पर्धा गर्न सक्षम रहेको उनले बताए।

नेपाली बजारमा पूर्वाञ्चल आयलसहित नेपाल ल्युब आयल लिमिटेडले गल्फ आयल ,फुजिमा आयल कम्पनी लिमिटेडले कन्ट्रोल, नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिले म्याक्सोल, नेपाल पेट्रो केमिकल केमोलियम्स ब्रान्डलगायत विभिन्न ब्रान्डमा लुब्रिकेन्ट उत्पादन गर्दै आएका छन्। कच्चा पदार्थ विदेशबाट ल्याएर विभिन्न उद्योगले लुब्रिकेन्ट तयार गरेर बिक्री गर्छन्।
यहाँ उत्पादन भएका लुब्रिकेन्टको गुणस्तर राम्रो भएकाले ढुक्क भएर प्रयोग गर्न उद्योगीको आग्रह छ। सरकारले उपयुक्त वातावरण सिर्जना गरे यसको उत्पादन विस्तार हुँदै जाने उद्योगी बताउँछन्। अटोमोबाइलको बजार हरेक वर्ष वृद्धि हुँदै गएकाले लुब्रिकेन्टको माग पनि बढ्दै जाँदा यसका उद्योगको अबसर बढेको छ। यहाँका उद्योगीले क्रुड आयल आयात गरेर लुब्रिकेन्ट, क्रिज बनाएर बिक्री गर्ने गरेका छन्।

स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्ने उद्योगीको माग छ। सरकारी नीतिले १० प्रतिशत महँगो भए पनि नेपाली उत्पादन किन्न सकिने व्यवस्थाअनुरुप व्यवहारमा नल्याउँदा कठिनाइ भएको गुनासो छ। सरकारले कच्चा पदार्थलाई तयारी वस्तुमा जस्तै भन्सार नलगाई केही सहुलियत दिने हो भने नेपाली लुब्रिकेन्टको बजार हिस्सा बढ्ने उद्योगीको भनाइ छ।

प्रकाशित: १८ भाद्र २०७६ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App