५ वैशाख २०८१ बुधबार
समाज

इन्द्रजात्राको तयारीमा जुट्दै २९ गुठी

काठमाडौं - भन्नै नपर्ला, ‘उपत्यकाका जात्रा पर्व गुठीकै भरमा चलेका छन्।’ गुठी र तीनका गुणयार सदस्यले गर्दा नेवार समुदायको मौलिक पर्व मलीन बन्ने अवस्थामा छैनन्। टोलटोल मिलेर नै सयौं वर्ष पुराना नाच र जात्रापर्व जोगाइरहेका छन्। वर्षैभर चाडपर्व धान्न सक्रिय रहने गुठी र गुठीयार हिजोआज इन्द्रजात्राको तयारीमा छन्। बसन्तपुर क्षेत्रका २९ वटा गुठीले इन्द्रजात्रामा सहकार्य गर्दै आएका छन्। अरुबेला भिन्नभिन्न भूमिका निभाउँदै आएका गुठिहरु एकत्रित भएर इन्द्रजात्रालाई सफल पार्ने धुनमा लागेका हुन्।

जात्रा २४ गतेदेखि बसन्तपुरबाट सुरु हुनेछ। इन्द्रजात्रा पर्व उपत्यकामा मनाइने चार्डमध्येको प्रमुख चाड पनि हो। यसमा अन्य जात्रा–पर्वमा भन्दा धेरै २९ वटा गुठीको सहकार्य रहन्छ। गुठीका सदस्यहरु नाचगान र बाजागाजाको तयारीमा छन्। आठ दिनसम्म मनाइने पर्वमा बसन्तपुर क्षेत्रको तल्लो टोल (कोनेया) र माथिल्लो टोल (ठनेया) मा मनाइन्छ। तल्लो टोलअन्र्तगत बसन्तपुरदेखि देब्रेपटटी रहेको टोलहरु पर्दछन्। माथिल्लो टोलभित्र दाहिने तर्फका सबैजसो टोल पर्छन्।
वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर व्यवस्थापनमा जुटिरहेका छन्।

२४ गते हनुमान ढोकास्थित तलेजुको मन्दिरको अगाडि रहेको कालभैरवको मन्दिरबाट बिहान लिंगो उठाएपछि जात्रा सुरु हुनेछ। जात्रा सुरु भएको चौथो दिन २७ गते कुमारी, गणेश र भैरवको रथयात्रा सुभारम्भ हुनेछ। हनुमानढोकास्थित कुमारी घरको अगाडिबाट सुरु भएको रथयात्रा तल्लोटोलमा पर्ने मरु, जैशीदेवल, लगनटोल, ब्रह्मटोल, वन्डे हुँदै परिक्रम गरिनेछ। त्यस्तै रथलाई फर्काएर पुनः जैशीदेवल हुँदै कोहिटी लगिनेछ। २७ गते नै रथ भिमसेनस्थान पुग्नेछ। बेलुकीपख हनुमानढोका कुमारी घर अगाडि ल्याएर रथ विसर्जन गरिने छ। सोही दिन दिउँसो जीवित कुमारीको रथ जात्रा हेर्न राष्ट्रपति विद्यादेवि भण्डारी पुग्नेछिन्। ३१ गते नानिचा जात्रा अर्थात् महिलाले रथ तानेपछि इन्द्रजात्रा सकिने छ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यका अनुसार ३ सय वर्ष अघिदेखि नै कुमारी, गणेश र भैरवको रथयात्रा हुँदै आएको छ। हाल जात्रा लगिने विभिन्न रुटका बाटो बनाउने, स्वयंसेवक जुटाउने, आर्थिक स्रोत व्यवस्थापन गर्ने, शृंगार जुटाउने, कलाकारलाई तयारी अवस्थामा राख्नेलगायत तयारी भइरहेको छ। जात्राका लागि भक्तपुरबाट ल्याइन्छ। लिंगोलाई पनि तयारी अवस्थामा राखिएको शाक्याको भनाइ छ। ‘यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, सबैभन्दा धेरै गुठीको सहकार्य पनि रहन्छन् र जात्रा अवधीभर धेरै ध्यान यसमै खिचिएको हुन्छ,’ शाक्यले भने, ‘जात्राका पहिलो दिन विभिन्न खाले नाच देखाउने चलन छ। यस दिन लाखे, दश अवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइन्छन्। यो क्रम जात्राभर पनि कायम रहन्छ।’

नाच सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा सुरु हुन्छ। रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत हो। करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ।

किंवदन्ती
उपत्यकाका अन्य जात्राजस्तै इन्द्रजात्राका पनि किंवदन्ती छन्। त्यसमध्ये सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए। उनी काठमाडौं उपत्यका आइपुगे। एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे।
बगँैचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए। छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन्। त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको धेरैको भनाइ छ। यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ।

जात्राको विशेषता
इन्द्रजात्रामा मुख्यतः लिंगो स्थापना गर्ने, नाचगान गर्ने र रथयात्रा गर्ने गरिन्छ। भाद्र शुक्लपक्ष ‘यलाथ्व द्वादशी’का दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको जात्रा ‘यंलागाः चौथी’मा इन्द्रध्वजपतनपछि सकिन्छ।

आठदिने जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिन्छ। यस अवधिमा अनुहारमा विभिन्न देवी देवताका ‘ख्वापाः’ अर्थात् मुखौटा लगाई उपत्यकाका नेवार समुदायका गुठी र समूहका सदस्य नाच्ने गर्छन्।

इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकोलाई काभ्रेको नालास्थित जंगलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिंगो बनाउने चलन छ। यसरी तयार पारिएको ‘योंसी’ अर्थात् लिंगोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने गरिन्छ।

सुरु भयो देवी नाच
तीजको भोलिपल्ट (भाद्र शुक्ल चतुर्थी)देखि हनुमानढोकास्थित ननिको डबलीमा देवी अर्थात दीप्याखं नाच सुरु भएको छ। यो नाच जारी इन्द्रजात्राको अन्तिम दिनसम्म रहनेछ। नाचको बेला देवी, देवता, दानव र मानव कंकालको मुखुण्डो लगाइन्छ। सात ताल, सात बाजा, सात सुर र सातै पात्रलगायत सातको संयोगयुक्त देवीनाचलाई इन्द्रजात्रा सुरु भएको संकेत गर्ने नाचका रुपमा लिइन्छ।

मंगलबारदेखि किलागलस्थित ननिको डबलीमा देखाउन सुरु गरिएको यो नाच जैसिदेवल, वसन्तपुर, इन्द्रचोकलगायत विभिन्न सातवटा डबलीमा देखाइने छ। इन्द्रजात्राका अवसरमा कुमारीको रथ सहरको दक्षिणतर्फ तान्दै ल्याउने क्रममा जैसिदेवल आइपुग्दा रथ रोकेरै कुमारीलाई देवीनाच देखाउने प्रचलन रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्यले जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०७६ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App