coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटकीय गन्तव्यमा बसन्तपुरको नाम छुट्यो

काठमाडौं - सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १०० स्थानमा काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको नाम छुटेको छ। सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं विकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा विश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तूप, स्वयम्भू स्तूप र पशुपतिनाथ मन्दिरको नाम समावेश छ। यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ।

नेपाल घुम्न आउने प्रायः पर्यटक बसन्तपुर दरबार क्षेत्र घुम्न नजाने बिरलै हुन्छन्। तर, सरकारले विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदालाई समेत छुट्टाएको देखिन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले मन्त्रीस्तरीय निर्णयको आधारमा गन्तव्यको टुंगो लगाएको बताए। ‘त्यो बेला प्राप्त माग र सूचनाको आधारमा गन्तव्य तय गरिएको थियो,’ उनले भने, ‘भुलवस छुट्न गएको हो। अब मन्त्रीस्तरीय निर्णयबाट फेरि समावेश गर्न सकिन्छ।’ प्रवक्ता उपाध्यायले प्रमुख पर्यटकीय गन्तव्य स्थापित गर्न, पूर्वाधार विकास कार्यक्रमअन्तर्गत, गन्तव्य स्थानमा सूचीकृत गर्न आह्वान गरिएको सार्वजनिक सूचनाबाट प्राप्त निवेदन र सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा गन्तव्य तय भएको थियो।

यस सूचीमा काठमाडौं जिल्लाका ७ वटा ठाउँलाई स्थापित तथा प्रवर्धन गरिनुपर्ने ठाउँको सूचीमा राखिएको छ। यीमध्ये ४ वटा महानगरपालिकाभित्रका स्थानहरु (बौद्ध, स्वयम्भू, पशुपति र नारायणहिटी संग्रहालय) बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठ, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल, चन्द्रागिरी नगरपालिकाको चन्द्रागिरी समावेश छन्। यस सूचीमा (चन्द्रागिरी) नगरपालिकामा पर्ने दहचोकलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखिएको छ।

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले मन्त्रालयको लापारबाहीकै कारणले बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा नराखिएको गुनासो गरे। ‘विश्व सम्पदा क्षेत्र बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा छुट्नु त्रुटी हो,’ उनले भने, ‘यस विषयमा हामी पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराउँछौं र सूचीकृत गराउन अनुरोध गर्छौं।’ प्रवक्ता डंगोलले बसन्तपुरको अवलोकनबिना पर्यटकले काठमाडौंको मौलिकता थाहा नपाउने दाबी गरे। यो विषयलाई महानगरको सम्पदा तथा पर्यटन समितिले गम्भीरताका साथ लिएको छ। समितिका संयोजक न्हुच्छेकाजी महर्जन बसन्तपुरबिना काठमाडौंको घुमाइ अधुरो हुने बताउँछन्। ‘मल्लाकालदेखि शाहकालसम्मका भौतिक सांस्कृतिक संरचना र स्थानीय परम्परागत अमूर्त सम्पदालाई एकै पटक अवलोकन गर्न पाइने, जीवित देवी कुमारी भएको बसन्तपुर महानगरको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो।’ उनले भने, ‘यो छुट्नै हुँदैन।’

प्रकाशित: १८ भाद्र २०७६ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App