७ वैशाख २०८१ शुक्रबार
समाज

मेयरसहित तीनविरुद्ध जाहेरी

खोटाङ – भुस्याहा कुकुर निर्ममतापूर्वक मारेको भन्दै नगरप्रमुखसहित तीनजनाविरुद्ध जाहेरी परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुस्याहा कुकुर नियन्त्रणका क्रममा चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै सो नगरपालिकाका दीपनारायण रिजाल, कुकुर नियन्त्रणमा खटिएका दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भई हाल प्रमुख रिजालकै घरमा बस्दै आएका श्रेष्ठ थरका एकजना कामदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुुरी परेको हो।

घरपालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्दयी व्यवहार गर्नुका साथै निर्ममतापूर्वक मारेको भन्दै मंगलबार खोटाङकै जन्तेढुंगा गाउँपालिकाका बाजिन्द्र विष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ, नेपाल भेटेरिनरी एसोसिएसनका डा. सीताराम यादवले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुन्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुर मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपक्षीसम्बन्धी कसुरबमोजिम अपराध भएकाले सोहीअनुुसार कानुनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ।

गत शनिबार बिहान दिक्तेलको त्रिवेणी चोकमा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो। कुकुर नियन्त्रणका क्रममा खटिएका व्यक्तिले टाउकामा दाउराले हिर्काएर कुकुर मारेको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा पक्ष÷विपक्षमा बहस चलिरहेको छ। सामाजिक सञ्जालमा पनि कुकुर मारेको विषयभन्दा पनि मार्ने क्रममा अपनाइएको शैलीका विषयमा बढी प्रश्न उठिरहेको छ। प्रमुख दीपनारायण रिजालको सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागी मर्न थालेका र मरेका कुकुरलाई व्यवस्थापन गर्ने क्रममा कुटपिट गरी मारिएको जानकारी आएको जनाएको छ।

सो घटना सार्वजनिक भएपछि स्नेहाज केयर र नेपाल भेटेरिनरी एसोसिएसनको टोली घटना स्थलमा सोमबार आइपुगेको थियो। सो टोलीले मंगलबार बिहान ६÷७ वटा कुकुरको उपचार गरेर फर्किएको बताइएको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App