८ वैशाख २०८१ शनिबार
समाज

कैलालीका आठ पालिका भाडाका घरमा

टीकापुर - कैलालीका १३ मध्ये आठवटा पालिका भाडाका घरमा सञ्चालन भइहेका छन्। जसमध्ये चार नगरपालिका र चार गाउँपालिका छन्। भाडाका घरमा कार्यालय सञ्चालन गर्दा निकै अप्ठेरो भइरहेको ती पालिकाले जनाएका छन्।

भाडाका घरमा कार्यालय सञ्चालन गर्नेमा लम्कीचुहा, घोडाघोडी, भजनी र गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरिया, जोशीपुर र मोहन्याल गाउँपालिका छन।

जिल्लाका १३ पालिकामध्ये लम्कीचुहा, घोडाघोडी, भजनी र गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरिया, जोशीपुर र मोहन्याल गाउँपालिकाले भाडाका घरमा कार्यालय सञ्चालन गरिरहेका छन।

लम्कीचुहा र भजनी नगरपालिकाको भवन निर्माणाधीन छ। लम्कीचुहा नगरपालिकाको निर्माणाधीन भवनको भुइँतला पूरा भैसकेको छ भने थप दुई तला निर्माणको क्रममा रहेको मेयरका सहयोगी विष्णु खनालले जानकारी दिए। उनले यसै वर्षभित्र नगरपालिका कार्यालय आफ्नै भवनमा सर्ने योजना रहेको बताए। ‘हामी यसै वर्षभित्र आफ्नै कार्यालयमा सर्ने तयारीमा छौं,’ उनले भने, ‘तेस्रो तलाको काम सम्पन्न नभए पनि सर्ने योजना छ।’

भजनी नगरपालिकाले समेत करिब १२ करोड रुपैयाँ लागतमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ। प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले भवन निर्माण हुन अझै दुई वर्ष लाग्ने जानकारी दिए। उनले भाडाको घरमा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीको कामकाजमा निकै समस्या भइरहेको बताए।

त्यस्तै बर्दगोरिया गाउँपालिकाले समेत करिब सवा ६ करोड रुपैयाँ लागतमा भवन निर्माण थालेको छ। १५ महिनाभित्र सम्पन्न गर्नेगरी काम भइरहेको गाउँपालिका अध्यक्ष रामबली चौधरीले जानकारी दिए। उनले २ वटा वडा कार्यालय भने आफ्नै भवनमा सञ्चालनमा रहेको बताए। ‘बाँकी वडा कार्यालयसमेत आफ्नै भवनमा सञ्चालन गर्ने गरी भवन निर्माण काम सुरु गरेका छौं,’ उनले भने, ‘जग्गा उपलब्ध भएका ठाउँमा पहिले भवन निर्माण गर्छौं।’

भवन नभएका मध्ये घोडाघोडी र गोदावरी नगरपालिकाले निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेका छन। जानकी, मोहन्याल र जोशीपुर गाउँपालिकाले भवन निर्माणका लागि अझै प्रक्रिया सुरु गरेका छैनन्। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बिष्टले गाउँपालिका भवन निर्माणका लागि स्थानीय उद्योगी कर्णप्रताप राणाले जग्गा निःशुल्क प्रदान गरेको बताए। उनका अनुसार राणाले १ बिघा १२ कठ्ठा १० धुर जग्गा दिएका छन्। सो जग्गा अपुग हुने भएपछि थप जग्गा अधिग्रहणका लागि गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको बिष्टले बताए। ‘जग्गा अपुग होला जस्तो भएर प्रक्रिया सुरु भएको छैन,’ उनले भने, ‘जग्गा उपलब्ध भएपछि भवन निर्माण प्रक्रियामा जान्छौं।’

पहाडी भूभाग समेटेर बनेको मोहन्याल गाउँपालिकाले पनि भवन निर्माणका लागि कुनै योजना नबनाएको प्रमुख प्रशासकीय अधिकृत गणेश ओझाले जानकारी दिए। उनले अहिलेसम्म भाडाको घरबाटै कामकाज भैरहेको बताए।

धनगढी उपमहानगरपालिका, टीकापुर र गौरीगंगा नगरपालिकाका साथै कैलारी र चुरे गाउँपालिकाको आफ्नै भवन छ। धनगढी सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका हो। जसका धेरैजसो वडा कार्यालयसमेत आफ्नै भवनमा छन्। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले हरेक वर्ष २ वटा वडा कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले अघिल्लो वर्ष वडा नं. १३ र १६ को भवन निर्माण भएको बताए। यसवर्ष समेत थप २ वटा वडा कार्यालयको भवन निर्माण गर्ने योजना छ। ‘जुन वडामा जग्गा उपलब्ध हुन्छ, त्यही वडामा कार्यालय भवन निर्माण हुन्छ,’ उनले भने, ‘वडा नं. ५ र ९ मा भवन निर्माण गर्ने गरी जग्गा उपलब्ध गराउने प्रयास भइरहेको छ।’

टीकापुर नगरपालिकाको केन्द्र मात्रै हैन ९ मध्ये ७ वटा वडा कार्यालयसमेत आफ्नै भवनमा सञ्चालन छन। मेयर तपेन्द्रबहादुर रावलका अनुसार ५ र ९ वडा कार्यालय मात्रै भाडाका घरमा सञ्चालन छन्। उनले चालु आवमा वडा २ र ९ का आफ्नै भवन निर्माण गरिने जानकारी दिए। वडा २ को भवन पुरानो भएकाले नयाँ भवन निर्माण गर्ने योजना रहेको मेयर रावलले बताए।

गौरीगंगा नगरपालिकाले साबिक चौमाला गाविसको कार्यालयलाई प्रयोग गरेको छ। यो भवनमा कार्यालय सञ्चालन गर्दा भाडा तिर्न नपरे पनि साँघुरो भएका कारण केही असहज भएको मेयर भीम देउवाले बताए। उनले नगरपालिकाको कामकाज सहज बनाउन केही घर भाडामा लिएको जानकारी दिए। नगरपालिकाले यसै वर्षभित्र अत्याधुनिक भवन निर्माणका लागि टेन्डर गर्ने योजना बनाएको छ। मेयर देउवाले ११ मध्ये ९ वटा वडा कार्यालय भने आफ्नै भवनबाट सञ्चालन भैरहेको बताए। उनले बाँकी ३ वटा वडा कार्यालय भवन पनि यसैवर्ष निर्माण गरिने बताए। ‘सेवाग्राहीको चाप वडा कार्यालयमा हुने भएकाले हामीले वडा कार्यालय व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘हाम्रो उद्देश्य पहिले जनतासँग जोडिएको कुरालाई सहज बनाउने हो।’

कैलारी गाउँपालिकाको कार्यालय साबिक हसुलीया गाविस भवनबाट सञ्चालन भइरहेको छ। सो भवनको माथिल्लो तला थपेर कामकाज सहज बनाएको अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए। उनले ९ वडा कार्यालयमध्ये २ वटामात्रै भाडाका घरमा रहेको बताए। उनले ती दुवै वडा कार्यालय समेत चालु आवभित्रै आफ्नै भवनमा सञ्चालन गर्ने गरी योजना भइरहेको बताए। ‘दुईवटा वडा कार्यालय भाडामा सञ्चालन भइरहेका छन,’ उनले भने, ‘ती पनि यसैवर्ष भित्र आफ्नै भवनमा सार्ने योजना छ।’
कैलालीको अर्को पहाडी भूभाग समेटेर बनेको चुरे गाउँपालिकाको समेत आफ्नै भवन छ। उसले साबिक सहजपुर गाविसको भवनलाई गाउँपालिका भवनका रुपमा प्रयोग गर्दै आएको छ। त्यहाँका अधिकजसो वडा कार्यालय समेत आफ्नै भवनमा सञ्चालनमा छन्। स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्षभन्दा बढी समय बितिसक्दा समेत आफ्नो भवन निर्माण गर्न नसकेको आरोप लाग्ने गरेको छ। स्थानीय सरकारका रुपमा रहेका पालिका भाडाका घरमा बस्नुलाई नागरिकले राम्रो मानेका छैनन्।

प्रकाशित: १८ भाद्र २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App