८ वैशाख २०८१ शनिबार
समाज

अमेरिकाले स्काइ ट्रक हस्तान्तरणको मिति सार्‍याे

काठमाडौ - अमेरिकाले नेपालाई दिने भनेको दुई स्काई ट्रक हस्तान्तरणको मिति फेरि सारेको छ। गत वर्ष पुस अन्तिम साता दुई दिने नेपाल भ्रमणमा आएका अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर फिलिप्स एस डेभिडसनले दुई स्काई ट्रक जुन महिनामा दिने बताए पनि अमेरिकाले पुनः मिति सारेर नोभेम्बर पु¥याएको छ।

डेभिडसनले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँगको भेटमा जुनमा स्काई ट्रक हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए। नोभेम्बरमा स्काई ट्रक हस्तान्तरणका लागि अमेरिकी अधिकारीहरु नेपाल आएर छलफल गरेर फर्किसकेको नेपाली सेनाले जनाएको छ। ‘नोभेम्बरमा दुई नयाँ स्काई ट्रक हस्तान्तरणको अन्तिम तयारीका लागि अमेरिकी अधिकारीहरु नेपाल आएर फर्किसकेका छन्,’ सैनिक स्रोतले भन्यो।

अमेरिकाले नेपाली सेनालाई दुई नयाँ र दुई चालु हालतमा रहेका स्काई ट्रक मर्मत गरेर दिने प्रतिबद्धता जनाएको थियो। नेपाली सेनाको आग्रहमा पछि थप एकसमेत गरी पाँचवटा स्काई ट्रक दिने प्रतिबद्धता अमेरिकी पक्षले गरेको थियो। थप तीन वटा स्काई ट्रक भने कहिले हस्तान्तरण गर्ने भन्ने अझै निश्चित भइसकेको छैन।

अमेरिकाले नेपाली सेनालाई द्वन्द्वकालमै स्काई ट्रक दिन प्रतिवद्धता जनाएको थियो। तर तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनपछि अमेरिकाले सैन्य सहयोगसँगै स्काइ ट्रक दिने कुरा पनि रोकिएको थियो। नेपाली सेनाका तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणा र राजेन्द्र क्षत्रीको अमेरिका भ्रमणपछि अमेरिकाले सैन्य सहयोगलाई पुन चालु गर्ने सहमतिअनुसार चारवटा स्काइ ट्रक दिन अमेरिका तयार भएको थियो।

हाल नेपाली सेनासँग दुईवटा स्काइ ट्रकसँगै १२ हेलिकप्टर रहेका छन्। त्यसमध्य सातवटा लाइट, एउटा मिडिएम तथा चारवटा हेवी हेलिकोप्टर रहेका छन्। सेनाले दीर्घकालीन हवाई योजना अन्तर्गत विं सं.२०८२ सम्ममा अहिले रहेका एयर क्राफ्टको संख्या वृद्धि गर्दै ३१ पु¥याउने लक्ष्य राखेको छ। दीर्घकालीन हवाई योजनाअन्तर्गत सेनाले मध्य एयर बेस, पश्चिम एयर बेसमा, पूर्वी एयर बेस र एभिएसन तालिम केन्द्रसमेत स्थापनाको लक्ष्य राखेको छ। उक्त योजनाअन्तर्गत सेनाले मध्य एयर बेसमा १३, पश्चिम एयर बेसमा ८, पूर्वी एयर बेसमा चार र एभिएसन तालिम केन्द्रमा दुई एयरक्राफ्ट राख्ने जनाएको छ।

पश्चिम एयर बेसको सुरुवात
यसैबीच नेपाली सेनाले दीर्घकालीन हवाई योजनाअन्तर्गत सुर्खेतस्थित नेपाली सेनाको पश्चिम एयर बेसको औपचारिक सुरुवात गरेको छ। यसको प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार शुभारम्भ गरे। काठमाडांैबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसार नेपाली सेनाले सुर्खेतस्थित पश्चिम एयर बेसको शुभारम्भ गरेको सेनाले जनाएको छ।

सो एयर बेसमा ह्यांगर निर्माण सुरु भइसकेको र हाल एमआई–१७ सहित दुई हेलिकोप्टर नियमित तैनाथ गरी हवाई सेवाको पहुँच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको सेनाले जनाएको छ। सेनाले १० वर्षभित्रमा हवाई साधन थप गर्दै दुई लाइन मर्मतसहितको सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।

पश्चिम एयर बेसले पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने सेनाको विश्वास रहेको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App