८ वैशाख २०८१ शनिबार
समाज

साेचेजति छैन तरकारीमा विषादी

काठमाडौं - तरकारीमा विषादी प्रयोगको हल्ला जति छ त्यत्तिकै मात्रामा भान्सामा विषादी पुग्छ भन्ने बुझ्नु कमजोरी हुन्छ। मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपिबिआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवशेष न्यून रहने देखाएको छ।

ल्याबको नमुना परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५/७६ मा तरकारीकाा तीन हजार एक सय २४ वटा नमुना परीक्षण गरिएकोमा दुईवटा र आव ०७३÷७४ मा एक हजार आठ सय १० नमुना परीक्षण गरिएकोमा तीनवटा खान अयोग्य देखिएको थियो। त्यस्तै चालु आवको दुई महिनामा गरिएका तीन सय ४१ वटा तरकारीका नमुना परीक्षणमा एउटामात्र खान अयोग्य देखिएको प्रतिवेदनमा उल्लेख छ।
ल्याबका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेका अनुसार ल्याबले अर्गानोफस्फेट र कार्बामेड गरी दुईवटा समूहअन्तर्गतका विषादी परीक्षण गर्छ। ‘यो परीक्षणले एसिडाइल कोलिन्स्ट्रेन इन्जाइमको रोकावट दर पत्ता लगाउँछ,’ उनले भने, ‘धेरैले यो प्रतिशतलाई विषादीको मात्रा भनेर बुझेको पाइन्छ। त्यो गलत हो।’

आव ०७५/७६ मा तीन हजार एक सय २४ वटा तरकारीका नमुना परीक्षण गरिएकोमा दुईवटा, आव ०७३÷७४ मा एक हजार आठ सय १० नमुना परीक्षण गरिएकोमा तीनवटा र चालु आवको दुई महिनामा गरिएका तीन सय ४१ वटा नमुना परीक्षणमा एउटामात्र खान अयोग्य देखिएको ल्याब परीक्षण प्रतिवेदनमा उल्लेख छ।

सामान्यतया इन्जाइमको रोकावट प्रतिशत ३५ प्रतिशतसम्म खानयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथिको तरकारी तथा फलफूल खान नमिल्ने घिमिरेले बताए। यसलाई ल्याबले क्रमशः हरियो, पहेंलो र रातो गरी तीन समूहमा छुट्ट्याउने गरेको छ। ‘हामीले निरीक्षणका क्रममा भेटिएका हरियो समूहलाई कुनै कारवाही गर्दैनौं तर, पहेंलो र रातो समूहको हकमा बजार विकास समितिलाई जानकारी गराउँछौं,’ घिमिरेले भने, ‘समितिले पहेंलो समूहलाई दुई सातासम्म निगरानीमा राखेर पुनः परीक्षणमार्फत रोकावट दर घटेको अवस्थामा बजार पठाउँछ। रातो समूहलाई तत्काल नष्ट गर्छ।’

ल्याबले पकेट क्षेत्र नदोहोरिने गरी दैनिक आठदेखि १० वटासम्म नमूना लिई परीक्षण गर्दै आएको ल्याबका नायब प्राविधिक सहायक जागेश्वर शर्माले बताए। स्टलमा फलफूल तथा तरकारी जम्मा भइसकेपछि बिक्रेतालाई पूर्वजानकारी नदिई नमूना लिएर परीक्षण गरिने शर्माले बताए। जुनसुकै बेला आफ्नो कृषि उपज परीक्षण हुने भयले बिक्रेता पनि सचेत भएकाले परीक्षण नतिजा धेरै सकारात्मक देखिएको उनको भनाइ छ। ल्याबले परीक्षण स्टलमा मात्र सीमित नभएर बेलाबेलामा उत्पादन पकेट क्षेत्रमा समेत पुगेर नमुना परीक्षण गर्छ।

बाली संरक्षण अधिकृत घिमिरेका अनुसार उपभोक्ता आफैंले सिधै विषादी भएनभएको पत्ता लगाउन सक्दैनन्। बेमौसमी तरकारीमा सामान्यतया विषादीको मात्रा बढी हुने अनुमान गरिन्छ। ‘हामीले गर्दै आएको परीक्षण सामान्य स्क्रिनिङ टेस्ट मात्र हो तर पनि यसले विषादीको अवस्था धेरै मात्रामा पहिचान गर्छ,’ उनले भने, ‘कालीमाटीले सीमित जनशक्ति र प्रविधिबीच पनि यो काम गरेको छ।’

नियमित परीक्षण नगरे पनि केन्द्रीय कृषि प्रयोगशाला, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायत निकायले पनि परीक्षण गर्छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार विभागअन्तर्गत वीरगन्ज, भैरहवा, धनगढी र नेपालगन्ज कार्यालयले पनि विषादी अवशेष द्रुत विश्लेषणमार्फत परीक्षण गर्दै आएका छन्। तर, विभागको केन्द्रमा हाइटेक जिसिएमएस प्रविधि रहे पनि आएका गुनासो र कसैले परीक्षणका लागि ल्याउने नमुना मात्र परीक्षण हुन्छ। प्रवक्ता महर्जनले भने, ‘हामीले खासगरी खाद्य उत्पादन परीक्षणमा ध्यान दिएका छौं। यसको नियमित जाँच केन्द्रीय कृषि प्रयोगशालाले गर्छ होला।’

प्रकाशित: १८ भाद्र २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App