७ वैशाख २०८१ शुक्रबार
राजनीति

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

काठमाडौ – सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ। राष्ट्रपति सी अक्टोबर ११ बाट सुरु हुने पाँचदिने भारत भ्रमणका बेला काठमाडौं आउने अपेक्षा गरिएको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन्। तर उच्च सरकारी स्रोतले भने राष्ट्रपति सीको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। राष्ट्रपति सी भ्रारत भ्रमण गर्नुपहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाडौं आउन सक्ने अपेक्षा गरिएको छ। उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सीको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको छ। नेपालको सुरक्षा अवस्थाबारे जानकारी लिन चिनियाँ सुरक्षा निकायको टोलीसमेत हालै नेपाल आएर फर्किसकेको छ।
सीको भ्रमणका बेला सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले समेत आवश्यक तयारी थालेका छन्। उनीहरुले सुरक्षा व्यवस्थालाई लिएर पटकपटक बैठक पनि गरेको स्रोतले जानकारी दिएको छ। तथापि सीको भ्रमणको मिति भने तय भइनसकेको स्रोत बताउँछ। सीको भ्रमणलाई लक्षित गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले यो महिनाको अन्त्यतिर नेपाल भ्रमण गर्दैछन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै गैरआवासिय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय सम्मेलनको मितिसमेत सरेको छ। अक्टोवर १३ देखि १६ सम्म हुने भनिएको सम्मेलन नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको भन्दै सारिएको एनआरएन स्रोतले जानकारी दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा चीनको राजकीय भ्रमणका बेला राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्। राष्ट्रपति सीले भारतसहित श्रीलंका, बंगलादेश, पाकिस्तानलगायतका दक्षिण एसियाली मुलुकको भ्रमण गरिसकेका छन्।

प्रकाशित: १८ भाद्र २०७६ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App