coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘इमरानले कश्मीर देखाएर विश्वलाई तर्साउन खोजे, आतंकवाद नत्यागेसम्म वार्ता हुन्न’

ब्रसेल्स– भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको टिप्पणी गरेका छन्। युरोप भ्रमणका क्रममा ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै जयशंकरले कश्मीर नितान्त भारतको आन्तरिक मामिला भएको र पछिल्लो समय चालिएको कदम आतंकवाद नियन्त्रण र त्यहाँको आर्थिक विकासका लागि भएको दाबी गरे। उनले आतंकवादलाई प्रश्रय दिने गतिविधि नत्यागेसम्म पाकिस्तानसँग वार्ता नहुने पनि स्पष्ट पारे। 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा लेखेको लेखबारे सोधिएको प्रश्नमा विदेशमन्त्री जयशंकरले कश्मीर मुद्दालाई लिएर पाकिस्तानले विश्वलाई आणविक युद्धको धम्की दिएर तर्साउन खोजेको जिकिर गरे। 

जयशंकरले आगामी दिनमा कश्मीरमा सुरक्षा प्रतिबन्ध सहज हुने विश्वास समेत दिलाए। पाकिस्तानले खुलेयाम आतंकवादको अभ्यास गर्ने गरेको र अर्काेतिर गैरजिम्मेवार विचार प्रस्तुत गर्नु गलत भएको उनको भनाई छ। 

पाकिस्तानले आतंकवादीलाई आर्थिक सहयोग र लडाकू समूहको भर्तीमा रोक नलगाएसम्म वार्ताको कुनै सम्भावना नरहेको जयशंकरले बताए। पाकिस्तानमा आतंकवाद अध्यारोमा मात्र होइन दिनदहाडै उज्यालोमा समेत चलिरहेको भन्दै उनको आरोप छ। 

कश्मीरमा सञ्चार र टेलिफोनमा लगाइएको प्रतिबन्ध आतंकवादी सम्पर्कको सक्रियता रोक्नको लागि र हिंसा गरिरहेकाहरूको एक अर्काबीचको सम्पर्क रोक्नका लागि भएको बताउँदै अवस्था सहज भएपछि सम्पूर्ण सेवा सूचारु हुने बताए। 

कश्मीरमा औषधि र अन्य सामग्रीको अभाव भएको भन्ने रिपोर्टहरु काल्पनिक रहेको उनको भनाई छ। जयशंकरले कम्शीर चाँडै सुधार हुने विश्वास व्यक्त गरे। ‘आउँदो दिनमा तपाईले क्रमिक रूपमा सहजता देख्नुहुनेछ’, उनले भने। कश्मीरमा खटिएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता पठाउने र प्रहरीलाई पनि पुरानै काममा फर्काउने तयारी भइरहेको उनले जानकारी दिए। 

कश्मीरको विशेष दर्जा हटाउने हिन्दू राष्ट्रवादी एजेन्डा नभएको मन्त्री जयशंकरले स्पष्ट पारे। पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय समकक्षी नरेन्द्र मोदीमाथि हिन्दू सर्वोच्चवादी एजेन्डा अपनाएको आरोप लगाउँदै आएका छन्।

मन्त्री जयशंकरले कश्मीरको विशेष स्थिति खारेज भएपछि नयाँ लगानी परिदृश्य ल्याइने र जुन यसको आर्थिक लाभमा हुने बताए। उनले कश्मीरको कमजोर आर्थिक विकास सीमापार आतंककारीहरूको चपेटामा परेको समेत जिकिर गरे।

जम्मू कश्मीरको अवस्था असामान्य भएको भन्दै नयाँदिल्लीले अन्य कुनै पनि राज्यको स्वायत्त अधिकार नखोस्ने स्पष्ट पारे।
ब्रसेल्स भ्रमणका क्रममा जयशंकरले युरोपेली युनियनका पदाधिकारीसँग भेट गरी कश्मीरबारे जानकारी गराएका थिए। 

प्रकाशित: १७ भाद्र २०७६ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App