८ वैशाख २०८१ शनिबार
राजनीति

स्वास्थ्यमन्त्रीले भने- छिटो रिजल्ट चाहियो

काठमाडौं- 'तीन महिनाअघिको जस्तो अपरिपक्व स्वास्थ्यमन्त्री हैन म। मैले स्वास्थ्य मन्त्रालयबारे बुझ्नुपर्ने बुझिसकें र सिक्नुपर्ने सिकिसकें,  घमण्ड गरेको हैन। अब मलाई रिजल्ट चाहिएको छ', पाँचै क्षेत्रका प्रमुख, विभागका महानिर्देशक र ठूला अस्पताल तथा महाशाखाका निर्देशकले भरिएको सभा हलमा स्वास्थ्यमन्त्री गगन थापाले भने, 'अब मैले रिजल्टका लागि गति र तरिका फेर्नुपर्छ, मलाई परिणाम दिनैपर्ने बाध्यता छ।'

स्वास्थ्य मन्त्रालयका गतिविधिको समीक्षा गर्न बुधबार सुरु भएको तीनदिने कार्यक्रममा मन्त्री थापा मन्त्रालयको वार्षिक उपलब्धिमा भन्दा आफ्नो तीनमहिने कार्यकालको समीक्षामा केन्द्रित रहे। थापा जनताले अलि बढी नै अपेक्षा गरिएका मन्त्रीमा पर्छन्। त्यही भएर होला, उनले भने, 'अब मेरो हेर्ने बुझ्ने समय सकिएको छ र परिणाम चाहिएको छ।'

'कुख्यात वा प्रख्यात जे भन्नुस्, म यथास्थितिबाट बाहिर निस्किन खोज्दैछु', मन्त्री थापाले थपे, 'यसका लागि मैले पार्टी र अन्य सिस्टमकै परम्परागत प्रोटोकल समेत उल्लंघन गरेको आरोप खेपिरहेको छु।' यस्ता कुराको प्रवाह नगरी 'कम्फर्ट जोन' बाट बाहिर निस्किएर काम गर्न खोजे पनि आफूले सोही गतिमा कर्मचारीबाट सहयोग नपाएको उनको गुनासो थियो। 'तर तपाईंहरू त्यही कम्फर्ट जोनमै बसेर काम गर्न खोज्नुहुन्छ,' उनले भने।

उनले जतिसुकै नयाँ नारा दिए पनि परिणाम नदिएसम्म नहुने भन्दै परिणाम निस्किनेगरी काम गर्नुपर्ने बताए। 'विभागका महानिर्देशकले चुनौती यो यो हो भनेर प्रस्तुति गर्नुहुन्छ,' उनले भने, 'अब भन्नुस् त्यसको समाधान कसले दिने हो?'  स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेसँगै समस्या समाधानका लागि आफूले गर्नुपर्ने कामबारे सुझाव दिन भनेको समेत उनले स्मरण गरे। 'तपाईंहरूले रिजल्टका लागि यो गरिदिनुपर्‍यो भनी मलाई भन्नुहोला र म फाइल बोकेर चहारुँला भन्ने ठानेको थिएँ तर त्यो पाइनँ,' मन्त्री थापाले भने, 'बिजिनेस एजयुजल (सधैंको जस्तै कार्यव्यापार)।'

उनले नियमअनुसार आफूले पाउने सुविधा बाँढेर थुपै्रलाई स्वयंसेवकका रुपमा सघाइरहेको बताए। 'म र स्वयमसेवकहरू राति १०/११ बजेसम्म बसेर काम गर्छौं,' उनले भने, 'त्यो तहको सेन्स अफ अर्जेन्सी (तत्परता) तपाईंहरूबाट पाइनँ।' उनले मिठो बोल्नेभन्दा पनि काम गर्ने र रिजल्ट दिन आफूले देखाएजस्तै 'सेन्स अफ अर्जेन्सी' देखाउने मान्छे मात्रै आफ्नो हुने बताए।

उनले मन्त्रालयको प्रशासनिक संयन्त्रमा नेतृत्वलाई सहयोग गर्ने जोस नपाएको टिप्पणी गरे। 'कुनै रिक्स नै लिन नचाहने, सिस्टम ठीक छैन भनेर दोस लगाउने तर केही नगर्ने,' उनले भने।

थापाले जिम्मेवारी पाएका व्यक्तिले समेत अर्काले गरिदिनुपर्ने भनेर जिम्मेवारी पन्छाएर बस्ने प्रवृत्ति रहेको औंल्याए। 'पत्रिकामा छापिने सिटामोल पनि छैन भन्ने समाचारमा कुनै जिल्लाको प्रमुखले कोट दिएको हुन्छ,' उनले भने, 'क्षेत्र, जिल्ला, केन्द्रमा पहल गरेर औषधि झिकाउने दायित्व उसको हैन?'

उनले समीक्षा गर्दा परम्परागतभन्दा भिन्न, कहाँ कसले के गरिदिनुपर्छ भनेर यकिन खाका दिन समेत निर्देशन दिए। आफूले गरेका निर्णय कार्यान्वयनमा समेत बहानाबाजी भइरहेको उनको भनाइ थियो। '१० देखि ५ बजेसम्म स्वास्थ्य चौकी खोल्नुपर्छ, त्यो नियमको कुरा हो, त्यो कार्यान्वयन गर्न पनि यो छैन त्यो छैन, भनिरहेका छौं', उनले भने, 'बिरामी आउँदैन भने घाम तापेर बस्नुस् या आकाश हेरेर बस्नुस् तर स्वास्थ्य संस्था तोकिएको समयसम्म खुल्नुपर्छ।'

निजी अस्पतालहरूले १० प्रतिशत सहुलियत दिनुपर्ने नियम पालना गर्नुस भन्दा र दर्ता नभएका स्वास्थ्य संस्थालाई दर्ता हुनुस् भन्दा आफूलाई निजी विरोधीको आरोप लगाइएको थापाले बताए।

थापाले नयाँ संविधान जारी भएको एक वर्ष बितिसक्दा समेत जनताले परिवर्तन महसुस गर्न नपाएको भन्दै अक्षरमा लेखिएको कुरा जीवन्त बनाउने दायित्व आफूहरूको भएको बताए। स्वास्थ्य प्रणालीले फरक ढंगले काम नगर्ने हो भने परिवर्तन महसुस हुन नसक्ने उनको भनाइ थियो।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले समीक्षाको तरिका बदलिन नसकेको बताए। उनले गुनासा पुरानै भएको भन्दै कार्यशैलीमा सुधार हुनुपर्ने औंल्याए। 'महŒवपूर्ण समस्या एकातिर छ, हामी अन्यमा केन्द्रित छौं,' उनले भने, 'डेंगी, चिकेन गुनिया अहिलेसम्म समस्या भइरहेको छ,' उनले भने, 'हामी एम्बुलेन्सको ड्राइभरको दरबन्दी भएर भनेर कराइरहेका छौं,' उनले भने।

कार्यक्रममा पाँचैं क्षेत्रीय प्रमुखहरूले देशभर कार्यक्रम सञ्चालनमा रहेका चुनौती र समस्याबारे प्रस्तुति राखेका थिए।

प्रकाशित: २ मंसिर २०७३ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App