४ वैशाख २०८१ मंगलबार
समाज

अङ्ग्रेजी बोर्डिङ स्कूलमा संस्कृत पठनपाठन

धनगढी- ‘बोर्डिङ स्कूलहरुबीच अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला यहाँको एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ।     

धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो। संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताए।     

विद्यालयको संस्कृत विषयका शिक्षक खगेन्द्र अवस्थीले संस्कृतलाई देव भाषाका रुपमा लिइने भएकोले यसको ज्ञान प्राप्तिबाट नै मानवको व्यवहार, रस र ज्ञान प्राप्ति हुने बताए।     
संस्कृतको महत्व दर्शाउँदै उनले भने—     
 ‘‘भाषायां जननी यस्स,संस्कृतम् नाम केवलम्।     
 जन्म मृत्यु यथाकर्म,पवित्रम् सर्वसाधनम् ।।‘‘     

अर्थात् संस्कृत भाषा सबै भाषाको जननी र पहिलो भाषा हो, संस्कृत भाषाले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई पवित्र पार्ने काम गर्दछ। अभिभावक हीरा भण्डारीले संस्कृत भाषा सबै भाषाको जननी भएकोले विद्यालयले थालेको संस्कृत पठनपाठनका काम सरहानीय भएको प्रतिक्रिया दिए।     

विद्यालयको ५, ६ र ७ कक्षामा गरी झण्डै एक सय छात्रछात्राले संस्कृत विषय अध्ययन गर्न थालेका छन्। अभिभावक र समाजबाट सकारात्मक प्रतिक्रिया आएमा आगामी दिनमा माथिल्लो कक्षामासमेत संस्कृत विषयको अध्ययन शुरु गर्ने योजना रहेको विद्यालयका संयोजक तपराज विनाडीले बताए।     

संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालय, आश्रम र पीठहरुमा मात्र हुने गरेको छ। विद्यार्थीलाई संस्कृत विषयको पुस्तक निःशुल्क उपलब्ध गराउन पहल गरिएको संस्थापक अध्यक्ष शर्माले बताए।रासस

प्रकाशित: १७ भाद्र २०७६ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App