coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

केसीले डिनलाई भने- 'खुरुक्क राजीनामा देऊ, सँगै लडौं'

चार दिनदेखि टिचिङ अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई बुधबार भेट्दै आइओएमका नवनियुक्त डिन केपी सिंह।

काठमाडौं- 'जे हुनु भइहाल्यो आइहालेँ, अब तीन महिना काम गर्न देऊ।'

– 'पहिले मेरो कुरा सुन, तिमीलाई फसाएर डिन बनाए, तिमीले बुझेनौ, माफियाहरुले घुमाइरहेका छन्, खुरुक्क राजीनामा दिएर आऊ, सँगै लडौं'।

– 'तिमीले स्विकार्छौं भन्ने आशा छ, वरिष्ठ त म पनि हुँ नि'

– 'तिमी वरिष्ठ होइनौं, नियुक्तिभन्दा प्राध्यापक बन्दाको मिति गणनाले वरिष्ठता हेर्नुपर्छ।'

वरिष्ठता आधारमा डिन नियुक्तिलगायत माग राखेर चार दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केपी सिंहबीच बुधबार भएको कुराकानीको अंश हो यो।

नवौं अनशनसम्म निरन्तर आफू र आफ्नो अभियानका अभिन्न सहयात्री रहेका डा. केपी सिंह अकस्मात प्रक्रियाविपरीत डिन नियुक्त भएपछि केसीको मन साह्रै अमिलियो। आफ्नै परम मित्रले धोका दिएको भन्दा पनि उनलाई फसाइएको निचोडमा थिए डा. केसी।

अनशनको चौथो दिन डा. केसीलाई भेट्न अनशनस्थल पुगेका सिंहलाई डा. केसीले सुधार अभियानमा बाधक नबन्न आग्रह गर्दा डा. सिंहको अनुहार भावुक देखिन्थ्यो।

डा. केसीको मुटुको चालमा गडबडी (पाल्पिटेसन) सुरु भएको थाहा पाएपछि सिंहले मंगलबारै भेट्न आउने प्रस्ताव राखेका थिए।  डा. केसीले भने स्वास्थ्यका कारण कुरा गर्न नसक्ने भन्दै इन्कार गरेका थिए।

मंगलबार मध्यरातसम्म विभिन्न सहयोगीमार्फत भेट्ने इच्छा राखिरहेपछि डा. केसीले नाइँनास्ति गरिरहन सकेनन्। बुधबार दिउँसो भेट दिन राजी भए।

डा. सिंह बुधबार अपराह्न अनशनस्थल पुगे। मित्रसँग हात मिलाए र स्वास्थ्य अवस्थाबारे सोधीखोजी गरे।

त्यसपछि यी पुराना सहयात्रीबीच भलाकुसारी सुरु भयो।

सिंहले स्वास्थ्य बिग्रिएको थाहा पाएर आफूले मेडिकल टिम बनाइदिएको जानकारी केसीलाई गराए। डा. केसीले पनि राजीनामाका लागि ढिलाइ गर्दा दुवैबीचको सम्बन्धसमेत नराम्रो हुने र परिस्थिति बिग्रने भन्दै डिन सिंहलाई सम्झाएका थिए।

'तिमीलाई पार्टीहरुले पनि यो गर्, ऊ गर् भनेर दबाब दिन्छन्, मेरो पनि दबाब हुन्छ, अनि के गर्छौ भन त!' डा. केसीले यति भन्दा डा. सिंह टोलाएर बसे, कुनै जवाफ दिएनन्।

डा. केसीले आफूले सिंहलाई नजिकबाट चिनेको र त्यस्तो मान्छे नभएको भन्दै प्रश्न गरेका थिए, 'तिमीलाई अचानक केले लोभ पलायो? तिमी त त्यस्तो मान्छे होइनौ, अब त तिमीले उनीहरुले भनेकै काम गर्नुपर्छ, त्यो कामले झन् परिस्थिति जटिल बनाउँदै लाग्छ, अनि के गर्छौ?'

यसमा पनि डा. सिंह खासै बोलेनन्। आफूलाई पदको लोभ नभएको भन्दै उनी केही बेर मौन बसे। 'सरले यस्तो सोध्दा डिनज्यू 'अँ अँ मात्रै गरेर बस्नुभयो,' दुवैको भेटका क्रममा उपस्थित डा. केसीका सहयोगीले नागरिकसँग भने।

डा. केसीले असल मित्र भएकैले डिनविरुद्ध आफू अहिलेसम्म केही नबोलेको भन्दै सुधार प्रयासमा बाधक बनिरहे बाध्य भएर बोल्नुपर्ने बताएका थिए। 'जति ढिलो भयो, उति तिमी र मलाई पनि गाह्रो हुन्छ, मैले पनि तिमीविरुद्ध बोल्नुपर्ने हुन्छ, 'डा. केसीले सुझाए, 'म अहिले नरम नै कुरा गरिरहेको छु, बरु थाहै नदिई फुत्तै छाडिदिइहाल, तिमीलाई के नपुग्दो छ र?'

केहीबेर उनीहरुले डिन बन्नुअघिको सन्दर्भमा छलफल गर्दै एकअर्कालाई सम्झाएका थिए। डा. केसीले आफूले सुरुदेखि नै लोभमा नफस्न आग्रह गरिरहेको समेत स्मरण गराएका थिए। 'तिमीले सुरुमा शनिबारै चार बजेबाट बस्ने भन्यौ, पछि फेरि भोलिसम्मलाई सारेँ भन्यौ,' सिंहले भने। केसीले आफूलाई स्विकार्छन् भन्ने आशा लागेरै जिम्मेवारी लिएको आशय व्यक्त गरेका थिए।

सिंहले आफू पनि वरिष्ठ भएको दाबी दोहोर्‍याउँदा केसीले तत्काल उनलाई रोकेर भने, 'तिमी वरिष्ठ होइनौ,' उनले उच्च पद पाउने बेला नियुक्तिभन्दा प्राध्यापक भएको गणना हुने र अहिलेसम्म त्यही हुँदै आएको भन्दै सम्झाएका थिए। 'फेरि तीन महिना मात्र बाँकी छ, अनि फेरि मैले लड्नु? फेरि चलखेल गर्ने ठाउँ दिन्छौ?' केसीले सिंहलाई प्रश्न गरेका थिए।

सिंहले डिन भएपछि यो गर्छु ऊ गर्छु भनेर कुनै कमिटमेन्ट गरेर नआएको भन्दै तीन महिना काम गर्न सहयोगका लागि आग्रह गरेका थिए। 'मैले तिमी डिन भएर आएको भनेर छाड्न मिल्दैन,' डा. केसीले भने, 'तिमी थाहा पाएर पनि नबुझेजस्तो नगर'। डा. केसीले सुरु अनशनदेखि नै नियुक्तिमा हुने दलीय भागबन्डाविरुद्ध लडिरहेको भन्दै अहिले वरिष्ठता मिचिँदा मौन बस्न नसक्ने बताएका थिए। 'यो (अनशन) कहिल्यै पनि व्यक्तिविरुद्ध होइन, विधि बसाल्न हो,' डा. केसीले भने।

वषर्ौंदेखि मित्रवत सम्बन्धमा रहेका डा. सिंहलाई त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता मिच्दै डिन बनाएपछि डा. केसीले दसौं अनशन थालेका हुन्। यसबीच सिंहले पटकपटक आफूले जिम्मेवारी छाडे झन् वरिष्ठता मिचेर नियुक्ति हुन सक्ने बताएका थिए।

डा. सिंहले डा. केसीका सबै माग सम्बोधन गर्ने विषयसमेत आफ्नो काबुमा नरहेको बताएका थिए। 'डिन नियुक्ति र शुल्क कार्यान्वयन माग यहाँबाट सम्बोधन हुन सक्छ,' सिंहले केसीसँग भने, 'अन्य माग त मैले केही गर्न सक्दिनँ।'

करिब एक घन्टाको भलाकुसारीपछि कुनै वचन नदिई बिदा मागेर डा. सिंह हिँडेका थिए।

आवासीय चिकित्सकको समर्थन

चिकित्सा शिक्षा सुधारका लागि दसौं अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको मागप्रति शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकले समर्थन जनाएका छन्। उनीहरुले मंगलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्ने भन्दै सांकेंतिक विरोध एवं दबाबका कार्यक्रम सुरु गरेका थिए। नवनियुक्त डिन डा. केपी सिंहलाई मंगलबारै भेटेर जथाभाबी सम्बन्धन नदिन र भागबन्डाका आधारमा पदाधिकारी बनाएर परिस्थिति जटिल बनाउन चेतावनी दिएका थिए।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन अध्यक्ष डा. लिजन महर्जन र सचिव सचित शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै मेडिकल शिक्षा एवं स्वास्थ्य सेवा सुधारका लागि डा. केसीले उठाएका मागमा ऐक्यबद्धता जनाएका हुन्। 'यो सुधार अभियानमा हामी विगतमा झैं यसपटक पनि डा. केसीको साथमा छौं,' विज्ञप्तिमा उल्लेख छ, 'यसर्थ उक्त सत्याग्रहलाई सार्थक बिन्दुमा पुर्‍याउन आग्रह गछौं।'

आवासीय चिकित्सकले माग सम्बोधन र समाधानमा ढिलाइ भए कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।

प्रकाशित: २ मंसिर २०७३ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App