coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेबिजलाई सामान्य सम्झँदा मृत्यु

इटहरी- कुकुरले सुनसरी इनरुवा वडा नं. ५ की ४९ वर्षीया थुनीदेवी चौधरीलाई चार महिनाअघि टोक्यो। उनी कृषि विकास बैंकको इनरुवा शाखामा किस्ता बुझाएर फर्कंदा कुकुरको एउटा समूहलाई छेउमै मासु काट्नेले ढुंगाले हान्दै खेदाए। थुनीदेवीले कुदाइरहेको साइकलमा भाग्दै आएको एउटा कुकुर ठोकिन पुग्यो अनि टोक्यो।

कुकुरले टेकेपछि रेबिजविरुद्धको सुई तत्काल लगाउन उनका श्रीमान् कैलाश चौधरीले भने पनि अटेर गरिन्। सुई लगाउनको सट्टा उनी धामी झाँक्रीकोमा गइन्। उनमा असार १८ गते रेबिजको लक्ष्यण देखा प¥यो। उनलाई उपचार गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरियो। उपचार गर्न भर्ना गरेको दुई दिनमैे उनको दुःखद् निधन भयो । कुकुरको टोकाइलाई सामान्य सम्झेर उपचारमा लापरबाही गरेकै कारण उनको मृत्यु हुन पुगेको हो।

इनरुवा नगरपालिका वडा नं. ५ का वडा सदस्यसमेत रहेका उनका श्रीमान् कैलाशले भने, ‘श्रीमतीलाई सुई लगाउनुपर्छ भनेर सल्लाह दिएपछि लगाइन् होला भन्ने ठानें पछि त लगाएकै रहेनछ, जसले गर्दा केही समयपछि लक्ष्यण देखा परेर दुःखद् मृत्यु हुन पुग्यो।’ कुकुरसँगै अन्य जनावरले टोक्दा रेबिजविरुद्धको भ्याक्सिन लगानुपर्छ। तर, थुनीदेवीलाई श्रीमान् कैलाशले सम्झाउँदा सम्झाउँदै पनि अटेर गरिन्, जसले गर्दा उनले ज्यान नै गुमाउनु प¥यो।

जनावरले टोकेको व्यक्तिलाई रेबिजको संक्रमण हुनबाट बचाउन एन्टी रेबिज भ्याक्सिन लगाइन्छ। जनावरले टोकेपछि समयमै रेबिजविरुद्धको भ्याक्सिन लगाएमा रोगबाट बच्न सकिन्छ। तर, धेरैले अज्ञानताका कारण लापरबाही गर्ने गरेका छन्।

सरकारले जनावरको टोकाइबाट रेबिज रोग लाग्न नदिन रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क व्यवस्था गरेको छ। कुकुरको टोकाइले गर्दा गढी गाउँपालिका वडा नं. २ को बस्नेत गाई फर्ममा पनि दुई साताअघि एउटा गाई म¥यो। अरु गाईमा रोग सर्न नदिनका लागि तत्काल भ्याक्सिन लगाइयो। जसले गर्दा थप क्षति हुनबाट जोगियो। इनरुवा वडा नं. ४ मै पनि केही दिनअघि कुकुरको टोकाइबाट एउटा गाईको बाछो म¥यो।

 सुनसरीमा शृंखलाबद्ध रुपमा रेबिजले मानिस र चौपाय मृत्यु हुने तथा थुप्रै टोकाइका सिकार भएका छन्। गढी गाउँपालिकाका पशु प्राविधिक राम कार्कीका अनुसार शंकास्पद बौलाहा जनावरको टोकाइबाट पनि थुप्रै मानिस र जनावर प्रभावित हुने गरेका छन्।

रेबिज रोग लाग्ने समय केही दिनदेखि, केही महिना हुँदै एक वर्षसम्म पनि हुन सक्छ । जसले गर्दा यसको असर तत्काल नदेखिएर केही समयपछि पनि देखा पर्छ। ‘जनावर त्यसमाथि पनि कुकुरको टोकाइमा लापरबाही गर्नाले गर्दा फाट्टफुट्ट मान्छे मर्ने र अन्य जनावर बग्रेल्ती मर्ने क्रम बढ्दो छ,’ इनरुवा क्षेत्रमा सक्रिय पशु प्राविधिक कृष्ण पोदारले नागरिकसँग टेलिफोनमा भने, ‘जिल्लामा सबैभन्दा बढी कुकुरको टोकाइबाट पीडित हुनुले बेलैमा भ्याक्सिन लगाउनुपर्छ।’ रेबिज शत प्रतिशत प्राणघातक रोग हो। त्यस कारणले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ।

सुनसरीमा आर्थिक वर्ष २०७५–७६ को अवधिमा कुकुर, बाँदर र बिरालोले टोकेर जिल्ला अस्पताल इनरुवामा मात्र एक हजार ३२९ जनाले उपचार गरेका छन्। जिल्ला अस्पतालबाट अन्य स्वास्थ्य संस्थामा पनि बग्रेल्तीले उपचार गरेका छन्, तिनीहरूको यकिन रकेर्ड छैन ।

रेकर्ड अनुसार उपचार गर्न आएकामध्ये सबैभन्दा बढी कुकुरको टोकेका एक हजार ८६ जनाले उपचार सेवा पाएका छन्। ‘रेबिज लागेको कुकुरसँगै अन्य जनावरले टोक्दा समयमै आएर भ्याक्सिन लगाएकालाई समस्या नभएको तर लापरबाही गर्नेको मात्र मृत्यु हुने सम्भावना हुन्छ,’ जिल्ला अस्पताल इनरुवाका मेडिकल रेकर्ड अफिसर लोकेन्द्र आचार्यले भने।

मानिसबाहेक जिल्लाभरका घरपालुवा जनावरलाई पनि कुकुरले टोक्ने क्रम बढ्दो छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीको रेकर्ड अनुसार पछिल्लो असार र साउन महिनामा मात्र रेबिजविरुद्धको ५५२ वटा भ्याक्सिन लगाइएको छ। यो दुई महिनाको बीचमा पशुसेवा केन्द्रसँग भ्याक्सिन अभाव हुँदा जनावर पाल्ने व्यक्तिलाई पनि भ्याक्सिन खरिद गर्न लगाएकाले गर्दा जिल्लाभर छ सयभन्दा बढी नै कुकुरले टोकेका जनावरलाई लगाइएको पशु चिकित्सक डाक्टर मनोज महतोले जनाए।

उनका अनुसार विशेषगरी बढी मात्रमा छाडा कुकुरको ग्याङ–ग्याङ बनाएर मानिससँगै गाईवस्तु र बाख्रालाई टोक्ने गरेको पाइएको छ। जनावर सबैको रेकर्ड पशुसेवा विज्ञ केन्द्रमा नआउँदा यकिन रेकर्ड नभएको महतोले सुनाए। ‘अब रेकर्ड स्थानीय तहमै राख्ने गरिएको छ, जसले गर्दा सबैको यकिन रेकर्ड लिन भने समय लाग्छ,’ उनले सुनाए। जिल्लाभर कुकुरको संख्या २३ हजार २ सय छ।

सुनसरीमा कोसीटप्पु वन्यजन्तु आरक्ष नजिकै रहेको र धेरै घरपालुवा जनावर कोसीटप्पुमा चर्ने भएकोले जंगली तथा घरपालुवा जनावरबीच सम्पर्क हुनाले गर्दा पनि बढी रेबिजको लक्षण देखा पर्ने गरेको पशुसेवा विज्ञ केन्द्र इनरुवाले जनायो।

रेबिज शतप्रतिशत रोक्थाम गर्न सकिने भएकाले गर्दा जनचेतना फैलाउनु आवश्यक छ। ‘अब स्थानीय सरकारले पनि कुकुर नियन्त्रण गर्ने अनि रेबिजविरुद्ध सचेतना अभियान गर्नु आवश्यक छ,’ डाक्टर महतोले भने। अहिलेसम्म जिल्लामा छाडा कुकुरको नियन्त्रणका लागि कुनै उपाय नअपनाएकाले गर्दा पनि धेरै जनावर प्रभावित भएको पशुसेवा विज्ञ केन्द्रको रिपोर्टमा समेटिएको छ।

रेबिजले संक्रमित जनावरको ¥यालले अर्को जनावर वा मानिसमा सर्छ। सामान्य रुपमा यो रोग रेबिज संक्रमित जनावरले टोक्दा, चिथोर्दा वा काटिएको घाउ भएको छालालाई चाट्दा हुन्छ।

रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ। यसको अलाबा अन्य जनावरहरू जस्तै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरूको टोकाइबाट पनि रोग सर्ने गर्छ। तर, बाँदर र मुसाहरूबाट विरलै सर्ने सर्छ।

प्रकाशित: १७ भाद्र २०७६ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App