coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाइप लाइन भदौ २४ मा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी।फाइल तस्बिरः नागरिक

काठमाडौं – दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।

निगमले अहिलेसम्म इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आयात गर्ने पेट्रोलियम पदार्थ ट्यांकरमा ल्याउँछ।

त्यस दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि पाइपबाट नियमित डिजेल ल्याउने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट एकसाथ पाइप लाइन उद्घाटन गर्ने कार्यक्रम छ। ‘दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने समय निर्धारण भएको छ,’ गोइतले भने, ‘भदौ २४ गतेबाट पाइपबाट डिजेल आयात हुन्छ।’

अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सकिएपछि गत महिना डिजेल ल्याएर परीक्षण गरिएको थियो। उद्घाटनपछि आइओसीबाट दैनिक ३५ लाख लिटर डिजेल पाइपबाट ल्याउने निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। ‘दैनिक तीनदेखि ३५ सय किलोलिटर डिजेल पाइपबाट ल्याउने तयारी छ,’ उनले भने, ‘त्यसका लागि सम्पूर्ण तयारी पूरा गरेका छौं।’

भारतको मोतिहारीदेखि पाइपबाट आएको डिजेल राख्न निगमले बाराको अमलेखगन्जमा भण्डारण स्थल बनाएको छ।

पाइपको क्षमताअनुसार ल्याउँदा दैनिक ६ हजार किलोलिटर आउने भए पनि अहिले ३५ सय किलोलिटर मात्र ल्याउने निगमले जनाएको छ।

‘सुरुमा प्रतिघन्टा एक सय ९१ किलोलिटर ल्याउन सकिन्छ,’ प्रवक्ता गोइतले भने, ‘प्रतिघन्टा एक सय ९१ किलोलिटर ल्याउँदा २४ घन्टामा ४५ सय ८४ किलोलिटर ल्याउन सकिने भए पनि अहिले कम ल्याउने योजना छ।’ एक किलोािलटरमा हजार लिटर हुन्छ।

मोतिहारीदेखि अमलेखगन्जसम्म ६८.९ किलोमिटर छ। आइओसीको डिपोबाट पठाएको डिजेल निगम अमलेखगन्ज डिपोको ट्यांकमा झर्छ। अहिले पटनाबाट मोतिहारी हुँदै आएको पाइप भएकाले प्रतिघन्टा एक सय ९१ किलोलिटर ल्याउन सकिन्छ। मोतिहारीमै डिपो निर्माण भएपछि प्रतिघन्टा चार सय ५० देखि पाँच सय किलोलिटर आउने निगमले जनाएको छ।

पेट्रोल, मट्टीतेल, हवाई इन्धन भने ट्यांकरबाटै ढुवानी हुन्छ। पाइपबाट डिजेल, पेट्रोल, हवाई इन्धन ल्याउन सकिने भए पनि अहिले डिजेल मात्र ल्याउने योजना छ।

रक्सौल हुँदै आउने इन्धन एक हजार किलोलिटर काठमाडौं, १५ सय किलोलिटर अमलेखगन्ज, पोखरा, वीरगन्ज र जनकपुर ४–४ सय किलोलिटर पठाउने निगमले जनाएको छ।

बरौनीदेखि अमलेखगन्जसम्म डिजेल ढुवानी गर्दै आएका केही ट्यांकरलाई अब अन्य रुटमा पठाइने छ। पाइपबाट डिजेल आएपछि ढुवानीमा लाग्ने दैनिक एक करोड रुपैयाँ बचत हुने निगमको दाबी। बरौनीदेखि अमलेखगन्जसम्म ट्यांकरबाट ढुवानी गर्दा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा भाडा छ। यसरी हिसाब गर्दा चार हजार किलोलिटर ढुवानी गर्दा हुने एक करोड रुपैयाँ बचत हुन्छ।

पाइपबाट ल्याउँदा चुहावट पनि रोकिने बताइन्छ। आइओसीबाट ट्यांकरमा ढुवानी गरेर ल्याउँदा हुने प्राविधिक चुहावटको करोडौं रुपैयाँ जोगिने निगमले जनाएको छ। पाइपबाट सिधै डिजेल आउने भएपछि क्यालिब्रेसन इरर, ट्यांकर चालकले बीच बाटोमा गर्ने चोरीलगायत रोकिन्छ। अहिले एक सय ६० वटा ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेका छन्।

प्रकाशित: १७ भाद्र २०७६ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App