coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोसी कोरिडोरको काम ७५ प्रतिशत

काठमाडौं – २२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१ टावरमध्ये दुई सय ६० वटा टावरको फाउन्डेसन (जग) को काम सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोरमा एक सय ४० वटा टावर इरेक्सन (खडा) गरिएको छ।

कोसी २२० केभी करिडोर प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख राजन ढकालले ७५ प्रतिशत निर्माण सम्पन्न भएको बताए। ‘अहिले प्रसारण लाइन निर्माण र सबस्टेसन बनाउने काम धमाधम भइरहेको छ,’ उनले भने, ‘सन् २०२२ को अन्त्यसम्म आयोजनाको सम्पूर्ण काम सक्ने योजनासहित काम भइरहेको छ।’

आयोजना प्रमुख ढकालले आयोजनाको काम तीन खण्डमा विभाजन गरेर धमाधम भइरहेको बताए। कोसी करिडोर २२० केभी प्रसारण लाइन इनरुवा–बसन्तपुर–बानेश्वर तुम्लिङटार लगायत क्षेत्रलाई ओगट्ने छ। 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण हुन लागेको हो। कोसी करिडोर निर्माणको लागि भारतीय एक्जिम बैंकले दुई सय ५० मिलियन अमेरिकी डलर लागतमा निर्माण हुन लागेको हो। जसमा नेपाल सरकारको तर्फबाट ९० मिलियन अमेरिकी डलर खर्च हुनेछ। कोसी करिडोरको प्रसारण लाइनलाई तिन खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ।

इनरुवा–बसन्तपुर–बानेश्वर तुम्लिङटार खण्डमा २२० केभीको एक सय पाँच सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको काम भइरहेको छ। उक्त खण्डको ठेक्का भारतीय  एमएस कालपाटुरी पावर ट्रान्समिसन लिमिटेडले सन् २०१६ मा पाएको थियो। उक्त खण्डको ठेक्का सम्झौता ३७.५ मिलियन अमेरिकी डलरमा भएको हो। १०५ सर्किट किलोमिटरको प्रसारण लाइन समेत दुई खण्डमा विभाजन गरिएको छ।

त्यसैगरी, दोस्रो खण्डमा चारवटा सबस्टेसन निर्माण निर्माण गर्न लागिएको छ। अहिले चारवटा सबस्टेसनको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। उक्त चारवटा सबस्टेसन निर्माणको ठेक्का सन् २०१८ मा भारतीय कम्पनी एमएस लार्सन टर्बाे लिमिटेडले ठेक्का पाएको थियो। उक्त खण्डको ठेक्का सम्झौता २५.३ मिलियन अमेरिकी डलरमा भएको थियो।

तेस्रो खण्डमा ढुंगेसाँघुमा १३२/३३ केभीको सबस्टेसन निर्माण गर्नुपर्ने हुन्छ। त्यसैगरी, ताप्लेजुङदेखि ढुंगेसाँघु सबस्टेसनसम्म ३५ सर्किट किलोमिटरको प्रसारण लाइन लगायत पूर्वाधार बनाउनुपर्नेछ। तेस्रो खण्डको ठेक्का पनि भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पाएको थियो। उक्त कम्पनीले २१ मिलियन अमेरिकी डलरमा उक्त ठेक्का  लिएको हो। यो खण्डमा १५ वटा टावरको फाउन्डेसन निर्माणको काम भइरहेको छ।

आयोजनाको अनुसार हालसम्म १० किलोमिटर तार तान्ने काम सम्पन्न भइसकेको छ। ‘सुनसरीको ढोक्राबाट उत्तरतर्फ बिजुलीको तार तान्ने काम भइरहेको छ,’ उनले भने। आयोजनाबाट  ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा र सुनसरी प्रभावित जिल्लामा पर्दछन्। आयोजनाले हालसम्म ६० प्रतिशत प्रभावित जनतालाई मुआब्जा रकम वितरण गरिसकेको जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App