७ वैशाख २०८१ शुक्रबार
समाज

पेटमा खुकुरी रोपेर आत्महत्या

खोटाङ– खोटाङको पाथेका–८ का ५७ वर्षीय मनकुमार राईले पेटमा खुकुरी रोपेर आत्महत्या गरेका छन् । लामो समयदेखि ग्याँस्ट्रिकको समस्याबाट पिडित राईले मंगलबार बिहान आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्या गरेका हुन्।

ग्याँस्ट्रिकका कारण पेटको दुखाई सहन नसक्दा उनले आत्महत्या गरेको आफन्तको अनुमान छ। ग्याँस्ट्रिकका कारण पेट दुख्दा बेलाबेलामा छटपटिने गरेका राईलाई घरकै शौचालय नजिक खुकुरीले पेट रोपेर सिकिस्त बनेको अवस्थामा परिवारले भेट्टाएका थिए। शौचालय नजिकै लगाइएको पुस्टकारीको घारीमा खुकुरीले रोपेर गम्भीर बनेका राईको घरमा लैजाने बित्तिकै मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। ‘उनका परिवारबाट पनि पीडा सहन नसकेर पेटमा आफै खुकुरी रोपेको भन्ने जाहेरी आएको छ, घट्ना प्रकृति हेर्दा पनि घटना शंकास्पद देखिएको छैन,’ प्रहरी निरिक्षक राईले भने, ‘अन्य कुरा रहेछन् भने पोष्टमार्टम रिपोर्टले देखाउने नै छ।’

ग्याँस्ट्रिकले असह्य तरिकाले पेट दुखेको बेलामा उनले यसअघि पनि पेटमा फलामको मुंग्रोले हान्ने गरेका थिए। गत वर्ष पनि उनले पेट दुखाई सहन नसक्दा पेटमा फलामको झीरले रोप्न लाग्दा परिवारले बचाएको स्थानीय धनप्रसाद गिरीले बताए।

‘पेट दुखेर छटपटी भएकोबेलामा एक पटक झीरले पेटमा घोच्न लागेकोबेला श्रीमतीले देखेर बचाएको रहेछ,’ गिरीले भने, ‘यसपल्ट शौचालय नजिक पेटमा खुकुरी रोपेको अवस्थामा फेला परेको रहेछ ।’ उनी बेसुर अवस्थामा घाउबाट निस्किएको आन्द्रा समेत तानिरहेको अवस्थामा फेला परेको स्थानीयको भनाई छ । गाउँमा सिकर्मी, डकर्मी लगायतका पेशा अपनाउँदै आएका राई अघिल्लो दिन गाउँमा सार्वजनिक शौचालय निर्माणका काम गरेर साँझ घर आएका थिए।

गाउँघरमा आपदविपदकाबेला सबैलाई सहयोग गर्ने, सोझो र ईमान्दार मानिएका मृतक राईका श्रीमती र तीन छोरी छन् । आर्थिक स्तर सामान्य नै भए पनि हालसम्म रोगको उपचारमा नगएको बिषयमा भने आफन्त आश्चर्य मान्छन् । छरछिमेकले राईको मृत्युपछि मात्र उनको रोगको बारेमा स्पष्ट थाहा पाएका हुन् । ‘चाहँदा उपचार गर्न सक्ने अवस्थाकै परिवार हो,’ गिरीले भने, ‘पीडा हुँदा पनि किन उपचारमा गएन भनेर हामी चकित छौँ।’ उनको एक छोरी सुस्त मनोस्थितिका छन्।

मृतकको बुधबार पोष्टमार्टम गरिएको छ ।

प्रकाशित: १ मंसिर २०७३ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App