८ वैशाख २०८१ शनिबार
कला

सबै समुदायको ‘साझा पर्व’ बन्दै तीज

सर्लाही - पहाडी समुदायका हिन्दू महिलाले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको ‘साझा पर्व’ बन्दै गएको छ। हिन्दू धर्म मान्ने मधेसी समुदाय मात्र होइन, जनजाति समुदायका महिलाले समेत तीज उल्लासका साथ मनाउन थालेका छन्।

महादेव जनता उमाविका प्रधानाध्यापक जयशंकर सिंहले पछिल्लो समय तीज पर्व हरेक समुदायका महिलाबीच लोकप्रिय बन्दै गएको बताए। ‘मधेसी समुदायका महिलाले आ–आफ्नै घरमा तीजको व्रत बस्ने एवं पूजा मात्र गर्दथे’, उनले भने, ‘तर पछिल्लो केही वर्षयता दर खाने अनि तीजको दिन शिवालयमा पुगेर नाचगानमा समेत उल्लासपूर्ण सहभागिता जनाउन थालेका छन्।’

त्यस्तै, बौद्धधार्मी जनजाति समुदायका महिलाले समेत दर खाने र तीजको दिन शिवालयमा पूजा गर्दै नाचगानमा सहभागिता जनाउन थालेको सिंह बताउँछन्। उनले भने, ‘एकअर्काको पर्व हरेक समुदाय र जातजातिले ग्रहण गर्नु सकारात्मक कुरा हो, यसले स्थानीय स्तरमा सामाजिक सद्भावका लागि निकै टेवा पुग्छ।’

त्यस्तै, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुब रेजाले समेत तीजको अवसरमा दर खाने कार्यक्रम सञ्चालन गर्दै आएका छन्। मुस्लिम समुदायका रेजाले राखेको कार्यक्रममा कतिपय मुस्लिम समुदायका व्यक्तिसहित हिन्दू एवं बौद्ध धर्मावलम्बीको समेत उपस्थिति रहने गरेको छ। बागमती नगरपालिकाकी उपमेयर लीला मोक्तान पछिल्लो समय तीज पर्वमा बौद्धधर्मी जनजाति समुदायका महिलाको समेत सहभागिता बढ्दै गएको बताउँछिन्।

‘कोही रमाइलो गर्ने हिसाबले त कोही आस्थाकै हिसाबले जनजाती समुदायका महिला दिदीबहिनी समेत तीजमा सहभागी हुन थालेका छन्,’ उनले भनिन्, ‘एक समुदायले अर्को समुदायको धर्म संस्कृतिको सम्मान गर्नु र सहभागिता समेत जनाउनु राम्रै कुरा हो, यसले स्थानीय स्तरमा सामाजिक सद्भावमा महŒवपूर्ण टेवा पु¥याउँछ।’
पछिल्लो समय दर खाने तथा तीजका दिन महिलाले लगाउने सुनका गरगहना एवं पहिरन भड्किलो बन्दै गएको गुनासोसमेत बढेको छ। तथापि, विभिन्न समुदायलाई जोड्ने पर्वसमेत बन्दै गएको सामाजिक अगुवा एवं बुद्धिजीवीहरू बताउँछन्।

जिल्लास्थित बागमती नदी किनारसहित हरिवनको सुखेपोखरी, लालबन्दी, नयाँ रोड, शंकरपुर, नवलपुरलगायत शिवालयमा सोमबार बिहानैदेखि महिला जम्मा भएर नाचगान गरेका छन्।

प्रकाशित: १७ भाद्र २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App