coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बच्चा अपहरणको शंकामा गर्भवती महिलामाथि कुटपिट

नयाँ दिल्ली – बच्चा अपहरण गरेको शंकामा भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलामाथि निर्घात कुटपिट भएको छ। कुटपिटमा परेकी ती महिलाको स्वास्थ्य अवस्था स्थीर रहेको र घटनामा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ गरिएको प्रहरीले बिबिसीसँग बताएको छ। आक्रमणमा परेकी ती महिलाको उमेर २५ वर्ष रहेको प्रहरीले जनाएको छ।

भारतको राजधानी नयाँ दिल्ली र छेउछाउका राज्यहरूमा बालबालिका अपहरणको अफवाह फैलिरहेको र अपहरणमा संलग्न रहेको भन्दै आक्रमणका घटना भइरहेको भन्ने विवरण प्राप्त भइरहेको अवस्थामा यो पछिल्लो घटना हो । गत वर्ष पनि यस्तै खालका घटना भएका थिए, जसका कारण कैयौं मानिसमाथि कुटपिट भएको थियो भने बालबालिका अपहरणका घटनाको अफवाहका कारण केहीले ज्यानसमेत गुमाएका थिए।

पछिल्लो कुटपिटको घटनालाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजमा ती महिलालाई मानिसको समूहले घेरेर कुटपिट गरेको देखिएको छ। सो भीडले उनलाई बच्चा अपहरण गरेको आरोप लगाउँदै कुटपिट गरेको भिडियोमा देखिएको छ।

बालबालिका अपहरणसँग जोडिएर आएका विभिन्न घटनाबारे भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सबैभन्दा धेरै उजुरी दर्ता भएको बिबिसीले उल्लेख गरेको छ । उत्तर प्रदेश दिल्लीसँग सीमा जोडिएको भारतीय राज्य हो। ‘२९ अगस्टका दिनसम्म कम्तीमा ४६ वटा त्यस्ता घटना दर्ता भएका छन् । सबै मुद्दामा हामीले बालबालिका अपहरणका कुनै भेउ पाउन सकेका छैनौं,’ प्रहरीका महानिर्देशक ओपी सिंहले ट्विटरमार्फत जारी गरेको अपिलमा भनिएको छ। ‘बालबालिका अपहरणका त्यस्ता अफवाहको पछि नलाग्न हामी सबैलाई अपिल गर्दछौं। यदि तपाईंहरू दुविधामा पर्नु भयो भने टेलिफोन वा सामाजिक सञ्जालमार्फत प्रहरीसँग सम्पर्क गर्नुहोस्,’ प्रहरी महानिर्देशक ओपी सिंहले ट्विटरमा गरेको अपिलमा भनिएको छ।

दिल्लीनजिकै रहेको गाजियाबादमा पनि अगस्ट महिनामा मात्रै बालबालिका अपहरणसम्बन्धी ६ वटा मुद्दा दर्ता भएको सरकारी स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘एउटा घटनामा त आफ्नै नातिनीसँग बाहिर घुम्न गएकी एक हजुरआमालाई अपहरणको आशंकामा कुटपिट भएको छ । नातिनी र ती हजुरआमाको छालाको रंग फरक भएको भन्दै मानिसको भीडले आक्रमण गरेको थियो,’ वरिष्ठ प्रहरी अधिकारी निरज जादाउनले बताए । उनले सो घटनामा संलग्न सबै शंकास्पद व्यक्तिलाई पक्राउ पनि गरिसकिएको जानकारी दिएका छन्।

बालबालिका अपहरणको अफवाहमा भारतमा मानिसमाथि कुटपिटका घटनाको समाचार बारम्बार आइरहने भए पनि देशैभर अपहरणको घटना बढिरहेको छ वा छैन भनेर स्पष्ट नभएको बिबिसीले उल्लेख गरेको छ। बालबालिका अपहरणको अफवाह विशेषतः ह्वाट्सएपमार्फत फैलिने गरेको एक प्रतिवेदनले जनाएको छ। अधिकारीहरूले बालबालिका अपहरणबारेको म्यासेजलाई विश्वास नगर्न आग्रह गरेका छन्।

प्रकाशित: १७ भाद्र २०७६ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App