coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नियन्त्रणमा आएन अमेरिकी फौजी किरा

खोटाङ – विषादी हाल्दा पनि खोटाङको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकी फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणमा आउन सकेको छैन। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवालगायत प्रभावित क्षेत्रमा विषादी हाले पनि उक्त फौजी किरा नियन्त्रणमा आउन नसकेको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि विकास निर्देशनालयलगायतले उपलब्ध गराएको इमिडाक्लोप्रिड १७.८५% एसएल नामक किटनाशक औषधि प्रभावित क्षेत्रमा हाले पनि किरा नियन्त्रणमा आउन नसकेको बाहुनीडाँडा मैतुङका स्थानीय किसान पुष्पराज राईले बताए।

‘किरा लागेको क्षेत्रमा विषादी हाल्यौं,’ राईले भने, ‘तर, किरा नियन्त्रणमा आउन सकेको छैन। किरा फैलिने क्रम कति पनि रोकिएको छैन।’ बाहुनीडाँडाका किसानले भदौ ८ मा प्रभावित क्षेत्रमा एकै दिन एकैसाथ विषादी छर्किएका थिए। पहिला मेटासिट नामक विषादी हालेकाले पछिल्लो विषादीले फौजी किरा नियन्त्रणमा आउन नसकेको अनुमान गरिएको छ।

फौजी किरा नियन्त्रणका लागि प्रदेशबाट आएका कृषिसँग सम्वद्ध टोलीले प्रतिबट्टा सय एमएलको ५० बट्टा विषादी उपलब्ध गराएपछि बालीनालीमा हालिएको थियो। प्राप्त भएकामध्ये २० बट्टा औषधि डिकुवा पठाइएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। ‘विषादि त हालियो तर किराको प्रकोप घटेन,’ वडाध्यक्ष राईले भने, ‘कतिपय किसानले फेरि विषादीको खोजी गरिरहेका छन्। कतिपयले आफै विषादी ल्याएर हाल्न थालेका छन्।’

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तत्कालका लागि ५/६ सय रोपनीमा पुग्ने विषादि मात्र उपलव्ध गराएकाले विषादि थोर भएको किसानको गुनासो छ। विषादिको माग भएपछि हलेसी तुवाचुङ नगरपालिकाले आईतबार कृषि ज्ञान केन्द्र खोटाङबाट आवश्यक विषादि प्रभावित क्षेत्र पठाएको जनाएको छ।

हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि पुःन छरेर उम्रिएको मकैको बिरुवा फौजी किराले विनास गर्दा किसान दोहोरो मारमा परेका छन्। बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र राजापानीमा फौजी किराको बढि आतंक देखिए पनि हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडामा फौजी किराको प्रकोप देखिएको मेयर इवन राईले बताए। हावापानी गर्मी भएको ठाउँमा फौजी किराको आतंक बढि देखिएको छ। पिठ्यूँतिर शिरदेखि पुछारसम्म तीन वटा धर्का देखिने लाभ्रे आकारको किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रुपटार, झापा लगायतका ठाउँमा बढि आतंक फैलाएको छ।

लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करिब एक इञ्च लम्वाई भएको फौजी किराले छोटो समयमै मकै र धानको विरुवा सिक्राजस्तै बनाएको छ। यस्तै, वनजंगलमा भएका साल, सल्ला, खिरुवा, खन्यू, बाख्रीघाँस, खयरको पात तथा हरेक रुखविरुवाको पालुवा र कलिलो मुन्टालाई एकैरातमा सिध्याएर उजाड बनाइदिने गरेको छ। फौजी किराले जंगल नै उजाड बनाउन थालेपछि गाईवस्तु र बाख्रालाई घाँस जुटाउनै समस्या पर्न थालेको स्थानीय बताउँछन्।

फौजी किराको प्रकोप खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, सिमपानीमा समेत देखिएको कृषि ज्ञान केन्द्रका अधिकृत हरिनारायण राईले बताए। फौजी किरा नियन्त्रणका लागि डेढदेखि दुई एमएल साइपरमेट्रिन र क्लोरपाइरिपसलाई प्रतिलिटर पानीमा घोलेर छर्कन कृषि प्राविधिकको सुझाव छ। यस्तै, निमबाट बनेको ३/४ एजाडिराक्टिङलाई प्रतिलिटर पानीमा घोलेर फौजी किरा प्रभावित ठाउँमा हाल्नुपर्ने कृषि ज्ञानकेन्द्रका अधिकृत राईले बताए। ‘औषधि छर्दा जहाँपायो त्यहाँ छर्न हुँदैन,’ अधिकृत राईले भने, ‘फौजी किरा बसेको चारैतिरबाट विषादि छर्नुपर्छ। यसो गर्दा फैजी किरा अन्यत्र भाग्न पाउँदैन।’

प्रकाशित: १७ भाद्र २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App