८ वैशाख २०८१ शनिबार
खेल

वावरिन्का क्वार्टरफाइनलमा

न्युयोर्क – डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच रिटायर्ड हर्ट हुँदै युएस ओपनको तेस्रो चरणबाटै आइतबार बाहिरिँदा उनका प्रतिद्वन्द्वी स्टान वावरिन्काले सहजै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

न्युयोर्कस्थित अर्थर एसे स्टेडियममा आइतबार दुई सेटले पछि परेको अवस्थामा काँधमा समस्या भएपछि जोकोभिचले स्वीस स्टार वावरिन्कालाई खेल सुम्पिएका हुन्। पछिल्ला पाँच ग्रान्डस्लाममध्ये चार वटा उपाधि जितेका जोकोभिच तेस्रो चरणबाटै बाहिरिएपछि यस संस्करणको उपाधि होड केही खुला बनेको छ। कुल १६ ग्रान्डस्लाम विजेता जोकोभिचले दोस्रो चरणको खेलमै चोटका कारण संघर्षपूर्ण जित निकालेका थिए।

सोही चोटका कारण उनको यात्रा चौथो चरणभन्दा माथि उठ्न सकेन। यद्यपि, सन् २०१६ को युएस ओपनको फाइनलमा जोकोभिचलाई नै हराएर उपाधि जितेका वावरिन्काले यसपटक पनि उनलाई पन्छाउँदै उपाधिमा दाबेदारीसमेत प्रस्तुत गरेका छन्। यद्यपि, वावरिन्काले आफूले यस किसिमको जित आशा नगरेको बताए।
‘मेरो लागि यो उत्कृष्ट समय हो। कोर्टमा उनलाई हराउनु सबैका लागि उत्कृष्ट क्षण हुनेछ,’ तीन पटक ग्रान्डस्लाम च्याम्पियन वावरिन्काले भने,‘यद्यपि सबैजना उनीविरुद्ध यस किसिमको सफलता चाहँदैनन्। उनै च्याम्पियन जोकोभिचसँग यसपटक माफी माग्न चाहन्छु।’ कुनै पनि खेलाडीले यति ठूलो अवसरमा रिटायर्ट हर्टबाट बाहिरिने कल्पनासमेत नगरेको जोकोभिचले बताए।

‘म एकदम दुःखी छु। जो कोही पनि यस्तो अवस्थामा दुःखी नै हुन्छन्,’जोकोभिचले भने,‘पछिल्ला हप्ता लगातार दुखाई भइरहेको थियो। कुनै दिन अलि बढि र कुनै दिन कम दुख्ने गर्छ।’जोकोभिचविरुद्ध सफलता हात पारेका ३४ वर्षे वावरिन्काले क्वार्टरफाइनलमा विश्व नम्बर पाँच रसियन स्टार डानियल मेदभेदेभविरुद्ध खेल्नेछन्। डानियल पहिलोपटक कुनै पनि ग्रान्डस्लामको क्वार्टरफाइनलमा पुगेको अवसर सदुपयोग गर्न चाहन्छन्।

विश्वको २४औं वरीयतामा रहेका वावरिन्कासँगको भेट तय गरेका मेदभेदेभले चौथो चरणमा १ सय १८औं वरीयताका जर्मन स्टार डोमिनिक कोइपफेरलाई ३–६, ६–३, ६–२ र ७–६ (७–२)ले हराएका छन्। मेदभेदेभले सन् २०१७ को विम्बल्डनको पहिलो चरणमै वारिन्कालाई हार चखाएका थिए। अर्को क्वार्टरफाइनलमा पनि स्वीस स्टार रोजर फेडेररले बुल्गेरियाका ग्रिगोर दिमित्रोभविरुद्ध खेल्नेछन्।

क्वार्टरफाइलमा जित निकालेको खण्डमा स्वीस स्टारद्वय फेडेरर र वावरिन्का नै सेमिफाइनलमा एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। दुई वर्ष अगाडि घुँडाको सर्जरी गरेपछि पहिलो पटक वावरिन्का उपाधि होडमा पुगेका छन्। वावरिन्काले यस स्थानसम्म आइपुग्दा खुसी लागेको बताउँदै सर्जरी पछि लयमा फर्कनु निकै कठिन भएको उल्लेख गरेका छन्।

पाँच पटक युएस ओपन च्याम्पियन फेडेररले चौथो चरणमा बेल्जियमका डेविड गोफिनलाई ६–२, ६–२ र ६–० को सोझो सेटमा हराउँदा ७९ मिनेटमै खेल आफ्नो पक्षमा पारेका थिए। ३८ वर्षे फेडेरर हाल विश्व वरीयतामा तेस्रो स्थानमा छन्। फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।

उनी बुल्गेरियाका दिमित्रोभविरुद्धको क्वार्टरफाइनल खेल आफ्नो पक्षमा पार्दै यस पटक २१औैं ग्रान्डस्लाम उचाल्ने लक्ष्यमा छन्। ७८औं वरीयताका दिमित्रोभले भने चौथो चरणमा ३८औं वरीयताका अस्ट्रेलियन स्टार एलेक्स डे मिनारलाई ७–५, ६–३ र ६–४ ले हराएका थिए।

दुई सेटले पछि परेको अवस्थामा काँधमा समस्या भएपछि नोभाक जोकोभिचले स्वीट्रल्यान्डका स्टान वावरिन्कालाई खेल सुम्पिए। पछिल्ला पाँच ग्रान्डस्लाम मध्ये चार वटा उपाधि जितेका जोकोभिच तेस्रो चरणबाटै बाहिरिएपछि यस संस्करणको उपाधि होड केही खुला बनेको छ।

प्रकाशित: १७ भाद्र २०७६ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App