७ वैशाख २०८१ शुक्रबार
अर्थ

रुख काट्न नदिने प्रदेश मन्त्रीको भनाइप्रति विरोध

घना जंगल भनिएर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थाल निर्माणको बिरोध गरिएको टाँगिय बस्तीको कृषि कार्यमा प्रयोग गरिएको जग्गा।तस्बिर : नागरिक

बारा – बाराको टाँगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटान गर्न नदिने प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले दिएको अभिव्यक्तिको विरोध सुरु भएको छ।

प्रदेश सरकारबाटै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने चलखेल सुरु भएको भन्दै विरोधस्वरुप निजगढमा आइतबार बेलुकी मन्त्री रायको पुतला दहनसमेत गरिएको छ। विमानस्थल निर्माण हुने जग्गासँग जोडिएको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल, निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनाल र कोल्हवी नगरपालिका प्रमुख भरत भण्डारी गरी तीनवटै स्थानीय तहका प्रमुखले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकाली मन्त्री रायको अभिव्यक्तिको विरोध गरेका छन्।

स्थानीय तहका प्रमुखले निकालेको विज्ञप्तिमा बारामा बन्न लागेको दोस्रो विमानस्थलले प्रदेशको साथै देशलाई नै समृद्धिको बाटोमा डो-याउने र वनको रुख पनि कम कटान हुने भएकाले यसको विरोधभन्दा निर्माणमा सहयोगी बन्न आग्रह गरिएको छ।

निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले २०५१ देखि नै देशका विभिन्न भागमा गरी आठवटा स्थानको निरीक्षण गर्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ आसपासको क्षेत्र नै उपयुक्त देखिएको दाबी गरे।

२०५१ देखि नै यस क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने चर्चा चलेपछि पहिले कुनै विरोध नगर्ने र अहिले उक्त विमानस्थललाई बारामा बन्न नदिई पूर्वतिरै लैजान प्रदेश सरकारबाटै चलखेल सुरु गरिएको खनालको आरोप छ।

विमानस्थल निर्माणमा अवरोध पु-याउनेको प्रतिकार गर्न बाराका १६ वटै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नका लागि आन्तरिक छलफल सुरु गरिएको प्रमुख खनालले बताए।

रूख काट्न नदिने अभिव्यक्ति दिएको विरोधमा निजगढको सहिदचोकमा मन्त्री रायको पुतला दहन गरी प्रदेश सरकार विरोध नाजाबाजीसमेत गरिएको छ। फास्ट ट्र्याक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले शिलान्यास गर्ने तयारी गरेका बेला प्रदेश सरकारका मन्त्रीले दिएको अभिव्यक्ति खेदजनक भएको बताए। उनले विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र सबै सहभागी हुन आग्रहसमेत गरे।

प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश राय यादवले बारामा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नु जरुरी रहेको बताए। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिएका स्थानमा घना जंगल रहेको र जंगल मासेर विमानस्थल निर्माण गर्नुपर्ने पक्षमा प्रदेश सरकार नरहेको मन्त्री रायको भनाइ छ। आठ हजार हेक्टर क्षेत्रफलका आठ लाख रुख कटान गर्नुभन्दा रुख नभएको स्थानमा विमानस्थाल निर्माण गर्नतिर लाग्नुपर्ने प्रदेश सरकारको सोच रहेको रायले बताए।

प्रदेश २ को सर्लाहीको राजघाट, मूर्टिया र महोत्तरीको बर्दिवासमा पहिलेदेखि नै वन क्षेत्रका जग्गामा रुख नभएको र ती स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कम क्षति हुने भएकाले त्यतातिर पनि ध्यान दिनुपर्नेमा रायले जोड दिए। बारामै विमानस्थल निर्माण गर्नु छ भने सिमरा विमानस्थललाई विस्तार गर्नतिर लाग्नुपर्ने सुझाव मन्त्री रायले दिए।

प्रकाशित: १७ भाद्र २०७६ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App