६ वैशाख २०८१ बिहीबार
अर्थ

पाखैभरी स्याउ फलेको देख्न पाइयोस्ः मन्त्री केसी

जुम्ला– कर्णाली प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले जिल्लामा खेर गइरहेको जमिनमा स्याउ खेती गर्नुपर्ने बताएकी छिन्। उनले यहाँ प्रत्येक बर्ष स्याउको उत्पादन बढिरहेको र गुणस्तरमा पनि ध्यान पुगेकोले समृद्धिको प्रमुख आधार नै स्याउ खेती बन्ने बताइन्। जिल्लामा स्याउ नै स्याउ फलेको देख्ने धोको पनि उनले सुनाइन्। नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले स्याउ खेतीप्रति किसानलाई आकर्षण गर्न स्याउमैत्री योजना निर्माणमा जोड दिने बताइन्। 

‘जुम्ला भौगोलिक हिसावले निकै सुगम छ। प्राकृतिक हिसाबले निकै सुन्दर पनि’, उनले भनिन्, ‘बाँझो जग्गामा स्याउ खेती गरेर लटरम्म फल्न थालेपछि झनै यहाँको सुन्दरताको स्वरुप नै बदलिने देखिन्छ।’ जुम्लामा दोस्रो पटक स्याउ महोत्सवको उद्घाटन गर्न आइपुगेकी मन्त्री केसीले कालिकोट खण्ड सकिने बित्तिकै जुम्लाका पाखापखेरामा स्याउ फलेको देख्ने धोको रहेको बताइन्। 

उनले भनिन्, ‘कर्णाली जलजंगल, जडिबुटीले निकै धनी छ। यी सबैको भरपुर प्रयोगले मात्र यहाँको समृद्धि हासिल हुन सक्छ। प्रदेश सरकार कर्णालीको समृद्धिका आधार संरक्षणमा जुटिसकेको छ।’ स्याउ खेतीका लागि आवश्यक पर्ने पूर्वाधार विकासको लागि सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गर्दै उनले डिपिआर नबनिकनै भएका योजना अलपत्र हुने अवस्था आउने र प्रदेश सरकार जुम्ली स्याउको बजारीकरण, संरक्षण र प्रवर्द्धनका लागि हरबखत तयार रहेको बताइन्। उनले कृषि क्षेत्रका सरोकारवालालाई जिल्लाकै आवश्यकता धान्न सक्ने कोल्ड स्टोरको सम्भाव्यता अध्ययन गर्न निर्देशन गरिन्।

‘यहाँको स्याउबाट संसारको सबैभन्दा स्वादिलो जुस बनाउन सकिन्छ। जुस बनाउने उद्योगको सभाव्यता अध्ययन गरौं। पक्कै पनि कोक फेन्टाभन्दा जुम्ली स्याउको जुस खोजी खोजी खाने बातावरण बन्ने छ’, उनले भनिन्, ‘स्याउका बिभिन्न परिकार बनाऔँ, बाह्य खाद्य बस्तु विस्थापित गर्न सकिने आधार निर्माण हुने छ।’ सिँचाइको लागि प्रदेश सरकार चिन्तित रहेको र बजार ब्यवस्थापन र ढुवानीको लागि केन्द्र सरकारसंगको साझेदारीमा कर्णाली राजमार्गको स्तरोन्नती हुन लागेको जानकारी गराउँदै मन्त्री केसीले आगामी बर्षदेखि जुम्लाको स्याउ विना रोकटोक बजारसम्म लैजाने ब्यवस्था गरिने बताइन्।

मन्त्री केसीले जुम्लामा कृषि मन्त्रालयबाट सञ्चालित विभिन्न आयोजनाको अनुगमन समेत गरिन्। अनुगमनका क्रममा किसानले पनि कृषि मन्त्रालयबाट किसानमैत्री योजना निर्माण गर्न सुझाव दिएका थिए।

उनले कृषिका योजनामा जबसम्म सुशासन ठिक ढंगले कायम गर्न सकिदैन्, तब सम्म जनताले राहतका अनुभव गर्न नसक्ने भन्दै हरेक क्रियाकलापमा पारदर्शिता झल्काउन निर्देशन गरिन्। उनले प्रदेश सरकारले अघि सारेका कृषि सडकमा डोजर लगाउन नपाइने बताइन्। डोजर लगाउनै परे मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने उनको भनाई छ। 

प्रकाशित: १६ भाद्र २०७६ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App