८ वैशाख २०८१ शनिबार
समाज

एटीएम ह्याक प्रकरण : गिरहाेकाे थप एक सदस्य पक्राउ, ५८ सय डलर बरामद

काठमाडाैँ - अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेर चिनियाँ नागरिकहरु परेका प्रकरणमा थप एक जना पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजाे मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप  चिनियाँ मुलका फ्रेन्च नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विमानस्थलबाट उक्त गिरहाेमा संलग्न चिनियाँ मुलका फ्रेन्च नागरिक सु लुसली पक्राउ परेको बताए। उनले भने,'अनुसन्धानको क्रममा थप एक जना संलग्न रहेको सूचना पाएपछि सबै सबै नाकामा प्रहरी खटाइएको थियो, सोही क्रममा ती लुस्ली पक्राउ परेका हुन्। तर घटनामा उनको संलग्नता रहे नरहेको यकिन भइसकेको छैन।’ उनका अनुसार लुसलीबाट ५ हजार ८ सय डलरलगायत विदेशी मुद्रासमेत भएकाे छ।

प्रहरीले नेपाली एटीएम ह्याक गरेर रकम चोरी गर्ने ती चिनियाँ नागरिकहरूलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ रहेका थिए।

प्रहरीले एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरिएको जनाएको छ। होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।र साेही स्थानबाट पैसासमेत बरामद भएकाे थियाे।

परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार चिनियाँ नागरिक पैसा चोर्नको लागि दरबारमार्ग, स्रोहखुट्टे, ठमेल लगायतका भीडभाड हुने क्षेत्रका एटीएमलाई टार्गेट बनाएर नेपाल आएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएपछि पैसा झिक्नेहरुको खोजीका लागि अधिकांश एटीएम बुथ नजिक प्रहरी परिचालन गरिएको थियो। पछिल्लो समय नेपालको बैंकिङ प्रणालीबाट रकम लुटपाट गर्ने चिनियाँ लगायत अन्य देशका देशका नागरिकहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ। 

प्रकाशित: १६ भाद्र २०७६ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App