coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जगाउँदै संगिनी नाच

सोलुखुम्बु – हिन्दु नारीहरुले हरितालिका तीजको अवसर लोपोन्मुख हुँदै गएको संगिनी नाच प्रस्तुत गरिने भएको छ। सोलुखुम्बुको तिंलाका महिलाले लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन्।

सामूहिक रूपमा लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्ने शैलीलाई संगिनी नाचको रूपमा परिभाषित गरिएको छ। यस नाचमा महिलाहरूले आफ्नो पीडाका कथा लयमा परिणत गरेर गाउने गर्छन्।

तीजमा उनीहरूले समूहमा घुमाउरो गरी उभिएर हात र खुट्टाको हाउभाउ मिलाएर एकै स्वरमा तालमेल मिलाई संगिनी नाचिने गरिन्छ। पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी नृत्य संरक्षण गर्न सोलुदुधकुण्ड नगरपालिका – ११ तिङलास्थित सिंहकाली महिला जुटेका हुन् ।

खासगरी विवाहमा रत्यौली, धार्मिक उत्सव, पूजाआजामा परम्परागत रूपमा यो नाच नाचिने स्थानीय लक्ष्मी विश्वकर्माले बताइन् । उनका अनुसार विभिन्न ऐतिहासिक तथा धार्मिक श्लोक समेटेर नाचिने संगिनीमा पछिल्लो समय महिला प्रोत्साहनका कथा गाइने गरिन्छ।

आधुनिकतासँगै नेपाली समाजले मौलिक पहिचान भने बिर्सदै गएको तर्क उनले गरिन्। ‘अहिलेको पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले अभियान नै थालेका हौं ।’ कुनै समय संगिनी नाच जिल्लाका सबैजसो थलोमा लोकप्रिय थियो । तर, पछिल्लो समय संगिनी नाच्ने एकदमै कम भेटिन्छन् ।’

सोलुदुधकुण्ड नगरपालिकाकी उप–प्रमुख कल्पना राईले जातीगत भाषा संस्कृतिको जर्गेनाको लागि नगरपालिकाले बजेटकै व्यवस्था मिलाउदै आएको बताउँछिन्। हालको अवस्थामा स्थानीय स्तरमा हुने विवाह, धार्मिक कार्य तथा विशेष समारोहमा संगिनी नृत्य प्रस्तुत गनुपर्ने उनीको तर्क छ। ‘हरेक जातिको संस्कृति संरक्षणमा हातेमालो गर्दै आएका छांै। नगरले सांस्कृतिक पर्व मनाउनका लागि ५०–५० हजार रुपैयाँका दरले बजेट व्यवस्थापन गर्दै आएका छौ,’ उनले भनिन्। जातीय, धार्मिक र सांस्कृतिक विविधताको समाजमा भएका अनेक परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि स्थानीय सरकारले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने उनले बताइन्।

 

प्रकाशित: १६ भाद्र २०७६ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App