७ वैशाख २०८१ शुक्रबार
अर्थ

आर्थिक वृद्धिदर ७.१ प्रतिशत

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले आठ प्रतिशत वृद्धिको लक्ष्य राखेर गत आर्थिक वर्षको बजेट ल्याए पनि यथार्थमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको छ।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको गत आव २०७५०७६ को ‘मुलुकको आर्थिक तथा वित्तीय स्थिति’मा सरकारको लक्ष्यभन्दा आर्थिक वृद्धिदर करिब एक प्रतिशत बिन्दुले कम हासिल भएको देखाएको हो।

बैंकका अनुसार ७.१ प्रतिशतको आर्थिक वृद्धि पुग्न कृषि क्षेत्रको ५, उद्योगको ८.२ तथा सेवा क्षेत्रको वृद्धिदर ७.३ प्रतिशत रहेको थियो। आर्थिक वृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७, १५.२ र ५७.८ प्रतिशत छ। बैंकका अनुसार गत आवमा कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको २०.५ प्रतिशत पुगेको छ। गत आवमा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४.६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो। मूल्यवृद्धि पहाडमा ५, हिमालमा ४.९ , काठमाडौं उपत्यकामा ४.९ र तराईमा ४.३ प्रतिशत रहेको छ।

बैंकका अनुसार कुल वस्तु निर्यात १९.४ प्रतिशतले बढेर ९७ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्ष निर्यात ११.४ प्रतिशतले बढेको थियो। भारततर्फ ३४.३ प्रतिशत र अन्य मुलुकतर्फ ०.२ प्रतिशतले निर्यात बढेको छ। चीनतर्फको निर्यातमा १३.५ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम आयल, पोलिस्टर यार्न, जुटका सामान, दाल, चाउचाउ लगायत वस्तुको निर्यात बढेको छ। अलैंंची, तयारी पोसाक, पस्मिना, जुत्ता तथा चप्पल, छाला लगायत वस्तुको निर्यात घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वृद्धि ७.१ प्रतिशत पुग्न कृषि क्षेत्रको ५, उद्योगको ८.२ तथा सेवा क्षेत्रको वृद्धिदर ७.३ प्रतिशत रहेको थियो।

गत आवमा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थ, तयारी पोसाक, विद्युतीय सामान, अन्य मेसिनरी पार्टपुर्जा, एमएस बिलेट लगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लास्टिक दाना लगायत वस्तुको आयात घटेको छ।

कुल वस्तु व्यापार घाटा १३.५ प्रतिशतले विस्तार भई १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ। व्यापार घाटाको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत छ। निर्यात–आयात अनुपात ६.८ प्रतिशत छ। अघिल्लो वर्ष अनुपात ६.५ प्रतिशत थियो।

गत वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षमा ३२.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ९.३ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो।

गत आवमा चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोडले घाटामा छ। अघिल्लो वर्ष यस्तो घाटा दुई खर्ब ४७ अर्ब ५७ करोड रहेको थियो।

अर्थतन्त्रका परिसूचक
–  शोधनान्तर घाटा ६७ अर्ब ४० करोड
–  चालु खाता घाटा दुई खर्ब ६५ अर्ब ३७ करोड
–  मूल्य वृद्धिदर ४.६ प्रतिशत
–  वस्तु निर्यात ९७ अर्ब ११ करोड
–  वस्तु आयात १४ खर्ब १८ अर्ब
–  व्यापार घाटा १३ खर्ब २१ अर्ब
–  विप्रेषण ८ खर्ब ७९ अर्ब २७ करोड
–  विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब
–  सरकारी खर्च १० खर्ब ३१ अर्ब
–  राजस्व आय ८ खर्ब ६५ अर्ब

यस्तै, गत आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा छ। अघिल्लो वर्ष ९६ करोडले बचतमा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा ५९ करोड १० लाखले घाटामा रहेको छ।

बैंकका अनुसार पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड थियो।

मुलुकको कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोडमा झरेको छ। अघिल्लो असारमा यो ११ खर्ब दुई अर्ब ५९ करोडमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष यो १० अर्ब आठ करोड रहेकोमा गत असार मसान्तमा नौ अर्ब ५० करोडमा झरेको हो। गत आवलाई आधार मान्दा सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्नेछ।

गत आवमा सरकारको कुल खर्च १० खर्ब ३१ अर्ब १५ करोड पुगेको छ। राजस्व परिचालन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) आठ खर्ब ६५ अर्ब ५५ करोड छ। गत आवमा कुल पर्यटक आगमनमा २३.९ प्रतिशतले वृद्धि भई पर्यटक संख्या १२ लाख ३८ हजार पाँच सय ८९ पुगेको छ।

प्रकाशित: १६ भाद्र २०७६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App