१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पशुपतिनाथ आरतीगानको सुरुवात राष्ट्रियगानबाट

काठमाडौं - साझँ परेसँगै पशुपतिनाथ परिसरमा हुने आरतीगानमा नयाँ प्रयोगको थालनी भएको छ।  धार्मिक गीतसंगीतबाट सुरु हुने आरतीगानको सुरुवात राष्ट्रियगानबाट हुन थालेको छ।  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धेरैतिरबाट सल्लाह सुझाव आएपछि शुक्रबार पशुपति क्षेत्र विकास कोष र आरतीगान प्रस्तुत गर्दै आएको गंगा आरती टिमसँग बसेर यस्तो निर्णय गरेका थिए।

शुद्ध मन लिएर आरतीगान सुन्न पुगेका भक्तहरुमा राष्ट्रयगानको माध्यमद्वारा सचेत र राष्ट्रिय भावना जागृत गराउनका लागि यस्तो निर्णय गरिएको मन्त्री भट्टराइले जानकारी दिए।  उनले पशुपतिनाथ क्षेत्रमा साँझपख हुने आरतीगानको सुरुवात राष्ट्रगानबाट गर्दा केहीले विरोध गरेको बताए।  उनले सबैतिरबाट सल्लाह सुझाव आएपछि नै शुक्रबारदेखि नै आरतीगानको सुरुवात राष्ट्रगानबाट गर्ने निर्णय गरेको बताए।  उनले भने, ‘आरती भनेको उत्सव हो, उत्सवको बेलामा राष्ट्रगानको महŒव बढी हुन्छ।  यसले सकारात्मक सन्देश प्रवाह गरेको छ तर केही विरोधीहरुले यसलाई आलोचना गरेका छन्।  मेरो नाम लेखेर सोसल मिडियामा उडाएका छन्। ’ उनले पशुपतिनाथ क्षेत्र मानिसको जीवनको अन्तिम ठाउँ मात्रै नभएर दुःख बिसाउने ठाउँ पनि भएकोले यस्तो ठाउँमा राष्ट्रिय भावना जागृत गराएर सचेतता जगाउन आवश्यक रहेको बताए।

युवामाझ लोकप्रिय आरतीगान
दिनभरी कामकाजमा व्यस्त रहेका युवाहरु साझँ परेसँगै पशपतिनाथ परिसरमा झुल्किन्छन्।  विगतमा आरतीगानमा भेटिन मुस्किल पर्ने युवा जमात अहिले भने उल्लेख्य संख्यामा उपस्थित हुन थालेका छन्।  आरतीमा रमाएका युवाहरुलाई देख्दा नयाँ पुस्तामा धार्मिक महत्व बढेको पुष्टि भएको बताउँछन् पशुपतिनाथ एवं बाग्मती गंगा संगीतमय सेवा सन्ध्या आरती समितिका सचिव दुर्गाप्रसाद खतिवडा।  ‘मानिस शुद्ध मन बोकेर यहाँ आउँछन्।  उनीहरुमा स्वतः देशप्रतिको माया ममता भेटिन्छ।  अझ राष्ट्रयगान बजाउँदा त्यसले धेरैलाई ऊर्जा थप्न, देशप्रतिको माया बढाउँछ,’ उनले सुनाए।

बानेश्वर बस्ने चिरञ्जीवि न्यौपाने साताको दुईतीनपटक आरतीगानमा सरिक हुने आउने बताउँछन्।  ‘एकछिन भए पनि निश्चिन्त हुन पाइन्छ,’ उनी भन्छन्, ‘एकाग्र भएर आरतीगान सुन्दा मन हल्का हुन्छ।  दिनभरीको थकान मेटिन्छ। ’ त्यसो त बाग्मती किनारमा दाहसंस्कार हुने भएकोले राष्ट्रियगान बज्नु कत्तिको औचित्यपूर्ण भन्ने जिज्ञाशा उठ्न थालेको छ।  तर, मन्दिरका पुजारी तथा संस्कृति क्षेत्रका जानकारहरु यसलाई अन्यथा लिनु नपर्ने बताउँछन्।

आरतीको सुरुवात राष्ट्रयगानबाट हुनुपर्छ भन्ने धारणा राख्दै आएका युवा अगुवा नरेन्द्र चुदालीले पशुपतिमा बज्ने राष्ट्रियगानको औचित्य पृथक रहेको बताए।  उनले भने, ‘राष्ट्र शान्ति र राष्ट्र संकल्पको निम्ति पूजा आराधना हुने पवित्र पशुपतिनाथमा राष्ट्रिय गान बज्नु निकै सराहनीय पक्ष हो।  यसले सांकेतिक रुपमा उच्च महत्व राख्छ।  पवित्र भावसहित गंगा आरतिमा उपस्थित नागरिकबीचमा राष्ट्रको धुन बज्नु सकारात्मक हो। ’

प्रकाशित: १६ भाद्र २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App