coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चीन जोड्ने छरितो नाका खुलाउन टेन्डर तयारी

दोलखाको लामाबगर गाउँबाट सडक विभागले बर्सेनि टुक्रे ठेक्कामार्फत खन्दै गरेको चीन जोड्ने सडक। तस्बिर:रमेश/नागरिक

दोलखा – सरकारले दोलखाको लामाबगरबाट चीन जोड्ने लामाबगर नाका सडकको आउँदो हिउँद अघि टेन्डर खुलाउने तयारी थालेको छ। चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो भनिएको यो सडक एउटा प्याकेजमा लगानी गरेर निर्माण गर्न सरकारले टेन्डर खुलाउने तयारी थालेको हो।

यसअघि नाका खुलाउन बर्सेनि न्यून बजेट र स–साना टुक्रे ठेक्का लगाएर काम गरेजस्तो देखिए पनि यो नाका सरकारको प्राथमिकतामा पर्ने गरेको थिएन। दुई वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनले नाका खुलाउन करिब डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो।    

दोलखा सदरमुकाम चरिकोटबाट लामाबगर गाउँसम्म माथिल्लो तामाकोसीले यसअघि नै सडक पु-याइसकेकाले त्यहाँभन्दा उता सिमाना ३२ किलोमिटर सडकले जोड्ने गरी आउदो हिउँदअगावै टेन्डर खुलाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले गृहकार्य थालेको हो। चरिकोटबाट ६८ किमि दूरीमा रहेको लामाबगरसम्म माथिल्लो तामाकोसीले सडक पु-याइसकेको छ। लामाबगर उता विभागकै टुक्रे ठेक्काले तीन किमि ट्र्याक खोलिएको छ।    

लामाबगर नाका खुलाएर दोलखा हुँदै रामेछाप, सिन्धुली बर्दिबास र भिटामोडसम्म जोडेर लामाबगर सितामढी चल्ने उत्तर दक्षिण जोडिने प्रमुख मार्गका रुपमा यो सडकलाई विकास गर्ने सरकारको योजना छ। सरकारी स्रोतबाटै सुरुङसहितको सडक खन्ने टेन्डरको गृहकार्य भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए। ‘लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसीको बाँधस्थल छेउबाट झन्डै दुई किमि सुरुङ छेडेर त्यहाँबाट तिब्बती सिमानासम्म सडक पु-याउने गरी गृहकार्य भइरहेको छ,’ कार्कीले भने, ‘यो नाकालाई समेत छिट्टै खुलाएर उत्तर दक्षिण जोड्ने सडकका रुपमा विकास गर्नेगरी सरकार लागिपरेको छ।’  

सडक विभागका महानिर्देशक केशव शर्माले मन्त्रिपरिषद् बैठकमार्फत मोडालिटी  टुंगीएपछि ठेक्का लाग्ने सुनाए। ‘हामीले माथिल्लो तामाकोसी आयोजनामै कार्यरत चिनियाँँ ठेकेदारमार्फत सुरुङको काम गराउने मोडालिटी अघि सारेका हौं,’ शर्माले भने, ‘प्रधानमन्त्री ज्यू विदेशबाट फर्किएलगत्तै कस्तो मोडालिटीमा गर्ने भनेर टुंग्याएपछि टेन्डरको तयारी हुनेछ।’

शर्माका अनुसार यो मार्ग महोत्तरीको भिटामोडदेखि बर्दिबास, खुर्कोट हुँदै रामेछाप सदरमुकाम मन्थली निस्केर दोलखाको नयाँ पुलबाट सिंगटी हुँदै लामाबगर र चिनियाँ सीमासम्म हुनेछ। त्यसका लागि दोलखाको नयाँ पुलदेखि सिंगटीसम्म नयाँ ट्र्याक बनाउनुपर्ने विभागले जनाएको छ। ‘त्यहाँ दोलखा सदरमुकाम चरिकोट घुमेर जाँदा अलि टाढा हुने भएकाले दूरी छोट्याउन नयाँ पुलबाट सिंगटीसम्म नयाँ ट्र्याक खुलाउने तयारी गरेका हौं,’ शर्माले भने। लामाबगरदेखि लप्ची गाउँ हुँदै तिब्बतको यार्सास्थित फलाक बजारको नेपालतर्फको सिमानासम्म सडक खन्ने तयारी गरिएको सडकको दूरी ३२ किमि हुने प्रारम्भिक अनुमान विभागको छ। यो नाका डिजाइन र बिड एकैपटक गर्ने गरी टेन्डर खुलाउने तयारी सरकारको छ। ‘डिजाइन र बिड एकैपटक हुने गरी ठेकेदारको छनोट गर्छौ,’ शर्माले भने।

सुरक्षित र छरितो
लामाबगर नाका चीनसँगको सीमा जोडिएकामध्ये अहिलेसम्मकै सुरक्षित र छरितो हुने अनुमान सरकारी अधिकारीको छ। ‘केरुङ र तातोपानी पहिरोको अत्याधिक जोखिममा छ,’ विभागका एक अधिकारीले भने, ‘तर सिंगटीबाट लामाबगर हुँदै चीनको सिमानासम्म उता लागेपछि चट्टानयुक्त पहाडका कारण यहाँ पहिरोको जोखिम देखिँदैन।’ त्यसका लागि माथिल्लो तामाकोसीले लामाबगरसम्म पु-याएको सडक हेर्न सकिने ती अधिकारीको तर्क छ।

यो नाकालाई चीनसँगको व्यापारिक सम्बन्ध र उत्तर दक्षिण जोड्नका निम्ती छोटोसमेत हुने जानकारको भनाइ छ। चीनको प्रमुख व्यापारिक सहर सिगात्सेबाट लामाबगर आइपुग्न केरुङ र तातोपानीभन्दा ८० किमि छोटो पर्ने बताइएको छ। सिगात्सेबाट लामाबगर नाका हुँदै राजधानी आइपुग्न उस्तै दूरी हुने जानकार बताउँछन्।

प्रकाशित: १६ भाद्र २०७६ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App