८ वैशाख २०८१ शनिबार
राजनीति

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ।  आयोगले यसैसाथ निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गर्ने तयारी गरेको हो।

‘निर्वाचनका लागि गर्नुपर्ने ४२ कामअनुसार तयारी तीव्र गतिमा अघि बढाइरहेका छौं,’ आयोग प्रवक्ता शंकरप्रसाद खरेलले नागरिकसँग भने ‘अब एकदुई दिनभित्रै उपनिर्वाचनमा भाग लिन इच्छुक दललाई दल दर्ताका लागि आह्वान गर्दैछौं। ’ नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने अनिवार्य हुन्छ।

मतदाता भदौभित्रै टुंगो लाग्ने
आयोगले २०७६ साउन १६ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम भएका मतदाताको नामावली प्रशोधनको काम भैरहेको जनाएको छ।  आयोग प्रवक्ता खरेलका अनुसार निर्वाचनको मिति घोषणासम्म मतदाता नामावलीमा नाम लेखाएकालाई मात्र मतदान गर्न पाउने व्यवस्था गरेको हुँदा त्यो दिनसम्म मतदाता नामावलीको अन्तिम संख्या निकाल्ने तयारी गरेको हो।  आयोगका अनुसार हाल ७७ वटै जिल्लाबाट मतदाता नामावलीको इन्ट्रिगेसनको काम सकेर अहिले प्रशोधनको काम भैरहेको छ।  ‘डुप्लिकेसन भएका नाम हटाउने, ठेगानालगायतका विवरण रुजु गर्नुपर्ने र अन्य कुनै त्रुटि भए हटाएर मतदाता नामावली प्रशोधन गर्ने काम भैरहेको छ,’ प्रवक्ता खरेलले भने ‘अब भदौ महिनाभित्रै हामीले मतदाता नामावली प्रशोधन गरी सम्बन्धित क्षेत्रमा दाबी विरोधका लागि पठाउँछौं र मतदाताको अन्तिम नामावली सार्वजनिक गर्छाै। ’

उपनिर्वाचनका लागि आयोगले अर्थ मन्त्रालयसँग ३९ करोड रुपैयाँ माग गरिसकेको छ।  उक्त रकम निर्वाचन सामाग्री, प्रशिक्षण, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन, मतपत्र छपाइलगायत निर्वाचनका सम्पूर्ण प्रक्रियामा खर्च हुनेछ।  आयोग प्रवक्ता खरेलले कार्यविधि निर्माण, आचारसंहिता निर्माण लगायतका तयारीहरु समेत अघि बढिरहेको जानकारी दिए।  आयोगका अनुसार उपनिर्वाचनका लागि ४ सय ५० मतदान केन्द्र रहने अनुमान गरिएको छ भने ६ हजार ८ सय जनशक्ति आवश्यक पर्ने जनाइएको छ।

सरकार र आायोगले विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका पदहरुमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेका थिए।  यसअघि २०७४ सालमा विभिन्न चरणमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भएको थियो।  उक्त निर्वाचनपछि विभिन्न कारणले तीनवटै तहमा गरी रिक्त भएका ५१ पदको आयोगले मंसिरमा उपनिर्वाचन गराउनेछ।  आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, र वडाध्यक्ष ४२ गरि ५१ पदको उपनिर्वाचन हुनेछ।  यसरी पद रिक्त भएर उपनिर्वाचन हुन लागेका जिल्लाको संख्या ३६ छ।

जसअनुसार प्रतिनिधिसभातर्फ कास्की २ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त छ।  प्रदेशसभातर्फ बाग्लुङ २ का टेकबहादुर घर्ती, भक्तपुर १ बाट निर्वाचित हरिशरण लामिछाने र दाङ ३ का उत्तरकुमार ओलीको निधन भएपछि प्रदेशसभातर्फ तीनवटा पद रिक्त छन्।  स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको गत वर्ष निधन भएपछि मेयर पद रिक्त छ।  विभिन्न स्थानीय तहमा ८ सय ६४ वटा वडासदस्य समेत रिक्त छन्।  वडासदस्यको उपनिर्वाचनबारे कानुनमा कुनै व्यवस्था नभएका कारण वडासदस्यको उपनिर्वाचन नहुने आयोगले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App