coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जनता आकर्षित गर्न सकिएन’

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले केपी ओली नेतृत्व सरकार सबै क्षेत्रमा असफल भए पनि पार्टीले जनताको मन जित्नेगरी कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन्।  पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी शीर्ष नेतालाई मिलेर जनताको विश्वास जित्नेगरी आर्थिक, समाजिक र राजनीतिक कार्यक्रम ल्याउन नेतृत्वलाई सुझाएका हुन्।

कम्युनिस्ट नेतृत्व सरकारको असफलताले कांग्रेसको सफलता सम्भव नहुने जनाउँदै केन्द्रीय सदस्यहरूले कांग्रेसले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुको साथै आर्थिक विकास गर्छ भन्ने कुरामा आश्वस्त गराउनुपर्ने बताएका छन्।  प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको यसबीचमा पार्टीले नयाँ मतदातालाई आकर्षण गर्नेगरी कुनै कार्यक्रम ल्याउन नसकेको गुनासो गरे।

पार्टी केन्द्रीय सदस्य प्रदिप गिरिले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेता ९०÷९५ वर्षसम्म बाँच्ने भन्दै मिलेर पार्टी चलाउन आग्रह गरे।  ‘प्रधानमन्त्री र पार्टी सभापति नभई तपार्इंहरू मर्नुहुन्न नआत्तिनुहोस्,’ गिरिलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईहरुले नयाँलाई आउन दिने होइन गोला हालेर हुन्छ कि ज्योतिषीलाई देखाएर हुन्छ मिल्नुस् र पालैमिलो खानुस्। ’

सडक र संसदमा पार्टीको भूमिका कमजोर भएको गुनासो गर्दै केन्द्रीय सदस्य महेश आर्चायले सरकारका गलत निर्णयकाविरुद्ध सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले संसदभित्र र बाहिर बोल्न सुझाए।  सभापतिले बोलेको कुरा नै प्रभावकारी हुने तर्क गर्दै आचार्यले भने, ‘सरकारले सर्वदलीय बैठक राखेर लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ भन्यो हामीले के र कहाँबाट भनेर प्रधानमन्त्रीलाई ¥याख¥याख पार्नुपर्ने हो त्यो भूमिका निर्वाह गर्न सकेनौ। ’

सरकारले काण्डैकाण्डै मच्चाइरहे पनि पार्टीले त्यसलाई प्रभावकारी रूपमा उठाउन नसकेको उनको बुझाइ थियो।  पार्टीका सबै नेताको ध्यान १४औं महाधिवेशन केन्द्रित हुन थालेको सुनाउँदै अर्का केन्द्रीय सदस्य मीनेन्द्र रिजालले भने, ‘आगामी २० महिना हामी अझै धेरै अन्तरमुखी बन्ने अवस्थामा छौं।  हामीले विपक्षी दल पनि छ भन्ने नभुली कार्यक्रम निर्माण गराैं। ’

कास्कीसहितका केही ठाउँमा हुने उपनिर्वाचनलाई जनमत संग्रहसँग तुलाना नगर्न आग्रह गर्दै रिजालले भने, ‘नियमित प्रक्रियालाई अस्वभाविक रूपमा प्रस्तुत नगराैं। ’

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले संविधान जारी भएको छिटो समयमै विभिन्न स्वार्थ समूह संघीयता, धर्मनिरपेक्षता, शासन व्यवस्थामाथि प्रहार गर्न लागिपरेको बताए।  संविधान संशोधन गर्ने पार्टीसँग स्पष्ट संख्या नभएकाले संशोधनको मुद्दा उठाउनु आवश्यक नरहेको औंल्याउँदै जनतालाई आकर्षण गर्ने अजेन्डा तय गर्न नेतृत्वलाई सुझाए।  २१ बुँदे लिखित धारणा राख्दै घिमिरेले आर्थिक मुद्दालाई पार्टीले प्रमुख मुद्दा बनाएर जानुपर्ने तर्क गरेका छन्।  ‘भ्रष्ट्राचार अनियमितालाई जनतामाझ लैजानुप-यो,’ उनले भने, ‘जनताले विशवास गर्ने गरी आर्थिक विकासका मुद्दाहरुलाई अघि सारेर पार्टी अघि बढ्नुपर्छ। ’

आगामी निर्वाचन पार्टीले जित्नका लागि ३५ लाख मतदातालाई आफ्नो पक्षमा पार्नुपर्ने धारणा राख्दै केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीले त्यस अनुसार कार्यक्रम ल्याउन नसकेको तर्क गरे।  बैठकमा महेश आचार्य, प्रदीप गिरि, रमेश रिजाल, मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, चन्द्र भण्डारी, गगनकुमार थापा, श्यामकुमार घिमिरे, डिला संग्रौलासहितका नेताले आ–आफ्नो धारणा राखेका छन्।  बैठक भदौ १७ गते पुनः बस्नेछ।

प्रकाशित: १६ भाद्र २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App