१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्।

तीजको अवसरमा सोमबार बिहान शुभकमना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गरेकी छन्।

सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सदभाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपतिको सन्देशमा उल्ल्ेख छ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गरेका छन्। उनले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचोसमेत औँल्याएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिला अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको बताएका छन्। तीजको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमै गौरव गर्नलायक रहेको बताए।

नेपाली महिलाहरुले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेका स्मरण प्रधानमन्त्रीको सन्देशमा गरिएको छ।  'नेपालको सकारात्मक साँस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,' तीजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, 'आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरु बनिसकेका छन्।'

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाहरुको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताउनुभएको छ।  'राजनीतिक लगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति उल्लेखनीय रहेको छ।  महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,' शुभकामना सन्देशमा भनिएको छ, 'नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितीले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ।'

प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, महिलाको प्रतिनिधित्व संसदा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्य राख्दै प्रधानमन्त्रीले यसमा प्रत्येक नेपालीलाई गौरवको अनुभूति हुने बताएका छन्।  

आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी तीज मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ।

प्रकाशित: १६ भाद्र २०७६ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App