१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस्ती पसेका गैडा उद्धारमा सकस

साउन ३० गते भरतपुरको बसपार्कबाट गैंडा उद्धार गरिँदै। तस्बिरः नागरिक

चितवन - वनमा घुम्ने गैंडा साउन ३२ गते बिहान भरतपुर–९ स्थित केन्द्रीय बसपार्क आडैमा रहेको टोलमा देखियो।  बजारक्षेत्रमा गैडा आएपछि गैंडाको नजिक पुगेर फोटो खिच्ने र हेर्नेको भीड बढ्यो।  भीड र होहल्ला बढ्दै जाँदा गैंडा यताउता दौडियो।  बसपार्क नजिकै रहेको प्लटिङको झाडीमा लुक्यो।  झाडीमा लुकेको गैंडा जुनसुकै बेला निस्कन सक्ने खतरा भएकाले स्थानीयले यसबारे चितवन राष्ट्रिय निकुञ्जलाई जानकारी गराए।

बसपार्कदेखि दक्षिण र पूर्वतर्फ केही पर बरन्डाभार जंगल छ।  वन छाडेर बसपार्कसम्म पुग्न करिब पाँच किलोमिटर दुरी पार गर्नुपर्छ।  बजारक्षेत्रमा गैंडा आएर बसेको जानकारी पाएपछि उद्धार गर्न निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी) का कर्मचारी खटिए।

सामान्यतया एउटा गैंडा उद्धारमा एक लाख रुपैयाँदेिख चार लाख रुपैयाँसम्म खर्च हुन्छ।

  बिहान आठ बजे बसपार्क क्षेत्र पुगेको कर्मचारी टोलीले मध्याह्नबाट मात्र काम सुर ग-यो।  उद्धार टोलीमा प्राविधिक, कर्मचारीसँगै ६ वटा हात्ती पनि थिए।  हात्तीमा चढेर गैंडा लुकेको झाडीतर्फ प्राविधिक गए।  गैंडालाई डार्ट हान्ने, बेहोस बनाउने, खोर भएको ट्रकमा राख्ने काम गर्दा साँझ पर्न लागिसकेको थियो। बेहोस बनाएर नियन्त्रणमा लिइएको करिब २२ वर्षको भाले गैंडालाई भरतपुरबाट २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने चितवन निकुञ्जको मुख्यालय कसरा नजिकको तमोर ताल क्षेत्रमा लगेर छाडियो।

चालु आर्थिक वर्षमा निकुञ्जले पहिलोपटक साउनमा बस्तीबाट गैंडा उद्धार गरेर वनमा लगेर छाडेको हो।  गत आर्थिक वर्षमा निकुञ्जले पाँचवटा गैंडा उद्धार गरेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे बताउँछन्।  चारवटा भाले र एउटा पोथी गैंडाको उद्धार गरिएको उनले जानकारी दिए।

गत मंसिर २३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसर रामपुरबाट ८ वर्ष हाराहारीको भाले गैंडालाई उद्धार गरिएको थियो।  सो गैंडालाई निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहा क्षेत्रमा छाडियो।  पुस १ गते नवलपरासीको सुस्ताबाट करिब १४ वर्षको पोथी गैंडालाई नियन्त्रणमा लिएर तमोर ताल क्षेत्रमा छाडिएको घिमिरे बताउँछन्।  पुस २० गते भरतपुर महानगरपालिका–१५ को मंगलपुर बस्तीमा पुगेको गैंडालाई नियन्त्रणमा लिइएको थियो।

करिब आठ वर्षको सो भाले गैंडालाई निकुञ्जको पूर्वी क्षेत्रमा लगेर छाडियो।  फागुन ८ गते पूर्वी चितवनको मध्यवर्ती क्षेत्रको कुमरोज सामुदायिक वनबाट झन्डै एक महिनाको भाले गैंडा (केटो) लाई नियन्त्रणमा लिएर उपचार गरिएको घिमिरेले बताए।  माउसँग छुट्टिएको घाइते गैंडाको केटो उपचारका क्रममा म¥यो।  फागुन ९ गते माडीको वनकट्टाबाट ३० वर्ष हाराहारीको भाले गैंडालाई निकुञ्जका कर्मचारीले उद्धार गरी सौराहाको वनभित्र लगेर छाडे।

गैंडा उद्धारमा कम्तीमा २५ जना खटिनुपर्छ
निकुञ्ज तथा वरिपरिको वन क्षेत्रबाट बस्तीमा पुग्ने गैंडाको उद्धारका लागि धेरै जनशक्ति खटिनुपर्छ।  यस कार्यमा हात्तीको समेत सहयोग लिने गरिएको छ।  चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले मिलेर वन्यजन्तुको उद्धार गर्दै आएका छन्।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार गैंडा उद्धारमा कम्तीमा २५ जना चाहिन्छ।  धेरैजसो गैंडाको एक दिनमा र कुनैलाई भने दुई दिनसम्म लगाएर उद्धार गर्नुपर्ने उनी बताउँछन्।  गत वर्षमा नवलपरासीको सुस्ताबाट गैंडाको उद्धार गर्न दुई दिन लागेको उनले बताए।

‘घेराभन्दा बाहिर नजाओस् भनेर हात्ती पनि खटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘कहिले एकदुई दिन बसेर पनि ल्याउनुपर्ने हुन्छ, त्यस्तो बेलामा खर्च बढी हुन्छ। ’ वन्यजन्तु उद्धारको खर्च केन्द्रले बेहोर्दै आएको उनी बताउँछन्।  केही खर्च निकुञ्जको पनि लाग्ने उनले बताए।

गैंडालाई लठ्याउने, बेहोस बनाउने औषधि, उद्धार गर्ने खोर, ट्रकको व्यवस्थापन, प्राविधिक खर्च सबै केन्द्रले गर्दै आएको केन्द्रका सौराहा प्रमुख रामकुमार अर्याल बताउँछन्।  सजिलो ठाउँ, नजिकको दुरी, कम समयमा उद्धार गर्दा कर्म खर्च लाग्ने भए पनि विशेष र अप्ठेरो ठाउँबाट उद्धार गर्दा खर्च बढी हुने उनी बताउँछन्।  गैंडा उद्धारमा चिकित्सिक, हात्तीसारका कर्मचारी, प्राविधिक, अन्य कर्मचारी गरी २५ जना भन्दा बढी खटिनुपर्ने उनले बताए।  उनका अनुसार सामान्यतया एउटा गैंडा उद्धारमा एक लाख रुपैयाँदेिख चार लाख रुपैयाँसम्म खर्च हुन्छ।

गैंडा मिठो घाँसको खोजीमा वनदेखि बाहिर निस्किन्छ।  गैंडालाई बस्तीसम्म जान नदिन वनभित्र घाँसे मैदान व्यवस्थापन, वन सीमाक्षेत्रमा छेकबार लगाउने कार्यसमेत गरिँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए।

प्रकाशित: १६ भाद्र २०७६ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App