७ वैशाख २०८१ शुक्रबार
राजनीति

जिवित कुमारीको मासिक भत्ता ५० हजार, पूर्वगणेश र कुमारको पनि भत्ता बढ्यो

काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ। त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ। 

राजधानीमा आज आयोजित  पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशश्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषण गर्दै भत्ता समेत वितरण गरेका हुन्। अब हरेक महिना पूर्व कुमारीले १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेछन्। पूर्वकुमारीले भने १५–१५ हजार प्राप्त गर्नेछन्। यसअघि पूर्वभैरव र गणेशले ८–८ हजार र पूर्व कुमारी र चिताइदारले १०–१० हजार प्राप्त गर्दै आएका थिए। त्यसैगरी जिवित कुमारी र चिताइदारले २५–२५ हजार प्राप्त गर्दै आएका थिए। अब उनीहरुले ५०–५० हजार प्राप्त गर्नेछन्। पूर्व कुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना छन्। 

त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ। महानगरपालिकाले सो समितलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो। यो वर्षदेखि करीब २४ लाख रुपयौँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ। ०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख सहयोग गर्दै आएको थियो। अब सबै रकम महानगपालिकाले नै सहयोग गर्ने छ।  

त्यसैगरी इन्द्रजात्रा सञ्चालनका लागि आगामी वर्षदेखि कोष स्थापना गर्ने र त्यसैबाट जात्रा सम्पन्न गर्ने समेत तयारी गरेको महानगरपालिकाले जानकारी दिएको छ। संस्कृति तथा पर्यटन मन्त्रालयबाट २ करोड, महानगरपालिकाबाट २ करोड र गुठी संस्थानबाट एक करोड जम्मा गरी पाँच करोडको अक्षयकोष स्थापना गर्ने विषयमा समेत छलफल अघि बढेको भन्दै मेयर शाक्यले यसका लागि कार्यविधि बनाएर छिट्टै कोषको स्थापना गर्ने बताए। कोष स्थापना गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सकारात्मक रहेको उनको भनाई थियो। 

भत्ता दिइएको पूर्व गणेशः गणेश शाक्य, पुरुषोतम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रनवराज शाक्य, कपिलरत्न शाक्य छन् भने पूर्व कुमारमा इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दिपक शाक्य, बाल पुरुषोतम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्य छन्। 

त्यसैगरी पूर्व कुमारीमा नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य, प्रिति शाक्य, मनिता शाक्य छन्।

गुठीका बारेमा साझा धारणा बनाएर अघि बढौँः मेयर शाक्य 

मेयर शाक्यले राजनीतिक आस्था र व्यक्तिगत कारणले महानगरपालिका भित्रका सम्पदा पुर्ननिर्माणमा केही समस्या भएको गुनासो गरे। ‘काष्ठमाण्डप, धरहरा र रानीपोखरी छिटो सम्पन्न गर्नुपर्छ भनेर म निर्वाचित भएदेखि नै निरन्तर लागेको छु’, मेयर शाक्यले भने, ‘तर, केहीले राजनीतिक आस्थाका कारण र केहीले चाहीँ ठेक्का–पट्टा उनीहरुलाई परेन भनेर अवरोध गरे। त्यसले केही समस्या भयो।’ उनले पुरातत्व विभागले पनि सकारात्मक भूमिका खेल्न नसक्दा थप समस्या भएको गुनासो गरे। ‘पुनर्निर्माणको काम समयमा सम्पन्न भएन भने लागत पनि बढेर जान्छ,’ उनले भने, ‘तर, केहीले सरकार असफल बनाउन केहीलाई उक्साउने प्रवृत्तिका कारण समस्या भयो।’

मेयर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा आफू दत्तचित्त भएर लागेको पनि बताए। ‘परम्परा धान्ने कुरामा म कुनै पनि कमी हुन दिन्न’, उनले भने, ‘संस्कृति, परम्परा हाम्रा अमूल्य निधी हुन्।’ उनले इन्द्रजात्रालाई यो पटक अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी मनाउन लागेको पनि जानकारी दिए।  ‘यो पटक हामीले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्दैछौँ’, उनले भने, ‘विभिन्न देशका मेयर र प्रतिनिधिलाई इन्द्रजात्रा अवलोकन गर्न बोलाएका छौँ। यो उनीहरुलाई नेपाल चिनाउने अवसर पनि हो।’ शाक्यले गुठी विधेयकका बारेमा पनि साझा धारणा बनाएर जानु पर्नेमा जोड दिए। ‘गुठी विधेयकका बारेमा मैले साथीहरुलाई बारम्वार साझा धारणा बनाएर ल्याउनुहोस् म मेयरको नाताले अगुवाइ गर्न तयार छु भनेको छु,’ काँग्रेस सांसद भीमसेन दास प्रधानले गुठीका बारेमा महानगरपालिकाको धारणा मागेपछि मेयर शाक्यले भने, ‘यो भन्दा पहिला पनि मैले समस्याको समाधान खोज्नुपर्छ भनेर प्रधानमन्त्रीज्यू लगायतलाई भेटेको हुँ। अहिले पनि समस्याको समाधान गरेर अघि बढ्ने कुरामा मेरो तर्फबाट कुनै पनि असहयोग हुँदैन। गुठीको सांस्कृतिक सम्पदा बचाउन महानगर तयार छ।’ 

प्रकाशित: १५ भाद्र २०७६ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App