coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अमेरिका–चीन व्यापार युद्धले कर्णालीमा असर

वीरेन्द्रनगर– विश्वका दुई ठूला अर्थतन्त्र राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध बढ्दै जाँदा नेपालमा प्रत्येक्ष असर परेको छ। परनिर्भर नेपालले सुन कारोबारमा पनि ठूलो मार खेप्नु परिरहेको छ। सुनचाँदी व्यवसायीहरूको धेरै व्यापार हुने तीजमा यही युद्धले आधा व्यापार घाटा भएको छ।

यसले नेपालका पश्चिमी पहाडी जिल्लामा झनै ठूलो असर पु-याएको सुनचाँदी व्यवसायीहरूको भनाइ छ। अमेरिका र चीनबीच व्यापार युद्ध हुँदा सुनको मूल्य घटेन। अहिले यहाँका व्यापारीहरूले अन्तर्राष्ट्रिय मूल्यमा सुनको कारोबार गरिरहेका छन्, जसको प्रत्यक्ष असर व्यापार घाटाले देखाउँछ।

गत वर्षभन्दा अहिले पश्चिमी पहाडी कर्णाली प्रदेशमा सुनको कारोबारमा ठूलो गिरावट आएको छ। गतवर्षको तुलनामा आधाभन्दा कम व्यापार भएको जिल्ला सुनचाँदी व्यवसायी संघले जनाएको छ। गत वर्ष कर्णालीमा सात केजीसम्म सुन बिक्री भएको जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष डम्मर सुनारले नागरिक न्यूजलाई बताए। उनका अनुसार यस वर्षको तीजका लागि चार केजी सुन बैंकबाट निकालिएको थियो। जसमध्ये पूरै सुन बिक्री नभएको अध्यक्ष सुनारले जानकारी दिए। उनले भारत र पाकिस्तानको तनावले पनि सुनको कारोबार राम्रो हुन नसकेको बताए। भारतमा पनि सुनको मूल्यमा गिरावट नआउँदा नेपालले पनि प्रत्यक्ष असर व्यहोरोको सुनचाँदी व्यवसायीहरूको भनाइ छ।

सुनको मूल्य निरन्तर बढ्दा सुन कारोबार कम भएको सुर्खेतका सुनचाँदी व्यवसायीहरूको भनाइ छ। सुर्खेतमा मध्यम र निम्न वर्गका व्यक्ति धेरै छन्। जिल्लामा सुनको मूल्य ७५ हजारसम्म पुगेको थियो। अपेक्षाभन्दा कम सुन कारोबार भएपछि तीजको अन्तिम समयमा भने सुनको मूल्यमा गिरावट आएको छ।

आइतबार ७३ हजार पाँच सयमा सुन कारोबार भएको छ। ‘अन्तिम समयमा सुनको मूल्य घटेर प्रभाव देखिएन,’ सुनचाँदी व्यवसायी राजु विश्वकर्माले भने, ‘सुनको मूल्य अघिल्लो साता महँगो नभएको भए सुन कारोबार बढ्थ्यो।’

‘सम्पन्न परिवारले काठमाडौं, नेपालगन्ज, पोखरालगायतका जिल्लाबाटै सुन खरिद गरेर आउँछन्,’ जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुनारले भने, ‘यहाँ धेरै मध्ययम वर्गले सुन किन्छन्।’ निम्न वर्गले चर्काे मूल्यमा सुन किन्न नसक्दा कर्णालीमा सुनको व्यापार कम भएको उनको भनाइ छ। यहाँका सम्पन्न परिवार काठमाडौंलगायतका सुविधासम्पन्न जिल्लामा बस्ने गर्छन्। उनीहरू तीज मनाउन जिल्ला आउँदा उतैबाट सुन खरिद गरेर ल्याउने गरेका छन्। यहाँ अधिकांश मध्ययम र निम्न वर्गले मात्र सुन खरिद गर्ने गरेका छन्।

यससँगै नक्कली गहनाको व्यापारले पनि सुन व्यवसायमा असर पु¥याएको जिल्ला सुनचाँदी व्यवसायी संघका कार्यालय सचिव टेकेन्द्र विश्वकर्माले बताए। ‘नक्कली गहना सुनजस्तै देखिने हुँदा केहिले नक्कली गहना लगाउँछन्,’ उनले भने, ‘जसले गर्दा उनीहरूले सक्कली गहना (सुन) किन्न छाडे।’

अमेरिकाले गत अगष्ट १५ तारिख गरेको भन्सार कर वृद्धिको घोषणा क्रमशः सेप्टेम्बर १ र डिसेम्बर १५ तारिखदेखि कार्यान्वयनमा आउनेछ। बदलास्वरूप चीनले पनि अमेरिकामा उत्पादित पाँच हजार ७८ वटा वस्तुका करिब ७५ अर्ब डलरका सामानमाथि क्रमशः १० र ५ प्रतिशत भन्सार कर बढाएको छ।

गत अप्रिलदेखि स्थगित भन्सार कर निरन्तर राख्ने चीनको सदाशयताका बाबजुद अमेरिकाले मे १० देखि २ खर्ब डलरको चिनियाँ सामानमा १० प्रतिशतको भन्सार कर २५ प्रतिशतसम्म बढाउने घोषणा गरेपछि स्थिति बिग्रिएको हो। अमेरिकी र चिनियाँ सरकारले एकअर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाइदिएका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी खिचातानी कर्णालीमा प्रत्यक्ष असर परेको छ।

प्रकाशित: १५ भाद्र २०७६ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App