coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमामा अवैध कारोबार बढ्दो

सांकेतिक तस्बिर

राजविराज- सप्तरीसँग जोडिएको भारतीय सीमा नाकाहरूबाट प्रतिबन्धित लागुऔषधको अवैध कारोबार ह्वात्तै बढेको छ।  लागुऔषध प्रयोगकर्ताहरू मात्रै नभई पछिल्लो समय संगठित रुपमै लागुऔषधका तस्करहरूले पनि सप्तरीका नाकाहरूलाई प्रमुखतासाथ प्रयोग गरिरहेको प्रहरी निकट स्रोतको दावी छ।  

सीमा नाकाहरूमा प्रहरीको सक्रियता पनि नदेखिएको होइन, सप्तरी प्रहरीले पछिल्लो समय लागुऔषध प्रयोगकर्तादेखि लिएर तस्करसम्मलाई नियन्त्रणमा लिन चौतर्फी प्रयास थालेको छ।  यद्यपि खुला सिमाना, काउण्टर पार्ट(भारतीय पक्ष)को तदारुकताको अभाव तथा सीमा छेउकै स्थानीयको संलग्नतालगायतका कारणले लागुऔषध तस्करीलाई नियन्त्रण गर्न प्रहरीलाई समेत कठिनाइ भइरहेको अवस्था छ।  यसबाहेक मध्यपहाडी जिल्लाका लागुऔषध प्रयोगकर्तासँगै ओसारपसारमा संलग्न तस्करहरूका लागि सप्तरीस्थित नाकाहरू मुख्य रोजाइ बन्न पुगेको हो।

सप्तरीस्थित मुख्य भन्सार नाका तिलाठी बेल्हीका अतिरिक्त अन्य सहायक नाकाहरूबाट समेत दैनिक सयांैका संख्यामा लागुऔषध प्रयोगकर्ता तथा तस्करहरूले पारि भारतीय सहरहरूबाट लागुऔषध नेपाल भिœयाउने गरेका छन्।  भन्सार निकट स्रोतका अनुसार मासिक ४० लाखभन्दा बढीको लागुऔषध जिल्लाका विभिन्न नाकाहरूबाट नेपाल भिœयाउने गरिएको छ।

सप्तरी तथा छिमेकी जिल्ला उदयपुरका अतिरिक्त खोटाङ र ओखलढुंगाका लागुऔषध प्रयोगकर्ता तथा तस्करहरूले अचेल सप्तरीस्थित सीमा नाकाहरूलाई प्रयोग गर्ने गरेको प्रहरी निकटकै विश्वस्त स्रोतको भनाइ छ।  यस्ता कार्यमा प्रहरीको संलग्नता वा मिलोमतोको खासै आधारहरू नदेखिए पनि लागुऔषध नियन्त्रणप्रति प्रहरीको उदासीनता तथा सीमा क्षेत्रमा रहेका प्रहरीहरूको निस्क्रियताका कारण यस्तो अवस्था उत्पन्न भएको स्रोतले बतायो।

खासगरी रुघाखोकीका बिरामीहरूले प्रयोग गर्ने राम्रो गुणस्तरका महँगा कफ–सिरपहरूलगायतका औषधिहरू लागुऔषधका रुपमा नेपाली युवाहरूले प्रयोग गर्ने गरेका छन्।  बढी मात्रामा अल्कोहल तथा अन्य नशालु पदार्थ प्रयोग गरिएका कतिपय भारतीय औषधिहरूलाई नेपालमा प्रतिबन्धितसमेत गरिएको छ।  तर नेपाली युवाहरू लागुऔषधको बढ्दो कुलत र पारि भारतीय सहरहरूमा त्यसको सहज उपलब्धताका कारण नेपाली युवाहरू सप्तरीका विभिन्न नाकाहरू प्रयोग गर्ने गरेका छन्।  नेपालले प्रतिबन्धित गरेका कतिपय भारतीय औषधिहरू भारतीय बजारमा पनि चिकित्सकको पुर्जाबिना बिक्री वितरण गर्न नपाइने व्यवस्था रहेको छ, यद्यपि भारतीय औषधि विक्रेताहरूले स्थानीय प्रहरी प्रशासनलाई मिलाएर गैरकानुनी रुपमा नेपाली युवाहरूलाई त्यस्ता प्रतिबन्धित औषधिहरू उपलब्ध गराउँदै आएका छन्।

सीमापारि कुनौली बजारका एक औषधि पसलमा काम गर्ने गरेका एक नेपाली युवकले गराएको जानकारी अनुसार यस्ता प्रतिबन्धित औषधिहरू नेपालीहरूलाई गैरकानुनी रुपमा उपलब्ध गराउनुका साथै उनीहरूलाई एमआरपीभन्दा बढी मूल्यसमेत लिने गरेका छन्।

सीमावर्ती नाकाहरूबाट दैनिक सया युवाहरूले लागुऔषध प्रयोग गर्न थाले पनि अचेल सीमावर्ती बजारहरू कानुन मिचेर गैरकानुनीरुपमा समेत औषधि पसलहरू सञ्चालनमा रहेको समाचारहरू कयांैपटक विभिन्न भारतीय सञ्चार माध्यमहरूले समेत प्रसारण गरिसकेका छन्।  तर त्यस्ता पसलहरूका सञ्चालकसँग स्थानीय भारतीय प्रशासनको साँठगाँठ रहेका कारण त्यस्ता पसलप्रति कुनै प्रकारको कानुनी कारबाही गर्न नसकिएको स्थानीय नागरिक अगुवाहरूको गुनासो छ।

सप्तरीको मुख्य नाका कुनौलीसहित बननियाँ, छिन्नमस्ता, बेल्ही, स्वर्णपट्टी, रामनगरकोदरकट्टी, कुशहा–पातोसहितका नाकाहरूबाट लागुऔषधको कारोबार हुने गरेको छ।  बोर्डरमा दुवैतर्फका सुरक्षाकर्मीहरूको आँखा छल्न कारोबारीहरू महिला तथा बालबालिकाहरूको प्रयोग गर्ने गरेका छन्।

महिला तथा बालबालिकालाई प्रयोग गरेर नेपाल भित्र्याइने लागुऔषध उदयपुर, ओखलढुंगा, खोटाङसहितका पहाडी जिल्लाहरूमा पठाउने गर्दछन्।  भारतबाट भित्र्याइएका प्रतिबन्धित औषधिहरू सप्तरी र उदयपुको सीमासँग जोडिएका पश्चिम पिप्रा, फत्तेपुरलगायतका ठाउँहरूमा राख्ने गरिएको र त्यतैबाट पहाडी जिल्लामा पठाउँदै आएको स्रोत बताउँछन्।  

सप्तरीमा मात्रै भारतसँग जोडिएको ५१ किलोमिटरभन्दा बढी खुला सिमाना रहेको छ।  जिल्लाको १२ वटा स्थानीय तहको सिमाना भारतसँग जोडिएका छन्।  यसबाहेक सप्तरीको तिलाठीस्थित मुख्य नाका कुनौलीसहित आधा दर्जन सहायक नाकाहरूसमेत रहेको छ।  

गत बिहीबार मात्रै प्रहरीले सप्तरीको बोदेबरसाइन नगरपालिका–६ फूलकाहीस्थित खमगाढाचोकबाट १५ सय थानभन्दा बढी प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।  सशस्त्र प्रहरी बल बोदेबरसाइनका प्रहरी सहायक निरीक्षक उमाकान्त चौधरीको कमाण्डमा खटिएको टोलीले सोही नगरपालिका–८ काचनका ३५वर्षीय शत्रुधन रामलाई पक्राउ गरेको हो।  शंका लागेर जाँच गर्दा रामको साथबाट झण्डै १ हजार ५ सय थान अवैध लागुऔषध बरामद भएको प्रहरीको दावी छ।  

पक्राउ गरिएका रामको साथबाट फेर्नागन र डाइजिलाप ५/५ सय थान तथा नोफिन ४ सय ९८ थान फेला परेको प्रहरीको भनाइ छ।  पक्राउ परेका रामलाई आवश्यक कारबाहीका लागि बोदेबरसाइनस्थित इलाका प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव निरीक्षक बौवाबहादुर आले मगरले जनाए।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका राम लागुऔषधका तस्कर नभई संगठित रुपमा तस्करी गर्ने गिरोहका लागि ओसारपसारको काम गर्ने मजदुर मात्रै हुन्।  यद्यपि प्रहरीले भने यसबारे हाल केही पनि जानकारी गराएको छैन।  यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  २०७५ साउनदेखि ०७६ असारसम्म मात्रै सप्तरी प्रहरीले लागुऔषधसम्बन्धी ६० वटा मुद्दाहरूमा ७८ जनालाई अभियुक्त बनाई अदालतमा पेश गरेको छ भने ४ जना अभियुक्तहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकले देखाउँछ।  

प्रकाशित: १५ भाद्र २०७६ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App