coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

औषधी खान नसकेर घार नै विक्री गरेका गुरुङले थाले ऋण काढेर मौरीपालन व्यवसाय

मौरीको घार देखाउँदै ५५ वर्षीय टिकाराम गुरुङ। तस्बिर: विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)– मौरी पाल्न थालेको उनले दुई दशक वित्योे। आधारभुत तालिम लिएर सुरुमा आठ/दश घरमा मौरी पाले। उत्पादन भएको मह घरमा उपभोग गरी इष्टमित्रलाई बाँडेर बचेको मात्र विक्री गर्ने। व्यवसायिक ढंगले अगाडी बढ्न सकेनन् उनी।

शुक्लागण्डकी नगरपालिका–२ राङ्दीका टिकाराम गुरुङलाई व्यवसायिक मौरी पालनमा लाग्न चुनौती बनिदियो स्वास्थ्य अवस्था। मुटुको रोगी। आर्थिक अवस्था कमजोर भएकाले औषधी उपचार गर्न समस्या थियो। औषधी खाने पैसा नहुदाँ मौरीको मह मात्र होईन् घार नै विक्री गरिदिएको तितो अनुभव छ उनीसँग। तर, आठ दश घार मौरी पाल्न कहिल्यै छाडेनन्। मौरी पालनमा लामोे अनुभव संगालेका गुरुङले व्यवसायिक मौरी पालन थालेका छन्। उनले गत चैतदेखि दर्ता गरेर गुरुङ मौरी फार्म सञ्चालनमा ल्याएका छन्।

१५ वर्षदेखि बाँझो रहेको बारीमा १२३ मौरीको घार राखिएको छ। तीमध्येमा ४२ घारमा माउ छ। बाँकीमा तिनै घारबाट माउ छुटाएर हाल्ने उनले बताए।  व्यवसायिक रुपमै लाग्ने सोचका साथ २०५७ सालमा आधारभुत तालिम लिएका उनले एक घारबाट मौरी पालन सुरुवात गरेको थिए। ‘दश घार पनि पु-याएको हो। तर आर्थिक अवस्था कमजोर हुदाँ त्योभन्दा बढाउन सकिन’ उनले भने।

हाल ऋण खोजेर व्यवसायिक मौरीपालन सुरु गरेको गुरुङले बताए। उनले सञ्चालन गरेको फार्ममा १० लाख रुपैयाँ लगानी रहेको छ। ‘प्रदेश सरकारबाट दुई लाख ५० हजार अनुदान पाए। यसले वर्षौदेखिको अनुभवलाई व्यवसायिक यात्रामा लैजाने आँट थप्यो’, उनले भने, ‘आफुसँग भएको दुई लाख ५० हजार र ऋण काढेर पाँच लाख रुपैयाँ जुटाई लगानी गरेको छु।’

दुई वर्षभित्रमा लिएको ऋण चुक्ता गर्ने उनको लक्ष्य छ। भन्छन्, ‘त्यति बेलासम्म मौरीको घार बढाएर पाँच सय पु¥याउँछु।’ नमुना किसान बन्ने उनको सपना छ। उनले अगाडी थपे, ‘नमुना कृषक बनेर मौरीपालनमा लाग्न गाउँलेलाई प्रेरित गराउनु छ।’

मह उत्पादनसँगै घारबाट माउ छुट्याएर विक्री गर्ने उनको उदेश्य हो। ‘महभन्दा माउ छुटएर घार बिक्री गर्दा मनग्य आम्दानी लिन सकिन्छ’, उनले भने। एक घार मौरीबाट वर्षमा २० किलोसम्म मह उत्पादन लिनसक्ने उनले बताए। प्रति किलो एक हजार रुपैयाँमा बिक्री हुन्छ। ‘उत्पादित मह नबिक्ला भन्ने पीर हुदैन्’, गुरुङले भने, ‘बरु माग धान्न सकिन्न होला।’ यस अगाडीको अनभुवले बजार मागकोस्थित पत्ता लगाएको उनको भनाई छ।

वर्षमा दुई पटक मह काढ्ने सिजन हुन्छ। जेठ, असारमा र मंसिर, कात्तिकमा। अन्य कृषि र पशुपालनको तुलनामा मौरीपालन सहज हुने उनले बताए। ‘गाई भैसीलाई जस्तो घाँसपात र दाना चाहिदैन्। घाम पानी नभनी चरनका लागि लैजानुपर्दैन्, मौरी आफैँ जान्छन्’ उनले नागरिक न्यूजसँग भने, ‘चरनयोग्य क्षेत्रचाहीँ प्रशस्त चाहिन्छ।’ राङदीमा मौरीलाई चरनका लागी समस्या नरहेको उनले बताए।  अरिंगाल, सर्प, छेपारोलगायतका किरा फट्याङग्राबाट जोगाउनुपर्ने उनको भनाई छ।

राङदीमा करिब २० घरको बसोबास छ। यहाँका प्रायजसो घरमा दुईचार घार मौरी पालिएको छ। व्यवसायिक मौरीपालन सुरु गर्नेमा भने टिकाराम एक मात्र किसान हुन्।

प्रकाशित: १५ भाद्र २०७६ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App